|

काठमाडौँ: बैशाख ३१ गते हुन गइरहेको स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गर्दा राजनीतिक दलहरू चुनावी तयारीमा तीब्र रूपले लागेका छन्।

यस निर्वाचनमा नेपालमा ७४४ स्थानीय तहमध्ये चारवटा महानगरपालिकाको निर्वाचनलाई पनि विशेष चासोसहित हेरिएको छ। यिनै चार महानगरमध्ये पोखरा लेखनाथ महानगरपालिकाको प्रमुखमा नेकपा एमालेका तर्फबाट मानबहादुर जीसीले उम्मेदवारी दिएका छन्। 

को हुन् मानबहादुर जीसी?

एमालेका तर्फबाट पोखरा लेखनाथ महानगरपालिकाको प्रमुखका उम्मेदवार मानबहादुर जीसी वि. सं. २०३७ बाट राजनीतिमा सक्रिय भएका हुन्।

सरल जीवनशैली र मिजासिलो स्वभावका जीसी पोखरा क्षेत्रका लोकप्रिय नेता हुन्। कास्कीका एमाले नेता, कार्यकर्ता तथा जनतामाझ लोकप्रिय मानिने नेता जीसी एमाले केन्द्रीय कमिटीका वैकल्पिक सदस्य हुन्।

एमाले कास्कीको अध्यक्षको जिम्मेवारी पूरा गरिसकेका जीसी हाल पार्टीको जिल्ला इन्चार्जको जिम्मेवारीमा छन्। सुकुम्वासी समस्या समाधान आयोग कास्कीका अध्यक्षसमेत भइसकेका छन्।

यसअघि साविक कालिका गाविसका अध्यक्ष निर्वाचित भएका जीसी गाविस महासंघका केन्द्रीय सदस्यसमेत भइसकेका छन्।

जीसीका पाँच वर्षका पाँच प्राथमिकता

१. प्रविधि र सेवाग्रहीमैत्री महानगरपालिका : जीसी आफ्नो पहिलो काम 'सेवा प्राधिकरण' निर्माण गरी उक्त प्राधिकरणमार्फत् 'स्मार्ट कार्ड' वितरण गर्ने रहेको बताउँछन्। उक्त कार्डको प्रयोगले विद्युत महसुल, खानेपानी, मालपोत कर आदि सरकरी कर घरैबाट तिर्न मिल्ने व्यवस्था गर्न सकिने उनी बताउँछन्।

२. उद्यमशील शहर : युवाहरूलाई उद्यमशीलतातर्फ प्रोत्साहन गरी पोखरा लेखनाथ महानगरलाई पर्यटन, रिसाइकल उद्योग र मनोरञ्जन उद्योगको केन्द्र बनाइने उनले दाबी गरे।

३. वातावरणमैत्री शहर : घरबाट निस्कने फोहोरलाई स्रोतबाटै व्यवस्थापन गर्ने कार्यक्रम ल्याउने उनको योजना छ। प्रत्येक वडामा पार्क निर्माण गरी हरित शहर निर्माण गर्ने र नवीकरणीय ऊर्जालाई प्रोत्साहन गरी 'ग्रिन सिटी'को सपना साकार गर्ने दाबीसमेत उनले गरे।

४. स्वच्छ पानी, स्वस्थ समाज : धाराबाटै सिधै पिउन मिल्ने पानी आपूर्ति गरिने, वडास्तरीय स्वास्थ्य कार्यक्रमलाई जोड दिई स्वस्थ समाज निर्माण गरिने योजना पनि छन्ग जीसीका।

५. दिगो मोडलको विकास : सडकमा गाडी, साइकल, अपाङ्ग, बटुवाका लागि छुट्टै लेन निर्माण गरी सडकमा सबैलाई समान अधिकारको स्थापना गरिने उनको योजनाभित्र परेका छन्। शहर वरिपरि 'ईलेक्ट्रिक ट्रली' बस चलाएर सफा इन्धनमा जोड दिइने र शहरमा निर्माण हुने घरहरू पनि 'ग्रिन होम्स' मोडलमा निर्माण गर्न अनुदानको व्यवस्था गरिने उनका विशेष योजनाअन्तर्गत परेका छन्।

पोखरा एसियाकै स्मार्ट सिटी

पोखरा लेखनाथ महानगरपालिकाको मेयरका उम्मेदवार मानबहादुर जीसीले पोखरालाई एसियाकै स्मार्ट सिटी र विश्वकै उत्कृष्ट गन्तव्य बनाउने सपना देखेको बताउँदै आएका छन्। प्राकृतिक सम्पदाले भरिभराउ पोखरालाई विज्ञान प्रविधिसँग जोड्दै डिजिटल शहर बनाउने उनको योजना छ।

जीसीले ग्रिन सिटी बनाउने उद्देश्यअनुसार महानगरमा नौवटा सौन्दर्ययुक्त तालको संरक्षण तथा व्यवस्थापनको कार्ययोजना बनाइने दाबी गरेका छन्। तालको भित्री र बाहिरी रिङ रोड साथै लिङ्क रोड बिस्तार गरी पर्यटकको सहजतामा जोड दिने उनको योजना छ।

अहिलेको युग डिजिटल युग भएकाले विज्ञान र प्रविधिको प्रयोग गरी डिजिटल शहर निर्माण गर्ने योजना जीसीको छ। 'यस महानगरलाई एसियाकै स्मार्ट सिटीको रूपमा विकास गरिनेछ। यसका लागि साइकल सिटी, नगरबासीलाई सेवा सुविधाको स्मार्ट कार्ड वितरण गरी ग्रिन सिटी निर्माण गरिनेछ'- प्रमुखका उम्मेदवार जीसीले भने, 'स्याटलाइट शहर बनाउनका लागि छिमेकी नगरपालिकासँग समन्वय गर्दै अघि बढ्नेछौँ।'

आर्थिक विकासका लागि नगरबासीको आर्थिक अवस्था सुधार गर्न परम्परागत बिउबिजन र प्रविधिलाई जोड्दै कृषिमा आधुनिकीकरणसहित व्यावसायिक सबलीकरण गर्ने योजना लिएका छन्। उनले भने- 'आर्थिक समृद्धिका लागि एक-घर एक उत्पादनलाई जोड दिनेछौँ। व्यवस्थित जीवनशैली, उत्पादनमुखी युवा सहभागिताले दिगो विकास सम्भव भएकोले महानगरमा हामीले जितेलगत्तै सोहीअनुसारका अभियान सुरु गर्नेछौँ।'

पिछडिएका वर्ग, क्षेत्र, महिला, मुस्लिम, दलित, आदिवासी जनजाति, सीमान्तकृत, अल्पसंख्यक समुदायसँगै महिला र पुरुषको समान सहभागिताबाट विकास गर्ने सोच उनको छ।

जनताको सूचना पाउने नैसर्गिक अधिकारलाई सुनिश्‍चित गर्नका लागि महानगरका महत्त्वपूर्ण स्थानहरूमा सूचनाकेन्द्र स्थापना गर्ने जीसीको योजना छ। महानगरबाट उत्पादन हुने फोहोरलाई प्रयोग गरी उद्योग स्थापना गर्ने उनी बताउँछन्ले। 'यहाँबाट उत्पादन हुने फोहोरको प्रयोग गर्ने, फोहोरलाई व्यवस्थापन गरेर फोहोरबाट मोहर उत्पादन गर्नेछौँ। गृन सिटी बनाउनेछौँ। रिसाइक्लिङ उद्योगहरू स्थापना गर्ने छौँ र युवाहरूलाई परिचालन गर्नेछौँ'- जिसीले भने।

पोखरा पर्यटकीय हव हो। त्यसकारण पर्यटकीय शहरको रूपमा पोखरालाई थप व्यवस्थित गरी मनोरञ्‍जनको शहरको रूपमा विकसित गर्ने उनको योजना छ।

वातावरणमैत्री महानगरपालिका बनाउनका लागि प्रत्येक वडामा एक/एकवटा ग्रिन पार्कको व्यवस्था गरी खुला चउरको व्यवस्था गरिने उनको योजना छ। 'भोलि आउने प्राकृतिक जोखिमबाट पनि बच्‍न सकियोस्। त्यो ठाउँमा राखेर सुरक्षा दिन सकियोस् भन्‍ने मुख्य उद्देश्य रहेको छ', उनले भने, 'महानगरलाई ग्रिन सिटी बनाउन प्रत्येक घरमा कम्तिमा पनि दुईवटा बिरुवा रोप्‍ने, त्यसका लागि महानगरबाट उपलब्ध गराउनुपर्ने सहयोगहरू महानगरले उपलब्ध गराउने उनको आश्वासन छ।

पोखराका सडकहरू अपाङ्‍गमैत्री, बालमैत्री, महिलामैत्री, वातावरणमैत्री बनाइने उनले बताए। जीसीले हरेक कुराको हिसाबले महानगरलाई मैत्रीपूर्ण बनाइने बताए। 'यहाँ हामीले २४सै घण्टा सुरक्षाका दृष्टिले मैत्रीपूर्ण बनाउनेछौँ। स्वच्छ पिउने पानी र स्वस्थ समाज बनाउने हाम्रो लक्ष्य छ', उनले भने, 'अब कम्तिमा पनि महानगरबासीहरूलाई वाटरगार्ड प्रयोग गर्नुपर्ने पानी होइन, धाराबाट आउने पानी नै पिउनलायकको बनाउनेछौँ, जसबाट नगरबासीको थोरै भएपनि रकम पनि बचत होस् र स्वास्थ्य पनि राम्रो रहोस्।'

दिगो मोडलको विकास निर्माणका काम गर्ने उनी बताउँछन्। 'अहिले हामीसँग विकासका कामकारवाहीहरू काम चलाउ खालका मात्रै भएका छन्। अब विकसित मुलुकहरूको दाँजोमा पुग्‍नका लागि पनि हामीले दिगो विकास निर्माणका कार्यक्रमहरू अगाडि बढाउन जरुरी छ', उनी भन्छन्। 

देशमा अहिले चारवटा महानगर छन्। यी चारवटै महानगरमध्ये हरेक हिसाबले हेर्नलायक स्वच्छ, सुन्दर, सुरक्षित महानगर बनाउने सपना छ जीसीको। 

जित्ने आधार जनताको साथ

पोखरा महानगरमा कांग्रेस-माओवादीको चुनावी समीकरण भएकाले एमालेको जित्‍ने सम्भावना कम छ भन्‍ने विश्लेषण भइरहेको बेला जीसीको बुझाइ भने फरक छ। 'यथार्थमा त्यस्तो होइन', उनी भन्छन्, 'पोखरा लेखनाथ महानगर जित्‍ने पार्टी भनेको एमालेले हो।'

जनताले भोट खसालेर औपचारिक रूपमा जिताउन मात्रै बाँकी भएको उनी दाबी गर्छन्। 'लेखनाथ राम्रो मतदाता भएको क्षेत्र हो। यस महानगरमा जति पनि गाविसहरू गाभिएका छन्', भन्छन्, 'ती गाविसहरू एमालेका पकड क्षेत्र हुन्, त्यस कारण पनि एमालेले यो महानगर जित्‍ने बलियो आधार छ।'

पोखरा क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको पोखराबासी/लेखनाथबासी भएकाले र लामो समयदेखि पोखरा र लेखनाथलाई राजनीतिक जीवन दिएकाले आफूले नै महानगर प्रमुखमा जित्ने जसीको दाबी छ। भन्छन्- 'यस क्षेत्रका हरेक जनताबीचमा म परिचित छु। पोखरा वा लेखनाथ भनिरहनुपर्दैन। त्यसकारण अहिलेसम्म एक खालको निर्णयमा पुगिसक्नुभएको छ।'

सेवक चुन्‍ने कि शासक?

स्थानीय निर्वाचनका लागि एमालेले अघि सारेका मुख्य पाँचवटा प्रतिवद्धताका बारेमा जनतालाई घरदैलो कार्यक्रमका क्रममा तथा अन्य माध्यमबाट जानकारी गराउँदै आएको बताउँदै पोखरा लेखनाथ महानगरलाई एमालेको उद्देश्यअनुसार समृद्ध महानगरपालिका बनाइने जिसीले बताए।

मुख्य रूपमा महानगरबासीलाई सुखी र खुसी बनाउने एमालेको ध्येय रहेको जिसी बताउँछन्। 'हामीले हाम्रा विभिन्‍न कार्यक्रमहरू कार्यान्वयन गर्नेछौँ। हामी इमान्दारीपूर्वक भन्छौँ, अब हामी भनेको सेवक हो', जिसी भन्छन्, 'मतदाताहरूले पक्कै पनि सेवक बनाउनका लागि नेकपा एमालेलाई भोट हाल्नुहुनेछ शासक बनाउन होइन।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.