|

  • अनिल खत्री 

गुल्मी : सडक बिस्तार सुरु भएपछि जिल्लाका धेरै ठाउँमा रहेका वर-पिपलका रुखहरु कटानमा परेका छन्। सयौं वर्ष पुराना वर-पीपलका रूख नष्ट हुँदै गएका छन्। पोखरीहरु पुरिन थालेका छन्।

धार्मिक आस्थासँगै अक्सिजन र औषधिका लागि महत्वपूर्ण मानिने वर-पीपलका रूख सडक बिस्तारका क्रममा संरक्षण अभावमा गाउँबाटै विलय भएका छन्। गाउँ-गाउँमा सडक बिस्तार गरिँदा यस्ता बहुउपयोगी रूखहरु लोपोन्मुख बन्दै जान थालेका हुन्। पीपलसँगै हुने वरका रूख पनि संकटमा छन्।

अन्य ५० रूखबाट प्राप्त हुने अक्सिजनको मात्रा पीपलको एउटै रूखले दिने र जरादेखि पातसम्मको भाग ४२ प्रकारका औषधिमा प्रयोग हुने आयुर्वेद चिकित्सकहरु बताउँछन्। जरा धेरै टाढासम्म फैलने भएकाले बाढी पहिरो नियन्त्रणमा यस्ता ठुला रुखहरुको महत्वपुर्ण सहयोग पुर्याएका हुन्छन्। तर गुल्मीमा यस्ता अमुल्य रुखहरुको संरक्षण हुन सकेको छैन्। उल्टै नस्ट गरिएका छन्।

सयौं पीपलका रूख रहेको अर्जैमा अहिले रुख देखिनै छाडेको स्थानीय शोभाखर अर्यालले बताए। अमरपुर हुँदै अर्जै–पोखराबारी जोड्ने मोटरबाटोमा मात्र १२ भन्दा बढी पीपल नष्ट भएको उनले भनाइ छ। उनले भने,‘अब नयाँ रोप्ने कोही छैन, पुराना सबै सकिँदै गए।’ यसले सार्वजनिक स्थानमा सयौं वर्ष पुराना वरपीपलका बोटसँगै निर्माण गरिएका चौतारीहरूसमेत नष्ट भएका छन्।'

पोखरीहरु पुरिदैं

केही वर्ष पहिलेसम्म नयाँ पोखरा बजारको बीचमा रहेको ठुलो पोखरी सडक बिस्तारै क्रममा पुरिएको स्थानीय विद्यालयका प्रध्यानाध्यापक निर बहादुर बिष्टले बताए। १० वर्ष अघिसम्म चन्द्रकोट गाउँपालिकाको तत्कालिन शान्तिपुर गाविसमा मात्र सात ठूला पोखरी र एउटा ताल थियो। गाविसका ९ वटा वडामध्ये पाँचवटा पोखरीबाट नामकरण गरिएका छन्। यी बाहेक पनि साना पोखरीको संख्या जोड्दा एक दर्जनभन्दा बढी हुन्छ। तर, संरक्षण अभावले अहिले वर्षभर पानी रहने पोखरी मुस्किलले ४ वटा मात्रै रहेको स्थानिय बताउँछन्।

वन कार्यालयका सहायक वन अधिकृत कर्ण पाण्डे अव्यवस्थित ढंगले पूर्वाधार निर्माण गरिएका कारण पोखरी तथा तालको संरक्षण हुन नसकेको बताउँछन्। ‘अदूरदर्शी विकास र जलवायु परिवर्तनको असरले सुख्खा क्षेत्र बढ्दैछ। पोखरी, तालसँगै सिमसार क्षेत्र संकटमा छ।’

तम्घास सिमलटारी प्युठान सडक आयोजनाको इन्जिनियर रामेश्रवर लम्सालले भने,‘सडक बिस्तारका वर पीपल काटनु, नास पार्नु भनेका छैनौं। बाटो बनाउँदा वातावरणीय पक्षको ख्याल गर्नैपर्छ।’

कतिपय स्थानमा उपभोक्ता समितिकै चासो अनुसार काम हुने भएकाले पनि त्यस्ता रूखको संरक्षणमा समस्या परेको हुनसक्ने उनले बताए। जिल्ला भू-संरक्षण कार्यालयका प्रमुख विष्णु पोखरेलले परम्परागत पोखरी संरक्षण तथा व्यवस्थापनका लागि योजना बनाएर काम गरिरहेको बताए। ‘अहिले पोखरी नासिने क्रम बढ्दो छ,’ उनले भने,‘त्यसका लागि जलाधार क्षेत्र, मुहान संरक्षण, पोखरीको भुइँ व्यवस्थापन, पर्खाल निर्माण, वर्षातको पानी संकलन लगायत काम अघि बढाएका छौं।’

स्थानीय बुढापाकाका अनुसार ५० वर्ष अघिसम्म हरेक गाउँमा एउटा पोखरी अनिवार्य हुनुपर्ने मान्यता थियो। वस्तुभाउले पानी खाने, बटुवा चौपारीमा बसेर स्वच्छ हावा लिने, विश्राम गर्ने परम्परा अहिले हराउँदै गएको उनीहरू बताउँछन्। ‘गाउँमा मानिसहरुले धर्म कमाउन पोखरी खन्थे र वरपीपल रोप्थे,' इस्मा गाउँपालिका गुल्मीका पण्डित रामलाल घिमिरेले भने,'धर्म मासिन थाल्यो, पोखरी र वर पीपल पनि भेटिन छाडे।’

अघिल्लो पुस्ताले पुण्य हुने भन्दै सार्वजनिक स्थानमा वरपीपल रोपेर चौतारी बनाउने चलन थियो। रोप्ने र संरक्षण गर्ने पाका पुस्ताको अभावमै वरपीपल संकटमा पर्न थालेको उनले बताए। पुराना रूखहरू नष्ट हुँदै जाने र नयाँ रोप्न कोही पनि अग्रसर नभएपछि गाउँमा रूख देखिन छोडेको घिमिरेले बताए।

गुल्मीमा सड्क बिस्तारको क्रममा धेरै ठाउँमा सड्कमा वर पीपल परेको हुँदा  वरपीपलका पुराना रूख नष्ट गर्दै सडक निर्माण गरिएको छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.