'कसरी भोट हालेर चुन्ने भनेर धेरैले थाहै पाएका छैनन्'

|

हसिना शाक्य ललितपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्रका तर्फबाट उपप्रमुखककी उम्मेदवार हुन्। विभिन्न सामाजिक कार्यमा सक्रिय उनी अहिले भाेट माग्दै जनताकाे घरदैलाेमा पुगिरहेकी छन्। प्रस्तुत छ, नगरपालिकामा उपप्रमुख भएपछि के छन् त उनका याेजना भनेर थाहाखबरका लागि अास्था केसीले गरेकाे कुराकानी। 

स्थानीय तहको चुनाव आउन केही दिन मात्र बाँकी छ, प्रचार प्रसारको काम कसरी गर्दै हुनुहुन्छ?

तयारी राम्रोसँग भइरहेको छ। महानगरपालिकाका सबै वडामा एकै पटक प्रचार गर्न सम्भव छैन। सकेजति ठाउँमा गइरहेका छौँ। आजै बिहान मात्र पनि केही वडाहरूको एकै ठाउँमा भेला गरेर उम्मेदवार परिचय र चुनावी नाराबारेमा छलफल गरेर आएकी छु। 

पहिले त चुनाव नै हुने हो कि होइन भन्ने नै अनिश्चित थियो। अब बल्ल चुनाव हुने नै भयो भन्ने लागेको छ। त्यसैले प्रचार प्रसारमा पनि धपेडी छ। सबै जनताको घरदैलोमा जान सम्भव नै छैन। पार्टी कार्यकर्ता र समर्थकलाई भेला गरेर प्रचार प्रसार गरिरहेका छौं। आफ्नो ठाउँबाट लागिरहेका छौं।

टोलटोलमा घरदैलो गर्दा जनता चुनावका लागि कत्तिको उत्साहित भएका पाउनुभयो?

ललितपुर महानगरपालिकाका भित्री क्षेत्रहरूमा मानिसहरू त्यति शिक्षित छैनन्। हामी अहिलेसम्म धेरै ठाउँ त पुग्न सकेका छैनौँ तर जति ठाउँ पुगेका छौं, ती ठाउँहरूमा कतिपय जनताले कसरी भोट हाल्ने भनेर कुरो नबुझेको पायौँ। कुनकुन मतपत्रमा कसरी भोट हाल्ने भनेर जनतालाई जति सचेत पार्नुपर्ने हो, त्यत्ति भइसकेको छैन। निर्वाचन आयोग र मिडियाले गरेको प्रचार प्रसार शहर-बजार र शिक्षित मतदाताहरूको लागि मात्रै भएको छ। अशिक्षित र ग्रामीण भूभागका जनता सबै हिसाबले चुनावको बारेमा प्रशिक्षित भइसकेका छैनन्।

भोट हाल्ने दिन कहिले हो, कहाँ मतदानस्थल छ र सात-सात जनालाई कसरी भोट हालेर चुन्ने भनेर धेरै जनताले थाहै पाएका छैनन्। निर्वाचन आयोगले सबैतिर सन्देश प्रवाह गर्न सकिरहेको छैन। हुनत केही सामाजिक परिचालकहरू आएका थिए तर तिनीहरू पनि सबै ठाउँ पुग्न सकेनन्। यसले गर्दा मान्छेहरू भोट खसाल्न गए पनि धेरै भोट बदर होलान् कि भनेर चिन्ता लागेको छ। 

तपाईं महानगरको उपप्रमुखको उम्मेदवार हुनुहुन्छ, जनताले तपाईंलाई नै किन भोट दिने?

माओवादी केन्द्रको एजेण्डालाई भोट दिनुस् भनेर मैले भोट मागिरहेकी छु। पुरुष मेयर भयो भने महिला उपप्रमुख भए पनि हुने र महिला सदस्य, दलित महिला सदस्य सबैका लागि माओवादीले नै पहिले कुरो उठाएको हो। यदि माओवादी केन्द्रले यी कुराहरू नउठाएको भए महिलालाई उपप्रमुखमा ल्याउन पनि गाह्रो थियो। यो हामीले हिजोदेखि नै देख्दै, भोग्दै आएको विषय हो।

महानगरपालिकामा सेवा गर्ने गरी मैले उपप्रमुखमा उम्मेदवारी दिएकी छु। मलाई भोट दिएर जिताउनुभयो भने मैले आफ्नो भूमिका इमान्दारीपूर्वक निर्वाह गर्ने प्रतिवद्धता दोहोर्‍याउन चाहन्छु। उपप्रमुखका लागि जेजे काम गर्नु भनेर छुट्याइएको छ, त्यो सबै काम मैले गर्नेछु। संविधानमा उपप्रमुखले न्यायाधीशको जस्तै गरी काम गर्नुपर्ने उल्लेख गरिएको छ। मैले ती सबै जिम्मेवारी पूरा गर्नेछु। 

त्यसबाहेक जनजातिहरू, जसका आफ्नै मातृभाषा छन्, उनीहरूका लागि तीती भाषाको संरक्षण गर्ने काम मैले गर्नेछु। ललितपुरमा नेवारी परम्परा र संस्कारहरू धेरै छन्, तिनलाई संरक्षण गर्नेछु। महिलालाई अगाडि बढाउन, आत्मनिर्भर बनाउनका लागि योजना अगाडि बढाउनेछु।  महिला अगाडि बढेमा मात्र समाज र देशको विकास हुनेछ। त्यसैले महिलाको लागि धेरैभन्दा धेरै योजनाहरू अगाडि सार्ने मेरो काम हुनेछ।

त्यसबाहेक ललितपुर महानगरपालिकामा पानीको व्यवस्थापन, धूलोरहित शहर, ढलको उचित व्यवस्थापन, हरियाली शहर, कृषिको व्यवस्थित फार्म, प्रशासनिक सुशासन आदिका लागि हामीले काम गर्ने भनेर प्रतिवद्धता अगाडि सारिसकेका छौं। पार्टीका प्रतिबद्धताअनुसार नै हामीले काम गर्नेछौँ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

कमेन्ट

  • हुन त म काठमाडौ बासी हुॅ तर प्रत्येक जनजातीको तफॅबाट देशको सेवाकालागी आंट गनेॅ महिला प्रतिनिधीप्रति म गौरव गदॅछु।हसिना शाक्यज्यूको भलो होस्।