|

काठमाडौं : आलोपालो प्रणालीअनुसार राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षता फेरि पशुपति शम्शेर राणाको काँधमा आएको छ। राप्रपा नेपालसँग एकताको सन्दर्भ चलिरहँदा राणा अध्यक्ष बनेका हुन्। राणा नै अध्यक्ष रहेको बेला राप्रपाबाट बाहिरिए राप्रपा नेपाल गठन भएको थियो। भावी सत्ता गठबन्धनको विपक्षमा राप्रपा नेपाल उभिएको छ।

राप्रपा भने फेरि सरकारमा जाने योजनामा छ। यसबाट पार्टी एकतामा असर पर्ने विश्लेषण पनि गर्न थालिएको छ। राणा अघिल्लो सत्ता समीकरणको विरुद्धमा थिए। उनी अबको सत्ता समीकरण मधेस केन्द्रित दललाई मिलाउन र संविधान कार्यान्वयनमा फलदायी हुने ठान्छन्। नवनियुक्त्त अध्यक्ष राणासँग थाहाखबरले अबको सत्ता समीकरण र राप्रपाबारे गरेको कुराकानीको अंश :

घुमिफिरी राप्रपाको अध्यक्ष तपाईं हुनुभयो। अबको प्राथमिकता के हो?

पार्टी एकता, राप्रपा नेपालसँगको एकता र पहिले राप्रपामा एकै ठाउँमा भएका सबैलाई पुन एकै ठाउँमा ल्याउनु नै मेरो प्राथमिकता हुनेछ।

ओली सरकारलाई दिएको समर्थन एकाएक फिर्ता लिनुभयो। अब कसरी एकता होला?

ओली सरकारलाई दिएको समर्थन फिर्ता एकाएक भएको होइन। पहिलेदेखि नै पार्टीमा फिर्ता हुनुपर्छ भन्ने मत थियो। म स्वयं राजनीतिक रुपमा पनि ओली सरकारको कदमप्रति सन्तुष्ट थिइन। तराई मधेसको समस्या समाधान गरेर संविधान कार्यान्वयनमा लाग्न उहाँ चुक्नुभयो। भूकम्प पुनर्निर्माण र अन्य एजेन्डामा जनअपेक्षा पूरा भएन। कालाबजारी बढ्यो। दक्षिण एसियामै सबैभन्दा बढी मूल्यबृद्धि भयो। यो कुरा पार्टीमा उठेपनि दुई धार भएको कारण निर्णय भने ढिलो हुन गयो।

सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय अध्यक्ष लोकेन्द्रबहादुर चन्दको सभापतित्वमा बैठक नबसी तपाईं प्रमुख भएको संसदीय समितिबाट गरियो। यस्तो किन?

पार्टीभित्र दुई धार थियो। त्यही भएर। तर जे निर्णय भयो। यसमा सबैको सहमति छ।

तपाईंहरु नयाँ समीकरणको पक्षमा र राप्रपा नेपाल विपक्षमा अब कसरी मिल्छ त कुरा?

पार्टी एकता नहुन्जेलसम्म दुईवटाकै बैधानिक अस्तित्व छ। अब पार्टी मिलाउँछौं। पार्टी एकता घोषणा नहुँदासम्म आआफ्नै किसिमले जाने हो। घोषणा भएपछि बन्ने पार्टीले अर्थात त्यसको केन्द्रीय संरचनाले जे भन्छ सोही अनुसार जाने हो।

राप्रपा नेपालका अध्यक्ष कमल थापालाई ओली सरकार कति राम्रो लागेको छ। तपाईंलाई पटक्कै मन परेको छैन। झन तपाईं नै अब अध्यक्ष बन्दै हुनुहुन्छ। समस्या त छ नि?

म समस्या देख्दिन। मिलेपछि हामी सबै एकठाउँमा बस्छौं। अनि राष्ट्रिय राजनीति परिस्थितिको विश्लेषण गर्छौं।

एमाले अध्यक्ष केपी शर्मा ओलीले जित्न नसकेको विश्वास कसरी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जिते?

यहाँ विश्वास जितेको र नजितेको प्रश्न होइन। ओली सरकारले राष्ट्रिय राजनीतिक समस्यालाई सम्बोधन गर्नै चाहेको थिएन।

ओलीभन्दा प्रचण्डमा त्यस्तो के गुण छ?

त्यसरी व्यक्तिगत रुपमा म भन्दिन। मेरो विश्लेषण यो छ कि राजनीतिक समस्या सम्बोधन गर्नमा यो सरकार सफल हुनेछ। मधेस केन्द्रित दल केही लचिलो भएर सहमतिमा आउनेछन्।

आधार के छ?

संसद भवनभित्र उठेको आवाजले नै सकारात्मक संकेत गरिसक्यो। नयाँ सत्ता समीकरणले यसलाई थप उचाइमा पुर्‍याउन सक्छ। अबको नेतृत्वबाट तराई मधेसका समस्या सम्बोधन गर्दै संविधान कार्यान्वयनको बाटोमा मुलुकलाई डोर्‍याउन महत्वपूर्ण योगदान पुग्नेछ।

अबको समीकरणबाट संविधान कार्यान्वयन संभव छ?

सबै समस्या तत्काल समाधान भइहाल्छन् र राजनीतिक मुद्दा मिलिहाल्छ भन्ने ग्यारेन्टी त म गर्दिन। तर नयाँ सरकार गठनपछि संविधान कार्यान्वनको गोरेटो चाँहि कोरिन्छ।

नेपालमा सरकार परिवर्तनमा बाह्य हस्तक्षेपको कुरा उठछ। यसपटक पनि त्यस्तो प्रभाव परेको हो?

मलाई यसबारे थाहा छैन। मलाई सत्तासमीकरणबारे कसैले कुनै सल्लाह दिएको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.