|
फोटो : राजधानी

धादिङ: स्थानीय तहको निर्वाचनमा फरक–फरक पार्टीबीचको चुनावी तालमेलका कारण धादिङमा महिला उम्मेदवार उम्मेदवारी फिर्ता लिन बाध्य भएका छन्।

कांग्रेस र नेकपा माओवादी केन्द्रबीचको चुनावी तालमेलका कारण ती पार्टीबाट उम्मेदवारी दिएका महिला उम्मेदवार पछि हट्नुपर्ने अवस्था आएको हो। जिल्लामा सबैको चासो बनेको नीलकण्ठ नगरपालिकासहित पाँच स्थानीय निकायमा कांग्रेस र माओवादी केन्द्रबीच तालमेल भएको छ। तालमेलका कारण माओवादी केन्द्रबाट नीलकण्ठ नगरपालिकाको प्रमुखमा मनोनयन दर्ता गराएकी शोभा डंगोल र कांग्रेसबाट उपप्रमुखमा मनोनयन दर्ता गराएकी कल्पना अधिकारीले उम्मेदवारी फिर्ता लिएका छन्।

तालमेलमा कांग्रेसले प्रमुख र माओवादी केन्द्रले उपप्रमुख लिने सहमति भएपछि माओवादी केन्द्रबाट प्रमुखमा मनोनयन दर्ता गराएकी डंगोल र कांग्रेसबाट उपप्रमुखमा मनोनयन दर्ता गराएकी अधिकारी आफ्नो उम्मेदवारी फिर्ता लिन बाध्य भएका हुन्। उनीहरू भन्छन्, ‘पार्टीको निर्णय मान्दा उम्मेदवारी फिर्ता लिनुपर्‍यो।’

नगर तथा गाउँपालिकाको प्रमुख वा उपप्रमुख पदमध्ये एकमा महिला उम्मेदवार अनिवार्य छ। तर, दुई पार्टीबीचको तालमेलका कारण महिलाहरू मुख्य पदमा उठ्नबाट वञ्चित भएका छन्। संविधानले स्थानीय तहमा ४० प्रतिशत महिलाको सहभागिता सुनिश्चित गराएको छ। तर, तालमेलबाट महिलालाई आफ्नो हकबाट वञ्चित गराइएको छ।

ज्वालामुखी गाउँपालिकाको अध्यक्ष पदमा मनोनयन दर्ता गराएकी लक्ष्मी थापाको उम्मेदवारी नेकपा माओवादी केन्द्रले फिर्ता लिएको छ । उम्मेदवारी मनोनयनका क्रममा धादिङका दुईवटा स्थानीय तहको प्रमुख पदमा महिला उठाएको नेकपा माओवादी केन्द्रले दुवै महिलाको उम्मेदवारी फिर्ता लिएको छ। नगर तथा गाउँपालिकाको प्रमुख पदमध्ये एउटा पदमा महिला उम्मेदवार बनाउन पर्ने अनिवार्य व्यवस्था भए पनि धादिङका राजनीतिक दलहरूले भने तालमेलका नाममा महिलाका नाम फिर्ता लिएका हुन्।

‘पार्टीले टिकट दियो, फेरि पार्टीले नै पछि हटायो,’ नीलकण्ठ नगरपालिकाको प्रमुख पदमा मनोनयन दर्ता गराएर पनि फिर्ता लिएकी डंगोल भन्छिन्, ‘पार्टीको एजेन्डा र झन्डा बोकेर हिँडेको मान्छे म, दुई दशकपछि हुन लागेको स्थानीय निकायको निर्वाचनमा पार्टीलाई धोका दिन सकिनँ, उम्मेदवारी फिर्ता लिएँ।’

उता, उपप्रमुखमा मनोनयन दर्ता गराएर फिर्ता लिएकी कांग्रेसकी कल्पनाको पनि भनाइ उस्तै छ। उनले भनिन्, ‘राजनीति भनेको यस्तै रहेछ, नचाहँदा नचाहँदै पनि पछि हट्नुपर्ने।’पार्टीले निर्णय गरेकाले जनता साथमा हुँदाहुँदै पनि त्याग गर्नुपर्‍यो,’ अधिकारीले गुनासो सुनाइन्। ‘आफूले चाहेर उम्मेदवारी फिर्ता लिएको भन्ने त हुँदै होइन,’ अधिकारीले भनिन् ।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.