|
Photo : bricandchina.com

काठमाडौं : नेपालले दुई ठूला अर्थतन्त्रबीचको गतिशील पूल बन्न प्रक्रिया अघि बढाएको छ। विश्वका दुई ठूला अर्थतन्त्र भएका चीन र भारतबीच गतिशील पुल बन्न नेपालले 'वान बेल्ट वान रोड' (ओबिओआर) को 'फ्रेमवर्क' समझदारी पत्रमा हस्ताक्षर गर्ने भएको छ।

मन्त्रिपरिषद्को सोमबारको बैठकले उक्त समझदारी पत्रमा हस्ताक्षर गर्ने निर्णय गरेको हो। हस्ताक्षर बिहीबार एक कार्यक्रमका बीच काठमाडौंमा हुनेछ। 'तीन दिनभित्र चीनसँग (ओबिओआर)सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्ने निर्णय भएको छ,' मन्त्रिपरिषद्को निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले भने, 'ओबिओआरले थुप्रै क्षेत्र समेट्छ। आगामी दिनमा ती क्षेत्रको अध्ययन अनुसन्धान गरी यही समझदारीपत्रका आधारमा चीनसँग अन्य सम्झौता गरिनेछ।'

समझदारी पत्रमा परराष्ट्र सचिवस्तरमा हस्ताक्षर गरिने विज्ञान तथा प्रविधिमन्त्री प्रेमबहादुर सिंहले जानकारी दिए। उनले भने, 'समझदारीपत्रमा हस्ताक्षर गर्न चीनले विशेष टोली पठाउने तयारी छ। विशेष टोली नआए काठमाडौंमा रहेका चिनियाँ राजदूत र परराष्ट्र सचिवबीच हस्ताक्षर हुनेछ।'

पृथ्वी नारायण शाहले नेपाल एकीकरण गर्दा तत्कालीन भूराजनीतिक स्थिति झल्किने गरी आफ्नो दिव्योपदेशमा नेपाललाई 'दुई ढुंगाबीचको तरुल' भनेका थिए। पछिल्लो केही वर्षयता नेपाली राजनीतिक्षले नेपाललाई दुई देशबीचको तरुलबाट दुई ठूला अर्थतन्त्रबीचको गतिशील पुल बनाउनुपर्नेमा जोड दिँदै आएका छन्। 'नेपाललाई गतिशील पुल बनाउनुपर्छ' भन्ने अवधारणा पहिलोपटक पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले ल्याएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.