|

जुम्ला : स्थानीय तह चुनाव नजिकिँदै जादा विभिन्न राजनीतिक दलका उम्मेदवारलाई गाउँगाउँमा भोट माग्न भ्याइनभ्याइ भएको छ।

विगतको भन्दा फरक अभ्यासबाट उनीहरुले भोट मागिरहेका छन्। आचारसंहिता उल्लङ्घन हुने खालका गतिविधि विद्यालयस्तरमा भएपनि अन्य सार्वजनिक स्थलमा त्यस्तो केही देखिएको छैन। तर दलहरुले आआफ्ना पार्टीका समर्थक जनताको घरमा भने पार्टीका झन्डा खडा गर्न बाध्य बनाएका छन्। कतिपय जनताले भित्री इच्छा कसैलाई भोट हाल्ने भएपनि झन्डा हालेर कसैको बन्न बाध्य बनाइएको गुनासो गरेका छन्, जुन निर्वाचन आचारसंहिता विपरीत काम हो।

यसको विषयमा उनीहरुले निर्वाचन अनुगमन टोलीलाई गाउँगाउँ पुगेर बुझ्न अनुरोध गरेका छन्। तर निर्वाचन टोली चरम गतिविधि भएका गाउँपालिकामा आजसम्म पनि पुग्न सकेको छैन। चुनाव नजिकिँदै गर्दा सामान्य, इमान्दार, सबैमा मायामोह राख्ने र अशिक्षित वर्ग, त्यसको चपेटामा परेको पाइन्छ। त्यसमा दलित महिला, अशक्त र ज्येष्ठ नागरिक नै बढी पर्छन्। तिला गाउँपालिका– ४ का स्थानीयबासी महिला पिउली सार्की भोलि विभिन्न चीज दिउँला भनेर नमस्कार गर्नेहरु यतिबेला धेरै भेटिएको बताउछन्।

“यसअघि कोही आएनन् तर आजभोलि बढी नै आउँछन्। चुप्प लागेर बसेपनि हाम्रो भविष्य बनाइदिने कुराको चिन्ता गर्दै बडो गज्जबका कुरा गर्छन्,” उनले भने। उनका अनुसार चुनाव प्रचार गर्न आउने सबै नेता कार्यकर्ता पनि जहाँ दलित र महिला छन्, त्यहीँ आउँछन्। “हाम्लाई पैसाले किनेर चुनाव जित्ने सपना राखेका छन्, त्यस्तालाई पाखा लगाउने जुक्ति आफूले पनि रचेको” उनको भनाइ छ।

यता चन्दननाथ नगरपालिकाको उपप्रमुखको उम्मेदवारी दिएका मनसुर सुनारले भने पैसावाल राजनीतिक संस्कृतिले दलित, इमान्दार र पिछडिएको वर्ग अझै माथि उठ्न नसक्ने अवस्था रहेको दुखेसो गरे। खर्च गर्ने हैसियत कमजोर भएकाले आफू प्रमुखमा नउठेको उनको भनाइ छ। गरिब, दलित र कमजोर वर्ग भएकाले केही दिएर पनि जित्छौँ भन्ने हेतुले महिला र दलितमा दलका उम्मेदवार केन्द्रित भएको उनको टिप्पणी थियो।

दलितलाई भोट बैंकका रुपमा मात्र प्रयोग गरेको र कुनै पनि पार्टीले वडाध्यक्षसम्मको पनि टिकट नदिएको भन्दै पाँच दिन अघि तिला गाउँपालिका–४ निवासी नेकपा (माओवादी केन्द्र)का लालबहादुर सुनार, एमालेका भद्रवीर नेपाली र नेपाली काँग्रेसका शेरबहादुर सुनार नेतृत्वको दलित जनसमूहले विद्रोह नै गर्‍यो र सबै दलित एक भएर स्वतन्त्र उम्मेदवारी दिन सुर कस्यो। त्यसबेला पनि दलका उम्मेदवार उनीहरुलाई कोरा आश्वासन बाँड्नमा केन्द्रित भए र उम्मेदवारी आफ्नो हातमा पारे।

दलित महिलालाई सोझो वर्गका रुपमा देखेर प्रयोग गर्न खोजेको स्थानीयवासी राजकुमारी शाहीको आरोप छ। उनले स्थानीय व्यक्ति नै उम्मेदवार भएका र सबैको हैसियत राम्रैसँग बुझेकाले यसमा कसैले आश्वासन दिँदैमा केही नहुने बताए। उनले जनतालाई खसीपाठा झैँ खरिद गर्ने ठेकेदारलाई धुलो चटाएर पठाउने चेतावनी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.