|

काठमाडौं : 'यति ठूलो मतपत्र, भोट कसरी हाल्न गाह्रो नै हुन्छ जस्तो छ', मतदान कसरी गर्ने भन्ने सिकाइरहेका एमालेको विद्यार्थी संगठन अनेरास्ववियुका सदस्य विनोद कोइरालालाई सोध्दै थिइन् एक महिला। उनी थिइन् इमाडोल वडा नम्बर ९ की ६१ वर्षीया खड्गमाया गौतम। यसअघि, धेरैपटक मतदान गरेकी उनलाई चुनावअगाडि कसरी मतदान गर्ने भन्ने सिकायो भने भोट हाल्न सजिलो हुने र बदर नहुने भन्ने लागेको छ।

गौतमले चुनावमा मतदान गर्ने र मतपत्र पट्याउने विधि सिकाएपछि उनले भनिन्, 'चुनावअघि यसरी सिकायो भने भोट हाल्नेबेला सजिलो हुन्छ। भोट बदर हुँदैन।' मतदान विधिबारे बुझेपछि उनी मतपत्रको नमुना बोकेर आफ्नो गन्तव्यतिर लागिन्।

बानेश्वरमा अनेरास्ववियुको केन्द्रीय समितिले आयोजना गरेको प्रचारप्रसार कार्यक्रममा गौतमजस्तै चुनावअगाडि मतदान कसरी गर्ने भन्ने सिकाए भोट बदर नहुने भनाइ थियो नुवाकोटका माधव दाहालको। विद्यार्थीहरुले भोट हाल्ने विधि सिकाएपछि उनले भने, 'हामीले गाउँमा बुढाबुढीलाई पनि सिकाउनुपर्छ र नयाँ भोटरलाई पनि सिकाउनुपर्छ। यसरी सिकाएकोले हामीले अरुलाई सिकाउन पनि सहज भयो।' मतदान गर्न कोठाभित्र छिर्दा भोट बदर होला कि भनेर आत्तिने भएकोले यसरी सिकाएमा आत्मविश्वास बढ्ने भनाइ थियो उनको। 'यसरी सिकाउनु एकदम राम्रो छ। पढेलेखेका पनि भोट हाल्नेबेला 'होपलेस' हुन्छन् त्यसैले यसरी नै गाउँमा पनि सम्झाउनुपर्छ', दाहालले भने।

मंगलबार बानेश्वर मीनभवन क्याम्पस जाने सडक छेउमा ठूलो छातालाई पार्टीको चुनाव चिह्न भएका पताकाले छोपेर अनेरास्ववियुकी केन्द्रीय अध्यक्ष नविना लामाको नेतृत्वमा झन्डै एक दर्जन विद्यार्थी बाटोमा हिँड्ने बटुवाहरुलाई मतदान गर्ने विधि सिकाइरहेका थिए। उनीहरु मतपत्रमा कसरी छाप लगाउने, कसरी पट्याउने, मतपत्रको टुप्पोमा कसरी हस्ताक्षर/औंठाछाप लगाउने भन्नेबारे सिकाइरहेका थिए।

यसरी नै काठमाडौंलगायत चुनाव हुने क्षेत्रमा अनेरास्ववियुका नेता कार्यकर्ता पार्टीको प्रचारप्रसार र मत बदर नहोस् भनेर मतदातालाई सिकाइरहेको लामाले बताइन्। 'प्रत्येक क्षेत्रमा हाम्रा विद्यार्थी लागेका छन्। भोट बदर नहोस् भनेर हामीले शिक्षा दिइरहेका छौं', उनले भनिन्, 'यो मतदाताको चेतना अभिवृद्धिका लागि पनि हो। हामीले एमालेका लागि भोट त मागेकै छौं अरु दललाई भोट दिनेलाई पनि भोट बदर नहोस् भनेर सिकाइरहेका छौं।'

यो प्रचारप्रसारको नयाँशैली भएको र यसबाट सर्वसाधारण आकर्षित भएको लामाको भनाइ थियो। उनले यो शैलीले एक त पार्टीलाई मत आउने अर्को भोट बदर नहुने भएकोले लोकतन्त्रको सही उपयोग भएको बताइन्। उनले भनिन्, 'यस्तो विधिबाट पनि चुनाव प्रचारप्रसार र चेतना अभिवृद्धि गर्न सकिन्छ भनेर पार्टीहरूलाई शिक्षा हो।'

अनेरास्ववियुको यस्तो चुनावी प्रचारप्रसार शैलीको राम्रो प्रतिकृया आइरहेको अनेरास्ववियुकी सचिव आरती लामाले बताइन्। उनले काठमाडौं, ललितपुर र भक्तपुरमा १ हजार अनेरास्ववियुका नेता कार्यकर्ता चुनावी प्रचारप्रसारमा क्रियाशील भएको बताइन्। उनले भनिन्, 'हामीले टोलटोलमा चुनावी प्रचारप्रसारमा खटिएका छौं। हाम्रो चुनावी अभियानको राम्रो प्रतिकृया आइरहेको छ।'

अनेरास्ववियुले निर्वाचन आयोगको आचारसंहिताअनुसार प्रचारप्रसार गर्न पाइने दिनको अन्तिमसम्म भोट हाल्ने तरिका सिकाउने र एमालेका लागि भोट माग्ने जनाएको छ। जसमा नमुना मतपत्र, पार्टीको घोषणापत्र र प्रतिवद्धतापत्र लगायत प्रचारसामाग्री बाँड्ने गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.