'मेरो चरित्र हत्या गर्ने प्रयास भएको छ'

|

काठमाडौं : नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले लोडसेडिङ अन्त्य गर्ने पवित्र उद्देश्यले भारतबाट एलईडी बल्ब खरिद गर्न लागेको बताएका छन्। मंगलबार पत्रकार सम्मेलन गरी उनले आउँदो वर्ष विजुलीको माग व्यवस्थापन गर्न कठिन हुने भएकाले कम विजुली खपत गर्ने बल्ब खरिद गर्न लागिएको बताएका हुन्।

यस वर्ष पनि उत्पादित विजुलीले माग धानेको नभई लोड व्यवस्थापन गरेका कारण मात्र विद्युत कटौती नभएको भन्दै घिसिङले आउँदो वर्ष २०० मेगावाट विजुली माग बढ्ने भएकाले त्यसलाई संबोधन गर्न एलईडी बल्ब ल्याएको जानकारी गराए। 'आउँदो वर्ष २०० मेगावाट विजुलीको माग बढ्छ। तर हाम्रो उत्पादन त्यति हुन सक्दैन, त्यसैले अर्को प्रक्रिया अपनाउनुपर्ने थियो' उनले भने ' त्यसै अन्तर्गत थोरै विजुली खपत गर्ने बल्ब किन्न लागेका हौं।'

घिसिङले एलईडी बल्ब किन्दा नेपाललाई ५ अर्ब फाइदा हुने र २०० मेगावाट विजुली बचत हुने बताए। उक्त बल्ब भारतीय कम्पनीले भारतकै मूल्यमा नेपालमा पनि बिक्री गर्ने प्रबन्ध निर्देशक घिसिङले बताए। हालैमात्र श्रीलंकाको कम्पनीले पनि त्यति नै मूल्यमा उक्त बल्ब किन्न प्रस्ताव गरेको उनले जानकारी दिए।

भारतीय कम्पनीले १०४ रुपैयाँमा हेटौडासम्म बल्ब ल्याइदिने र त्यसमा आयकर र भ्याट जोडेर प्राधिकरणले बिक्री गर्ने घिसिङले बताए। 'पवित्र उद्देश्यले लोडसेडिङ अन्त्य गर्न ल्याइएको हो। यसलाई निरुत्साहित गर्नु भनेको लोडसेडिङ अन्त्य गर्ने सरकारी प्रयासलाई विफल पार्न खोज्नु हो' उनले भने। आफ्नो चरित्र हत्या गर्ने प्रयास भएको गुनासो पनि गरे। 'हाम्राे चरित्र हत्या भएकाे छ, म धेरै दुखित भएकाे छु। यदि कुनियत प्रमाणित भएमा झुण्डाइदिए हुन्छ' उनले भने। 

बल्ब किन्न टेण्डर आह्वान गर्दा लामो समय लाग्ने र त्यस अवधिमा लोडसेडिङ पनि हुन सक्ने भएकाले सिधै खरिद गर्न लागिएको उनले बताए। उक्त बल्ब प्राधिकरणले पहिलो चरणमा आफै बिक्री गर्ने र त्यसपछि निजी क्षेत्रलाई जिम्मेवारी दिने बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.