|

दमक : केही विद्यार्थीहरु लाइनमा लामबद्ध उभिए भने  केहीले सुरक्षाकर्मी र पत्रकारको भूमिका निर्वाह गरे। शिक्षकहरु मत पेटिकाहरु मिलाउन तथा विद्यार्थीलाई मतपत्र दिन भ्याइनभ्याइ थिए। मंगलबार दिउँसो ११ बजे झापाको दमकस्थित झापा मोडल माध्यमिक विद्यालयमा यसरी मतदान सम्पन्न भयो।

दमक-८ स्थित झापा मोडल माध्यमिक विद्यालयले क्याप्टेन छान्नका लागि निर्वाचन आयोजना गरेको हो। तर यो निर्वाचनको उद्देश्य क्याप्टेन चयन गर्ने मात्रै होइन। विद्यार्थीहरुलाई निर्वाचन शिक्षा दिने पनि हो। यस निर्वाचनका लागि निर्वाचन अधिकृत समेत तोकिएको थियो। विद्यार्थीलाई मत खसाल्न मत पेटिका निर्माण गरिएको थियो।

मतदानमा कक्षा ४ देखि कक्षा १० सम्मका ३ सय ५० विद्यार्थीहरुले भाग लिएको विद्यालयका प्रिन्सिपल सागर श्रेष्ठले जानकारी दिए। 'किताबी ज्ञानलाई व्यवहारमा उतार्न विद्यार्थीहरुलाई कठिन हुने भएकाले विद्यालयले मतदाता शिक्षा सम्बन्धी व्यवहारिक ज्ञान दिएको हो,' श्रेष्ठले भने,'स्थानीय तह, प्रदेश र केन्द्रको गरेर तीन तहको निर्वाचन हाम्रो देशमा हुँदैछ। कति अभिभावक मतदान शिक्षाबारे जानकार छैनन्। विद्यार्थीहरुमार्फत आफ्ना अभिभावकसम्म मतदान शिक्षा लौजान सहज होस् भनेर मतदान आयोजना गरेका हौं।'

उनले विद्यार्थीले सिकेको सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उतार्न मद्दत पुगोस् भनेर निर्वाचन आयोजना गरिएको बताए। 'विद्यार्थीले मतदाता शिक्षा सहज रुपमा पाउन भनेर विद्यालयमा निर्वाचनको आयोजना गरेका हौ,' उनले भने,' त्यसैले हामीले निर्वाचनमा खटिने सुरक्षाकर्मी, पत्रकार लगायतलाई पनि विद्यार्थीबाटै खटाएर बनाएका छौ। विषेश गरेर विद्यार्थीले सामाजिक विषयमा पढेको ज्ञानलाई यहाँ प्रयोग गरुन् भनेर हामीले यो निर्वाचन आयोजना गरेका हौ।'

विद्यार्थीले पनि यस्तो मतदान प्रक्रियाबाट धेरै सिक्न पाएको अनुभव सुनाए। 'म पहिलो पटक मत हाल्दै छु। घरमा निर्वाचन आयो भनेर चर्चा हुने गरेको छ।तर मतदान कसरी हुन्छ होला भन्ने लागेको थियो,' कक्षा ४ मा अध्ययनरत विद्यार्थी सुलभ काफ्लेले भने,'यो निर्वाचनले हामीलाई धेरै बुझ्ने मौका दिएको छ।'

विद्यार्थीहरुले मतदान गरेर विद्यालयको क्याप्टेन एक पुरुष र एक  महिला त्यस्तै र सहायक क्याप्टेन एक पुरुष र एक महिला गरेर ४ जना चुन्ने विद्यालयका संयोजक प्रेम सुवेदीले बताए। ४ पदका लागि ११ जनाको उम्मेद्वारी परेको उनले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.