|

    उदयपुर : उदयपुरको जिल्ला अस्पताल बोक्सेले निःशुल्क रुपमा हाइड्रोसिलको अप्रेसन सुरु गर्ने भएको छ। स्वास्थ्य सेवा विभागबाट हाइड्रोसिलका बिरामीको निःशुल्क अप्रेसनसम्बन्धी निर्देशन प्राप्त भएकाले तत्काल हाइड्रोसिलको निःशुल्क अप्रेशन सुरु गर्ने भएको हो।

    स्वास्थ्य विभागको निर्देशनसँगै जिल्ला अस्पतालको सेवासुविधामा बढोत्तरी गरी निःशुल्क अप्रेसन गर्ने जानकारी दिइएको छ। अस्पतालमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा जिल्ला अस्पताल उदयपुरले  निःशुल्क हाइड्रोसिलको अप्रेसन गर्न लागेको जानकारी निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर फणीन्द्र बरालले दिए।

    ‘उदयपुरमा १० जना हात्तीपाइले बिरामीमा हाइड्रोसिलको समस्या देखा परेको तथ्यांक छ,’ पत्रकार सम्मेलनमा बोल्दै भने, ‘त्यसमध्ये ४ जना महिला र ६ जना पुरुष छन्।’ डाक्टर बरालले उपचारका लागि जिल्ला अस्पतालमा पठाइदिन आग्रहसमेत गरेका छन्। बिरामीको निःशुल्क औषधी उपचारका लागि अस्पताल आउने वातावरण बनाईदिन बरालले सबै पक्षलाई अपिलसमेत पत्रकार सम्मेलनमा गरेका हुन्।

    जिल्लामा हात्तीपाइले रोगको रोकथामसम्बन्धी छैटौं चरणको अभियान सञ्चालन हुँदा २ दशमलव २ प्रतिशत यससम्बन्धी रोगी रहेको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख सागर प्रसाईले पत्रकार सम्मेलनमा बताए। सातौं चरणमा यसपटक जिल्लामा २ लाख १६ हजार ७२ प्रतिशत सर्वसाधरणलाई हात्तिपाइलेसम्बन्धी औषधी खुवाइको समेत उनले बताए। पत्रकार सम्मेलनमा अस्पतालले व्यवस्थित गरी नयाँ सुविधाहरु थप गरेको पनि जानकारी दिइएको छ।

    नयाँ सुविधाअन्तरगत अस्पतालले हाइड्रोसिलको निःशुल्क अप्रेसन, एपेन्डिसाइटिस, हर्निया, ऐंजेरु, सिजरिङ सेक्सन, सर्पदंश, रेविज, इसिजि, एआरटी सेन्टर स्थापना, निःशुल्क र सहशुल्क फार्मेसी सेवा, एकद्वार संकट व्यवस्थापन केन्द्र, डेन्टल सेवा, इएसएस (पेयइङ क्लिनिक) लगायतको उपचार सुरु भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष राकेश खत्रीले जानकारी दिए।

    उनका अनुसार अप्रेसन सहितको प्रसूति सेवा, भिडियो एक्सरे, ल्याब, एक्सरे सेवालाई २४ घण्टा उपलब्ध हुनेछ। ५० शय्याको जिल्ला अस्पतालमा अहिले ३ जना विशेषज्ञ र १० जना मेडिकल अधिकृत छन्। अस्पतालले बिहान ९ देखि ३ बजेसम्मको जनरल ओपिडीपछि सेवा दिनेछ भने, दिउँसो ३ देखि ५ बजेसम्म मेडिकल अधिकृतको २ सय ५० र विशेषज्ञको ३ सय ५० रुपैयाँ पुर्जा शुल्क लिई सार्वजानिक बिदा र शनिबार बाहेकका दिनमा पेइङ क्लिनिकसमेत सञ्चालनको तयारी गरेका अस्पताल व्यवस्थापन समितिका खत्रीको भनाइ छ।

    त्यसैगरी, निःशुल्क रुपमा पाइने ७० प्रकारका औषधीबाहेक अन्य औषधीको हकमा न्यूनतम १० प्रतिशत छुटमा सर्वसाधरणलाई अस्पताल परिषर भित्रैबाट औषधिसमेत उपलब्ध गराइने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ। सशुल्क क्लिनिकको उद्घाटन समेत गरिएको थियो। अस्पतालले एचआइभी एडसका बिरामीको औषधी उपचार, मुटु रोगीको इसिजी सेवा र लैंगिक हिंसा ओसिएमसी सेवासमेत सञ्चालनमा ल्याएको जानकारी दिइएको छ।

    सम्वन्धित समाचार

    तपाईको प्रतिक्रिया दिनुहोस्

    तपाईंको ईमेल गोप्य राखिनेछ ।
    This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.