|

बुटवल : २५ सय ६१औं  बुद्ध पूर्णिमाको अवसरमा भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा आयोजना हुने विशेष समारोहका लागि सबै तयारी पुरा भएको छ। बुधबार हुने समारोहको सबै तयारी पुरा भइसकेको जानकारी आयोजक लुम्बिनी विकास कोषका सदस्य सचिव अजितमान तामाङले जानकारी दिए।

बिहान ९ बजेदेखि सुरु हुने मुल कार्यक्रमका लागि लुम्बिनीलाई झकिझकाउ पारिएको छ। लुम्बिनीको मायादेवी मन्दिर, परिक्रमा पोखरी र विभिन्न सर्भिस सडकहरुमा सरसफाई र रंगरोगन गरिएको छ। चारैतिर झण्डा, तुल ब्यानर र पताकाहरुले लुम्बिनी विकास कोष क्षेत्र दुलहीझैं सिंगारिएको छ।

समारोहलाई उपराष्ट्रपति नन्द किशोर पुनले सम्बोधन गर्ने कार्यक्रम छ। समारोहमा सहभागी हुन उपराष्ट्रपति पुन भोलि बिहान सिधै हेलिकोप्टरबाट लुम्बिनी आउने कार्यक्रम छ।

एसियाको ज्योतिका रुपमा परिचित गौतम बुद्धको मूल जन्मस्थल र बुद्ध दर्शनको मुहान लुम्बिनीलाई ध्वजा पताका र फुलहरुले सजाइएको छ। विशेष समारोह सुरु हुनुपूर्व लुम्बिनीको मायादेवी मन्दिरबाट झाँकी सहितको र्‍याली निकाल्ने कार्यक्रम रहेको कोषले जनाएको छ।

र्‍याली मन्दिर परिक्रमापछि संग्रहालय नजिकै समारोह स्थलमा पुगेर समापन हुने विकास कोषका निमित्त सूचना प्रमुख राजन बस्नेतले जानकारी दिए। समारोहमा लुम्बिनीको प्रचारप्रसारमा योगदान पुर्‍याउने व्यक्तिहरुलाई सम्मान तथा कोषका कर्मचारीहरुलाई दिर्घसेवा पदक वितरण गर्ने कार्यक्रम छ।

समारोहमा संस्कृतिमन्त्री, पुरातत्व विभागका प्रमुख, विभिन्न मन्त्रालयका सचिवहरु, थाइ राजदुत, विभिन्न देशका भिक्षु–भिक्षुणीहरु सहभागी हुने कार्यक्रम रहेको कोषको सूचना शाखाले जनाएको छ। समारोहलाई मध्यनजर गर्दै लुम्बिनीको सुरक्षा व्यवस्था कडा बनाईएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.