|

रुपन्देही : आज २५ सय ६१ औं बुद्ध जयन्ती। प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाको दिनलाई सिद्धार्थ गौतमको जन्म भएको, बुद्धत्व प्राप्त गरेको र महापरिनिर्वाण प्राप्त गरेको त्रिसंयोग दिवसका रुपमा मनाउने गरिन्छ। इसापूर्व ५६३ अर्थात् आजभन्दा २५ सय ६० वर्ष पहिले वैशाख शुक्ल पूर्णिमाका दिन लुम्बिनीमा सिद्धार्थ गौतमको जन्म भएको थियो।

कपिलवस्तुका राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका रुपमा रानी आफ्नो माइती देवदह जान लागेका बेला लुम्बिनी उद्यानमा सिद्धार्थ गौतमको जन्म भएको विभिन्न ग्रन्थमा उल्लेख गरिएको छ।

राजा शुद्धोधनको दरबारमा राजकुमार भएर रहेका सिद्धार्थले मानिसले पाएका विभिन्न दुःख देखेर त्यसबाट मानव जातिलाई छुट्कारा दिने उद्देश्यले २९ वर्षको उमेरमा दरबारको सुख छोडी तपस्या गर्न निस्किएका थिए।

इसापूर्व ५ सय २८ को वैशाख शुक्ल पूर्णिमाकै दिन उनले बुद्धगयास्थित बोधिवृक्षमुनि बुद्धत्व प्राप्त गरेका थिए। बुद्धत्व प्राप्त गरेपछि नै सिद्धार्थ गौतमलाई गौतम बुद्ध भन्न थालियो। चार आर्य सत्य बुझ्ने व्यक्तिलाई नै बुद्ध भनिन्छ।

गौतम बुद्धले शान्ति, अहिंसा, मैत्री र करुणाको शिक्षा दिएका छन् जुन आधुनिक समाजमा अझै सान्दर्भिक बन्दै गएको छ। बुद्धजयन्तीको दिन सरकारले सार्वजनिक बिदासमेत दिने गर्दछ।

लुम्बिनीमा आज विशेष समारोह

बुद्ध जयन्तीका अवसरमा आज रुपन्देहीको लुम्बिनीमा विशेष समारोह हुँदैछ। जसका लागि लुम्बिनीलाई झकिझकाउ पारिएको छ। लुम्बिनीको मायादेवी मन्दिर, परिक्रमा पोखरी र विभिन्न सर्भिस सडकहरुमा सरसफाइ र रंगरोगन गरिएको छ। चारैतिर झन्डा, तुल ब्यानर र पताकाहरुले लुम्बिनी विकास कोष क्षेत्र दुलहीझैं सिंगारिएको छ।

समारोहलाई उपराष्ट्रपति नन्दकिशोर पुनले सम्बोधन गर्ने कार्यक्रम छ। समारोहमा सहभागी हुन उपराष्ट्रपति पुन आज बिहान सिधै हेलिकप्टरबाट लुम्बिनी आउने कार्यक्रम छ।

एसियाको ज्योतिको रुपमा परिचित गौतमबुद्धको मूल जन्मस्थल र बुद्ध दर्शनको मुहान लुम्बिनीलाई ध्वजा पताका र फूलहरुले सजाइएको छ।विशेष समारोह सुरु हुनुपूर्व लुम्बिनीको मायादेवी मन्दिरबाट झाँकी सहितको  र्‍याली निकाल्ने कार्यक्रम रहेको कोषले जनाएको छ। र्‍याली मन्दिर परिक्रमापछि संग्रहालय नजिकै समारोहस्थलमा पुगेर समापन हुने विकास कोषका निमित्त सूचना प्रमुख राजन बस्नेतले जानकारी दिए। 

कार्यक्रममा लुम्बिनीको प्रचार प्रसारमा योगदान पु¥याउने व्यक्तिहरुलाई सम्मान तथा  कर्मचारीलाई दीर्घ सेवा पदक वितरण गर्ने कार्यक्रम रहेको छ। कार्यक्रममा संस्कृतिमन्त्री, पुरातत्व विभागका प्रमुख, विभिन्न मन्त्रालयका सचिवहरु, थाई राजदूत, विभिन्न देशका भिक्षु भिक्षुणीहरु सहभागी हुने कार्यक्रम रहेको सूचना शाखाले जनाएको छ। कार्यक्रमलाइ मध्यनजर गर्दै लुम्बिनीको सुरक्षा व्यवस्था कडा बनाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.