|
हैजा बिरामी एक बालिका यमनको सानास्थित एक अस्पताल उपचार गर्दै। Photo : Reuters

यमनमा हैजाका कारण दुई हप्ताभित्रमा ३४ जनाको मृत्यु भएको छ। त्यस्तै हैजाबाट बिरामी हुनेको संख्या दुई हजारभन्दा बढी भएको विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले जनाएको छ।

“हैजा तथा झाडाबान्तासम्बन्धी समस्याबाट अप्रिल २७ देखि मङ्गलबारसम्म यमनको राजधानी सानासहितका भूभागमा ३४ जनाको मृत्यु भएको र दुई हजार २२ जना बिरामी भएका छन्” डब्लूएचओले भनेको छ।

यमनमा यो वर्ष हैजा तथा दूषित पानीका कारण फैलिने रोगको सङ्क्रमणका कारण नागरिक ठूलो सङ्ख्यामा प्रभावित बनेको दोस्रो घटना हो।

यमनमा भएका द्वन्द्वका क्रममा अस्पताल तथा स्वास्थ्य केन्द्रसमेत विस्थापित बनेपछि लाखौँ मानिसले आफ्नो स्वास्थ्य समस्यालाई भाग्यको जिम्मा लगाउन बाध्य छन्। लामो द्वन्द्वले खानेपानी आपूर्ति तथा मुहानहरू दूषित बनेका कारण सफा खानेपानीका लागि सङ्घर्ष गर्नुपर्ने स्थिति रहेको छ। विश्व खाद्य सङ्गठनका अनुसार यमनका करिब एक करोड ७० लाख मानिसले आधारभूत खाद्यन्नको अभावमा बाँच्नु परेको छ।

यमनमा सन् २०१५ यता सुरु भएको द्वन्द्वका कारण करिब सात हजार मानिसको मृत्यु भएको छ भने ३० लाखभन्दा बढी विस्थापित बनेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.