|

एजेन्सी: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संघीय जाँच आयोग (एफबीआई)का निर्देशक जेम्स कोमीलाई पदबाट बर्खास्त गरेका छन्। कोमीले आयोगलाई सही किसिमले नेतृत्व दिन नसकेको भन्दै बर्खास्त गरिएको ट्रम्पको पत्रमा उल्लेख छ।

राष्ट्रपति ट्रम्पले कोमीलाई लेखेको पत्रमा भनिएको छ, 'तिमी प्रभावकारी रूपमा आयोगको नेतृत्व गर्न सक्षम छैनौँ।' कोमीको बर्खास्तगीको सिफारिस महान्यायाधिवक्ता जेफ सेसन्स र उपमहान्यायाधिवक्ता रड रोजनस्टाइनले गरेको ह्वाइट हाउसले बताएको छ।

कोमीको बहिर्गमनका पछाडि हिलारी क्लिन्टनको ईमेल छानविनको मुद्दामा गल्ती गरेको र त्यसबारे गत साता अमेरिकी संसदलाई गलत सूचना दिएको आरोप लगाएको बीबीसीले लेखेको छ।

यो बहिर्गमनबारे ट्रम्पले कसैलाई सुइँकोसम्म नदिएको बताइएको छ। कोमीलाई बर्खास्त गरिँदै छ भनेर अमेरिकी संसद, ट्रम्पको पार्टी र एफबीआईलाई समेत पूर्वानुमान नरहेको बताइएको छ।

कोमीले आफ्नै नेतृत्वमा राष्ट्रपति चुनावका बेला ट्रम्पको चुनावी अभियान र रूसबीचको साँठगाँठबारे अनुसन्धान गरिरहेका थिए। यो विषयमा कोमीले गत साता अमेरिकी संसदलाई अनुसन्धानबारे जानकारी दिएका थिए।

ट्रम्पको चुनावी अभियान र रूसी साँठगाँठबारे अनुसन्धान गरिरहेका कोमीको बर्खास्तगीबाट विपक्षी डेमोक्र्याटिक पार्टीका सांसदले भने शंका जनाएका छन्। उनीहरूले कोमीको बर्खास्तगी उक्त सम्बन्धलाई ढाकछोप गर्नका लागि गरिएको हुनसक्ने आशंकासमेत गरेका छन्।

५६ वर्षका कोमी दोस्रो कार्यकालका लागि आयोगका निर्देशक बनेका थिए। उनको कार्यकाल छ वर्ष बाँकी थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.