|

सर्वोत्तममान डंगोल नेकपा माओवादी केन्द्रका काठमाडौं महानगरका प्रमुख पदका उम्मेदवार हुन्। २०३८ सालदेखि कम्युनिष्ट आन्दोलनमा निष्ठापूर्वक समर्पित डंगोल सुन्दर र हराभरा महानगर आफ्नो लक्ष्य रहेको बताउँछन्। माओवादी केन्द्रका पोलिटव्यूरो सदस्यसमेत रहेका डंगोलले १० वर्षदेखि महानगरपालिकामा राजनीतिक दलको संयन्त्रमा रहेर काम गरिरहेका छन्। नेवा: जातीय उत्थान कोषका संयोजकसमेत रहेका उनीसँग आफ्नो उमेरजत्तिकै लामो राजनीतिक अनुभव छ। सुन्दर, प्राचीन र व्यवस्थित महानगर बनाउनका लागि प्रमुखमा उम्मेदवारी दिएका उनै डंगोलसँग थाहाखबरका लागि आस्था केसीले गरेको कुराकानी।

प्रचार प्रसारमा लागिरहनुभएको छ, प्रचारको समय अपुग भयो कि?

हामीलाई निर्वाचन आयोगले प्रचार प्रसारकोलागि जम्मा अाठ दिनको समय दिएको थियो। यो समय निकै थोरै समय हो। महानगरमा ३२ वडा छन्। राम्रोसँग घुम्ने हो भने एउटै वडामा दुई दिन समय दिनुपर्ने हुन्छ तर हामीसँग एउटा वडाको लागि एक दिनको समय पनि रहेन। एकै पटकमा दुई/तीनवटा वडामा भेला गर्दै, एक ठाउँमा आधा घन्टादेखि तीन घन्टासम्म समय दिन सकिएको छ। अब हामीसँग प्रचार प्रसारका लागि केवल एक दिनको समय छ। बिहान ६ बजेदेखि बेलुकी ११ बजेसम्म प्रचार प्रसारमा खटिएका छौँ। त्यसैले यो स्थानीय तह निर्वाचनको समय हामीलाई पर्याप्त रहेन। देशको अवस्था पनि जटिल छ । निर्धारित समयमा तीन तहका चुनावहरू सम्पन्न गर्नुपर्नेछ। त्यसैले आयोगले जति समय दिएको छ, त्यसैमा चित्त बुझाएर अगाडि बढेका छौँ। 

यसभन्दा अगाडि तपाईं उम्मेदवार भएका दुवै चुनावमा पराजय भोग्नुभयो। यस पटकको चुनावमा पराजय या विजय हात पर्ला, केही अनुमान गर्नुभएको छ?

हो, म यसअगाडिका दुई चुनावमा पराजित भएको थिएँ। २०४८ सालको स्थानीय चुनाव र ०६४ सालको संविधानसभा सदस्यका लागि भएको चुनावमा मैले जित्न सकिनँ। तर यस पटकको चुनावमा त्यस्तो अवस्था छैन। परिणाम मेरै पक्षमा आउने पक्कापक्की जस्तै भएको छ। २०४८ सालको स्थानीय निर्वाचनको समयमा हाम्रो पार्टी यति बलियो भइसकेको थिएन। देशभरको त के कुरा गर्नु, काठमाडौँका ३२ वटै वडामा पनि हाम्रो संगठन थिएन। सबै वडामा हाम्रो विचार र मेरो सन्देश पुर्‍याइदिनेहरू त्यतिबेला थिएनन्। अर्को कुरा, हामी सरकारमा रहेर यस्तो काम गरेका छौँ भन्ने कुनै आधार पनि थिएन। हामी सरकारमा गएका पनि थिएनौँ।

अहिले अवस्था फरक छ। हाम्रो पार्टी पटक पटक सरकारमा गएको छ। अहिले पनि हाम्रो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुनुहुन्छ। हामीले सरकारमा गएर धेरै काम गरेका छौँ। गणतन्त्रको स्थापना, संघीयतामा आधारित राज्यको पुनर्संरचना, धर्मनिरपेक्षता, पछाडि पारिएका जाति, वर्ग, लिंग र क्षेत्रका जनसमुदायलाई राज्यको मूलधारमा समावेशी समानुपातिक सहभागिताको सबाललगायतका एजेण्डा हाम्रो पार्टीले नै अगाडि सारेको हो। 

यसअघि म चुनावमा उम्मेदवार बनेको समयमा हामीसँग सरकारको कुनै अनुभव थिएन। आज त्यो अनुभव पनि छ। जनताको पक्षमा हामीले निकै धेरै काम गरेका छौँ। अरू धेरै काम गर्नका लागि हामीसँग योजना पनि छन्। आज हाम्रै कारणले काठमाडौँलगायतका केही जिल्लाहरू लोडसेडिङमुक्त भएका छन्। 

कुरा गर्नेहरू धेरै छन् तर जनताले कुरा गर्नेलाई होइन, काम गर्नेलाई चुनेर पठाउनेछन् भन्ने कुरामा म विश्वस्त छु। अगाडिका चुनावको नतिजा जे भए पनि यो स्थानीय तहको निर्वाचनमा मैले नै जित्ने कुरामा म पूर्णत विश्वस्त छु।
  
महानगरका अन्य उम्मेदवारभन्दा तपाईं कसरी फरक हुनुहुन्छ?

नेपाली कांग्रेस र नेकपा एमालेलगायतका पार्टीका उम्मेदवारभन्दा म निश्चित रूपमा भिन्न उम्मेदवार हुँ। उनीहरूले पटक पटक सरकारमा बसेर पनि जनताको हितमा धेरै काम गर्न सकेनन्। अघिल्लो साल यो समयमा हामी दिनमा १८ घन्टा अँध्यारोमा बस्न बाध्य थियौँ। अहिले हेर्नोस् त, हामी लोडसेडिङमुक्त भएका छौँ। त्यसैगरी जनताको हितमा हाम्रो सरकारले अरू पनि धेरै काम गरेको छ।

हामी राज्यको मूलधारबाट पछाडि पारिएकाहरूलाई अगाडि बढाउन चाहन्छौँ। दलित, गरिव, किसान, मधेसी, मुस्लिम, महिला, अल्पसंख्यक, सुकुम्वासीहरूलाई समानुपातिक र समावेशी तरिकाले राज्यका अंगहरूमा अवसर दिन चाहन्छौँ। अहिलेको चुनावको लागि 'गाउँगाउँमा सिंहदरबार' भन्ने हाम्रो मुख्य नारा छ। यो केवल नारा होइन, हाम्रो नीति पनि हो। हामी काठमाडौँमा केही ठूला ठालु र टाठाबाठा मान्छेको हातमा सीमित सिंहदरबारको अधिकारलाई जनताको गाउँगाउँमा पुर्‍याउन लागिपरेका छौँ। 

यो कुरा दिनको घामजत्तिकै छर्लंग छ कि जनताको घरदैलोमा सिंहदरबारको अधिकार पुर्‍याउनका लागि कसले धेरै भूमिका खेलेको छ। कुनै बेला माओवादी एक्लै यी अधिकारका लागि लड्नुपरेको थियो। नेपाली कांग्रेस र नेकपा एमालेले माओवादीको अडानले गर्दा जबरजस्त गणतन्त्र र संघीयता जस्ता नारा मान्नुपरेको हो। अरू पार्टीका नेता र उम्मेदवारले केवल चिल्ला आश्वासन बाँड्ने कुरा महानगरका जनतालाई राम्रोसँग थाहा छ। यही गणतन्त्र ल्याउनका लागि हामी जीवनमरणको लडाइँ लडेर आएका हौं भन्ने कुरा पनि जनतालाई थाहा छ।

जनताको घरदैलोमा व्यापक उत्साह छ। मलाई के विश्वास छ भने म अरू उम्मेदवारभन्दा बढी नै जनताको आशाको विम्ब बनेको छु। त्यसैले मैले यस पटकको निर्वाचनमा आफ्नो जीत सुनिश्चित देखेको छु। 

सर्वोत्तममान प्रमुख भइसकेपछिको काठमाडौँ कस्तो हुनेछ?

म प्रमुख भएपछिको काठमाडौँ महानगर सफा, सुन्दर र व्यवस्थित हुनेछ। प्रशासनिक रूपबाट व्यवस्थित हुनेछ। मैले परिकल्पना गरेको महानगरमा युवाहरूले काम पाउनेछन्। युवाका लागि स्वयंसेवकको रूपमा काम सिक्ने अवसर हुनेछ। वृद्धवृद्धा र जेष्ठ नागरिकहरूका लागि आफ्नो अनुभव आदानप्रदान गर्ने र समय बिताउने थलोको रूपमा ज्येष्ठ नागरिक क्लबहरू निर्माण गरिनेछ। बच्चाहरूको लागि ठाउँठाउँमा शिशु स्याहार केन्द्र खोलिनेछ। भित्री शहरहरूलाई पर्यटकीय शहरको रूपमा विकास गरिनेछ। यसरी अहिलेको अव्यवस्थित काठमाडौँलाई म प्रमुख भइसकेपछि सुन्दर, हराभरा र व्यवस्थित शहरको रूपमा स्थापित गर्ने मेरो सपना छ। 

भोट बदर हुने संभावना कत्तिको देख्नुहुन्छ?

१५ प्रतिशत भोट बदर हुने संभावना म देख्छु। किनभने यस पटकको निर्वाचन अरू समयको भन्दा फरक छ। एउटै मतपत्रमा सात जनालाई भोट हाल्नुपर्ने हुन्छ। यसो गर्दा कतिपय सोझा मतदाता झुक्किने संभावना बढी छ। अलि पढेलेखेका र टाठाबाठा जनताले त कुरो बुझिहाल्लान् तर सोझा, कम पढेलेखेका जनतालाई मतपत्रमा कसरी भोट हाल्ने भन्ने कुरा निकै अप्ठ्यारो छ। अर्को कुरा, निर्वाचन आयोग पनि पर्याप्त मात्रामा मतदाता शिक्षा दिन ठाउँठाउँ पुग्न सकेको छैन। यसले गर्दा केही भोट बदर हुने संभावना छ।

जनताले तपाईंलाई नै भोट किन दिने?

यसमा दुईवटा कारण छन्। पहिलो, हामी परिवर्तनलाई संस्थागत गर्ने चरणमा छौँ। हाम्रै बलमा स्थापित संविधानसभा र त्यसले निर्माण गरेको संविधान कार्यान्वयन गर्ने प्रमुख दायित्व हाम्रै काँधमा छ। त्यस्तै, अर्को स्थानीय निकायलाई बलशाली, अधिकारसम्पन्न बनाउने र लोकतन्त्रको सबलीकरणका लागि नेकपा माओवादी केन्द्र विजयी हुनु जरुरी छ।

सुविधासम्पन्न र व्यवस्थित महानगर राजधानीबासीको अपेक्षा हो तर यसअघि निर्वाचित नेतृत्वले महानगरलाई सुव्यवस्थित र सुविधासम्पन्न बनाउनुपर्नेमा अव्यवस्थित शहरको रूपमा अस्तव्यस्त छोडिदिएको छ।  

माओवादी केन्द्रको विजयको प्रमुख आधार माओवादी आन्दोलनले ल्याएको परिवर्तन नै हो। त्यसका अलावा हामीले महानगरको विकासको एकीकृत खाका बनाएका छौँ। बस्ती विकासका केही मूर्त योजना बनाएका छौँ। त्यसको प्रवेशद्वारका रूपमा एकीकृत भूउपयोग नीतिलाई लिएका छौँ। हामी ५० परिवारलाई पुग्ने आवास निर्माण गर्न चाहन्छौँ र त्यसमा बस्न प्रोत्साहन गर्छौं। त्यसले जग्गाजमिन बचाउँछ। बचेको जग्गा विभिन्न प्रयोजनका लागि उपयोग गर्न सक्छौँ।

पार्क, खेलकुद, स्टेडियम, ठूला औद्योगिक क्षेत्र त्यसका उदाहरण हुन् । महानगरको यातायात व्यवस्थित गर्नु हाम्रो अर्को योजना हो। हामी ठूला, सुविधासम्पन्न गाडीहरू चलाउन प्रोत्साहन गर्छौं। एक त त्यसले यात्रुको बढ्दो भीड, चाप कम गर्छ अर्को त्यसले निजी सवारी साधनलाई पनि निरुत्साहित तुल्याउँछ। हामीले मेयर जितेको तीन महिनाभित्रमै मोनो रेल, मेट्रो रेलसम्बन्धी सम्भाव्यता अध्ययन गर्छौं। सफा, व्यवस्थित, धूलोरहित महानगरबाट हाम्रो कामको प्रारम्भ हुनेछ ।

अर्को कुरा, काठमाडौँ आज कृत्रिम शहर बन्दै गएको छ। काठमाडौँ घुम्न आएका पर्यटकहरू भन्छन्, 'हामी आधुनिक काठमाडौँ होइन, प्राचीन काठमाडौँ हेर्न चाहन्छौँ।' यहाँका देवलहरू, मठ मन्दिरहरू, चैत्य र गुम्वाहरू, काठ र ढुंगामा कुँदिएका टुँडालहरू हेर्न चाहन्छन् उनीहरू। म काठमाडौँ महानगरको मेयर बनेपछि यो कुरामा विशेष ध्यान दिनेछु। काठमाडौँ शहरका मुख्य क्षेत्रहरूमा जुन कला कौशलले भरिएका मन्दिर र घरहरू छन्, तिनको विशेष संरक्षण गरिनेछ। वसन्तपुर दरबार स्क्वायरमा लाग्ने मेला र पर्वहरूको संरक्षण र विकास गरिनेछ।

गणतन्त्रको संस्थागत विकासदेखि लिएर सुविधासम्पन्न महानगर निर्माणमा मेरो महत्त्वपूर्ण भूमिका हुनेछ। 

अन्त्यमा, केही भन्नु छ कि?

काठमाडौँमा कसैकसैले सर्वाेत्तममानले आफ्नो उम्मेदवारी फिर्ता लिँदै छ भनेर हल्ला गरेका रहेछन्। हामीले कसैसँग तालमेल गरेका छैनौँ। मेरो उम्मेदवारी कायमै छ। अन्तिम दिन उम्मेदवारी फिर्ता हुने भनेर पनि कतैकतै हल्ला फैलाएको सुनेको छु। यो सरासर गलत हो। काठमाडौँका जनतालाई मेरो अनुरोध छ, हामीले महानगरका कुनै पनि वडामा आफ्नो उम्मेदवारी फिर्ता लिनेछैनौँ। हाम्रो टिमले जितेमा हामीले काम गरेर देखाउनेछौँ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.