|

बुटवल : उपराष्ट्रपति नन्दकिशोर पुनले समग्र लुम्बिनीको विकासका लागि बुद्ध सर्किट अपरिहार्य भएको बताएका छन्। २५ सय ६१ औं बुद्ध जयन्ती तथा लुम्बिनी दिवस २०४७ को अवसरमा लुम्बिनीमा भएको समारोहलाई सम्बोधन गर्दै उपराष्ट्रपति पुनले बुद्ध र बुद्ध जीवनसँग जोडिएका ठाउँहरु रामग्राम, गोटिहवा, तिलौराकोट, देवदह लगायतलाई जोडेर बुद्ध सर्किट निर्माण गरेमा लुम्बिनीको विकासले छलाङ मार्ने बताएका हुन्। 

उनले बुद्ध एक महान दार्शनिक भएको बताउँदै विश्वका शान्तिकामीहरुले बुद्धको शान्तित्वलाई अनुशरण गर्नु पर्ने बताए। उनले भने 'विश्वका बौद्धमार्गी र बौद्ध दर्शनसँग सम्बन्ध राख्नेले मात्रै नभई विश्वका सबै धर्मावलम्बीहरुले बुद्ध दर्शनको अनुसरण गरी शिक्षा आर्जन गर्न जरुरी छ।’ 

बुद्धको पञ्चशिलको सिद्धान्तलाई व्यवहारिक रुपमा ढाल्न सकेमा जिवन सार्थक हुने उनले बताए। उपराष्ट्रपति पुनले बुद्ध दर्शन तथा यसको विकास नेपालमा भएको कारण नेपालमा शान्तिगामी चेतनाको निर्माण भएको बताउँदै यो  नेपालीहरुको लािग गौरवको विषय भएको बताए।

उनले लुम्बिनीको विकासको लागि  विकास कोष र सरकारले  थप कार्ययोजना अगाडि बढाउन आग्रह गरे। उनले बुद्धको जन्मस्थालबारे फैलाइएको भ्रम चिर्न जरुरी रहेको समेत बताए। लुम्बिनी आउने पर्यटकलाई कम्तीमा पनि १०  दिन बस्न सक्ने वातावरण मिलाउन सकेमा लुम्बिनीको विकास हुने उनको धारणा छ।

नेपालका लागि थाइल्याण्डका राजदूत भकावत तान्सकुलले लुम्बिनीको विकासमा थाइल्याण्डको साथ रहने बताए। पर्यटन सचिव शंकर अधिकारी, कोषका उपाध्यक्ष भिक्षु निग्रोध, कोषाध्यक्ष सुरेन्द्रमुनि शाक्य, रुपन्देही क्षेत्र ७ का सांसद कमलेश पुरी गोश्वामीलगायतले लुम्बिनीको बृहत्तर विकास गर्नु पर्नेमा जोड दिएका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.