|

कालिकोट: स्थानीय तहको निर्वाचन र यार्सा टिप्ने मौसम सँगै भएका कारण कर्णालीका अंधिकास मानिसलाई स्थानीय तहको चुनावभन्दा यार्सा टिप्ने हतारो बढी भएको छ। 

स्थानीय तह निर्वाचनभन्दा यार्सामा राम्रो आम्दानी हुने भएका कारण उनीहरूलाई यार्सा टिप्ने हतारो भएको हो।

बहुमूल्य जडिबुटीका रूपमा चिनिने यार्सा टिप्नका लागि कर्णालीका हुम्ला, जुम्ला, डोल्पा, मुगु र कालीकोट जिल्लाका अधिकांश मानिस पाटनतिर लागेका छन्। 
यार्सागुम्बा टिप्ने मौसम सुरु भएकाले युवाहरू स्थानीय तहको निर्वाचनमा मतदान नगरीकन यार्सा टिप्न पाटन लागेका छन्।

कर्णालीका डोल्पा, मुगु, जुम्ला र हुम्लाको हिमाली भेगमा पाइने यार्सागुम्बाको मौसम बैशाखदेखि असारसम्म भएका कारण युवाहरू यार्सा टिप्न पाटन गएको हुम्ला सिमकोट गाउँपालिका नरबहादुर शाहीले बताए। ‘स्थानीय तहको चुनावभन्दा यार्सा टिप्न जान मानिसको हतारो छ’, उनले भने, ‘यहाँका मानिसको आम्दानीको प्रमुख स्रोत यार्सागुम्बा हो, यार्सागुम्बा नटिपे वर्षभर खान पुग्दैन।’

समयमै पाटनमा यार्सा टिप्न गएन भने निर्वाचनमा भोट हालेर वर्षभर खान पुग्ने पैसा कसैले नदिने र दुई महिना दुःख गरे वर्षभर खान पुग्ने जुम्ला मुगु छायानाथ रारा नगरपालिकाका राजबहादुर बुढाले बताए। ‘विगतका निर्वाचनहरूमा नेता चुनेर पठाए पनि हालसम्म विकासका नाममा केही दिन नसकेकाले मतदान गर्न आवश्यक छैन’, उनले भने, ‘युवाहरूलाई रोजगारीका अवसरहरू दिन नसकेकाले निर्वाचनभन्दा पनि यार्सालाई महत्त्व दिएर पाटनतिर जानुपर्ने भएको छ।’

एउटा मौसममा एक जनाले यार्साबाट एक लाख रुपैयाँदेखि चार लाख रुपैयाँसम्म कमाउन सक्ने स्थानीयबासीको भनाइ छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.