|

काठमाडौं : निर्वाचन आयोगले देशका विभिन्न स्थानमा निर्वाचन विथोल्ने उद्देश्यले घटना भएको भन्दै भरपर्दो सुरक्षा व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएको छ। आयोगमा प्रमुख राजनीतिक दलका शीर्ष नेतासँग बुधबार अपरान्ह छलफल गर्दै आयोगका प्रमुख आयुक्त अयोधीप्रसाद यादवले शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गर्ने वातावरणका लागि सरकारसहित दलहरुलाई आग्रह गरेका हुन्।

आफ्ना कार्यकर्ताहरुलाई सौहार्दपूर्ण ढंगबाट निर्वाचन सम्पन्न गर्नका लागि संयमित तरिकाले परिचालन गर्न आयोगले दलहरुलाई आग्रह गरेको छ। 'दलका कार्यकर्ताहरुले संयमता नअपनाउँदा देशका कतिपय स्थानमा अप्रिय घटनासमेत भएका छन्। कार्यकर्ताहरुबीच सौहार्द वातावरण कायम गराउन दलहरुलाई आयोगको आग्रह छ,' प्रमुख आयुक्त यादवले भने,'सरकारलाई समेत भरपर्दो सुरक्षा व्यवस्था मिलाउन आयोग निर्देशन दिन्छ।'

कार्यक्रममा प्रमुख प्रतिपक्षी नेकपा एमालेले दोलखामा आफ्ना कार्यकर्ताको हत्या भएको भन्दै छानबिन गरी कारबाहीको प्रक्रिया अघि बढाउन सरकारसँग माग गरेको छ।  'दोलखामा हाम्रा कार्यकर्ताको हत्या भएको छ। यसले स्थानीय मतदातामा त्रासदी कायम गरेको हुँदा दोषीलाई उन्मुक्ति होइन कारबाही गरी सरकारले पीडितलाई न्याय दिनुपर्छ भन्ने हाम्रो पार्टीको माग छ,' एमाले संसदीय दलका उपनेता सुभाष नेम्वाङले भने।

यस्तै,नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले सत्तारुढ दलकै कार्यकर्ताबाट आतंकित पार्ने क्रियाकलाप भइरहेकाले स्वतन्त्र र निष्पक्षरुपमा निर्वाचन सम्पन्न हुनेमा शंका कायम भएको बताए। आतंकित गतिविधि संचालन गर्ने भए सरकार छाडेर आउन उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई चेतावनी दिए।

'प्रधानमन्त्रीकै पार्टीका कार्यकर्ताबाट आतंकित पार्ने काम भएको छ। यस्ता गतिविधि तत्काल रोक्नुपर्छ। सत्तारुढ दलकै कार्यकर्ताबाट आपराधिक गतिविधि सञ्चालन हुँदा निर्वाचनको स्वच्छतामाथि प्रश्न उठेको छ' भट्टराईले भने,' आपराधिक गतिविधि सञ्चालन गर्ने हो भने सरकार छाडेर आउनुस्।'

सत्तारुढ दलका नेता एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले कांग्रेसमाथि समेत देशका विभिन्न स्थानमा आक्रमण भएको भन्दै सुरक्षामा प्रश्न उठाएका छन्। 'हाम्रा कार्यकर्तामाथि समेत आक्रमण भएको छ। गाडीमा आगजनी भएको छ। हाम्रो ध्यानाकर्षण भएको छ,' लेखकले भने।

निर्वाचन आयोगको छलफलमा सुरक्षासम्बन्धी प्रश्न उठेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न भरपर्दो सुरक्षा व्यवस्था मिलाउने प्रतिवद्धता व्यक्त गरे। दोलखामा एमाले कार्यकर्ताको हत्या भएकोप्रति समवेदना प्रकट गर्दै प्रधानमन्त्री प्रचण्डले दोषीलाई आवश्यक कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरे। 'सरकारले भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन सुरक्षा प्रबन्ध मिलाउने छ। दोलखा घटनाका दोषीलाई कारबाही गरिनेछ,' प्रधानमन्त्रीले छलफलमा भने।

पहिलो चरणको निर्वाचनमा आठ जिल्लामा झडप, तोडफोड र आगजनीका घटना भएका छन्। जसमा २५ जना घाइते भएका छन् भने  १ जनाको मृत्यु भएको छ। निर्वाचन बिथोल्ने उद्देश्यसहित २४ जिल्लामा विभिन्न गतिवधिमा सञ्चालन गरेका नेत्रविक्रम चन्द विप्लवका १ सय ३१ जनालाई पक्राउ गरी मुद्दा दर्ता गरिएको निर्वाचन आयोगले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.