|

काठमाडौँ : निर्वाचन आयोगले बुधबार निर्वाचनको तयारीबारे जानकारी गराउन शीर्ष दलका नेताहरुलाई छलफलका लागि बोलाएको थियो। छलफलको सुरुमै प्रमुख निर्वाचन आयुक्तले देशभर निर्वाचन बिथोल्ने उद्धेश्यले भएका घटनाबारे जानकारी गराए। त्यसपछि एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले एमाले कार्यकर्ता सुरक्षित नभएको चिन्ता व्यक्त गरे। उनले दोलखामा एमालेको हत्या गर्ने दोषीलाई कारबाहीको माग गरे।

त्यसपछि बाबुराम भट्टराईले बोल्नका लागि समय माग गरे। उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पार्टीलेने अधिकांश स्थानमा  आतंक सिर्जना गरेको आरोप लगाए। उनले प्रधानमन्त्रीलाई पार्टीका कार्यकर्तामार्फत आतंक सिर्जना गर्ने भए सरकारबाट बाहिर आउन समेत चेतावनी दिए।

सत्तारुढ दलकै कार्यकर्ताबाट भएका उच्छशृंखल गतिविधि र आपराधिक प्रवृत्ति संरक्षण गर्ने सरकारी गतिविधिले निर्वाचनको निष्पक्षता माथि प्रश्न उठाएको उनले बताए।' अहिलेको सरकारको नेतृत्वमै आपत्तिजनक घटना भएको छ यसले निर्वाचनको निष्पक्षतामाथि प्रश्न उठाएको छ,' भट्टराईले भने।

प्रधानमन्त्रीप्रति अलि आक्रोशित बनेका भट्टराईले युद्धकालिन अवस्थामा जस्तो सरकारमा बसेर युद्धकै समयमा जस्तो निर्वाचन बिथोल्ने गतिविधि गर्न नमिल्ने बताए। 'युद्धमा हामीसँगै घोषित रुपमै निर्वाचन बिथोल्ने क्रियाकलापमा संलग्‍न थियौँ। अहिले उहाँ सरकारमा हुनुहुन्छ,' भट्टराईले भने,' सरकारमा बसेर निर्वाचन विरोधी क्रियाकलाप गर्न पाइँदैन सरकार छाडेर त्यस्ता गतिविधि सञ्चालन गर्नुस्।'

भट्टराईले आपराधिक क्रियाकलापमा संलग्न माओवादी केन्द्रका कार्यकर्तालाई कारबाही गर्न खोज्ने सशस्त्र प्रहरीका डिएसपी राजेन्द्र श्रेष्ठलाई प्रधानमन्त्रीको ठाडो आदेशमा छुटाइएको आरोप उनले लगाए।

भट्टराईले बोलेपछि राप्रपाका बुद्धिमान तामाङले आफ्ना भनाई राखे र प्रमुख आयुक्त अयोधी यादवले छलफलमा उत्पन्‍न प्रश्नबारे जवाफ दिनका लागि प्रधानमन्त्रीलाई आग्रह गरे।

प्रधानमन्त्री प्रचण्डले भट्टराईले उठाएका प्रश्नबाटै जवाफलको थालनी गरे। सरकराले गोरखाको घटनामा ठाडै हस्तक्षेप गरेको भट्टराईको आरोप उनले अस्वीकार गरे। 'नयाँ शक्ति पार्टी नेपालका संयोजकजीले गोरखाको पालुङटार लगायतका स्थानमा भएको घटनामा सरकारले हस्तक्षेप गरेको भन्नुभयो त्यो विल्कुलै होइन। जहाँसम्म प्रहरी सरुवाको कुरा छ उहाँकी श्रीमती पालुङ्टार नगरपालिका उपप्रमुखमा लडेको हुनाले प्रहरीले नै आचारसंहिता विपरीत राजेन्द्र श्रेष्ठलाई त्यहाँ राख्न नमिल्ने भनेर सारेको हो मेरो आदेशमा सारिएको होइन,' प्रधानमन्त्रीले भने।

प्रधानमन्त्रीले सरकार निष्पक्षरुपमा निर्वाचन गराउन प्रतिवद्धत रहेको बताउँदै भरपर्दो शान्तिपूर्ण निर्वाचनका लागि यथोचित सुरक्षा व्यवस्था मिलाउने बताए। 
प्रधानमन्त्रीको जवाफ प्राप्त भएपछि पनि बाबुराम भट्टराई बोल्न रोकिएनन्। उनले प्रधानमन्त्रीकै ठाडो आदेशमा प्रहरीको सरुवा भएको कुरा दोहोर्‍याए। 'उम्मेदवारको मनोनयन १९ गते थियो त्यही दिन डिएसपीको सरुवा गर्न सकिन्थ्यो। उहाँको कार्यकर्तामाथि कारबाही गर्न खोजेपछि स्वयंम उहाँकै ठाडो आदेशमा सरुवा गरिएको हो। यस्ता गतिविधि रोकिनुपर्छ,' भट्टराईले भने।

प्रधानमन्त्री प्रचण्डले छलफलमा सबै राजनीतिक दलका कार्यकर्तालाई संयता अपनाउन आग्रह गरे। देशभरका घटना उल्लेख भएपनि चितवनमा नेकपा माओवादीकेन्द्रका कार्यकर्तामाथि भएको आक्रमण र गाडीमा भएको आगजानीबारे आयोगले नबोलेको भन्दै दुखेसो समेत पोखे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.