|

काठमाडौं : चुनावको मिति नजिकिएसँगै काठमाडौं महानगरपालिका प्रमुखका एमाले उम्मेदवार विद्यासुन्दर शाक्यको व्यस्तता निकै बढेको छ। एमालेको काठमाडौं जिल्ला सचिव रहेका उनी पार्टीको गतिविधि नियमित बाहेक अन्य समय खासै व्यस्त थिएनन्। तर वैशाख १८ गते उम्मेदवारी दर्तापछि उनी भोट माग्न घर घर पुगेका छन्। 

विहान ५ बजे उठेर नियमित नित्यकर्म गरेपछि उनी आफ्ना टोलीसँग मतदाता भेट्न निस्कन्छन्। बिहान ६ बजेदेखि घरदैलो अभियान  सुरु हुन्छ। बिहानै घरबाट निस्कने उनी राती अबेरमात्रै घर आइपुग्छन्।  

ठमेलबाट घरदैलो शुरु

बुधवार बिहान ९ बजे विद्यासुन्दरको घरदैलो ठमेल क्षेत्रमा थियो। ठमेल, बालाजु क्षेत्र हुँदै चाबहिलमा घरदैलो गरेपछि उनी पुगे त्रिपुरेश्वर। त्रिपुरेश्वरमा सभा आयोजना गरिएको थियो। सरल व्यवहार र शान्त स्वभावका विद्यासुन्दर धेरैजसो नेवारी भाषा बोल्छन्। खस नेपाली भाषा पनि नेवारी लवजमा बोल्छन्। नेवार समुदायको बस्तीमा उनी मातृभाषामा नै बोल्छन्। 

बानेश्वरमा घरदैलो सहित र्‍याली

बुधबार दिउँसो बानेश्वर हाइटमा समर्थकहरु झण्डा लिएर विद्यासुन्दरलाई कुरिरहेका थिए। गाडीबाट ओर्लेर उनी सरासर आफ्ना समर्थककहाँ पुगे। उनीहरुले माला र अबिरले विद्यासुन्दरको स्वागत गरेपछि घरदैलो सहितको र्‍याली शुरु भयो। 

मतदाता भेट्दा उनी नमस्कार गर्दै अभिवादन गर्छन्, अनि मुस्कुराउँछन्। घरदैलो र्‍यालीकै क्रममा बीच बाटोमै एक बृद्ध महिला हातमा फुल र अबिर लिएर देखापरिन्। ती महिलालाई देखेपछि भीड रोकियो अनि विद्यासुन्दर नजिकै पुगेर अबिर र माला लगाए। 

प्रमुखमा एमाले र उपप्रमुखमा राप्रपालाई भोट

एमालेको घरदैलो अभियान टोली मतदाता भेटेर मुख्य चोकमा पुगेर सानो कोण सभा गरे। त्यस क्रममा बोल्दै विद्यासुन्दरले महानगर बनाउने आफ्ना योजना सुनाए। सँगै उनले एमालेसँग तालमेल गरेको राप्रपा उम्मेदवारका लागि पनि भोट मागे। राप्रपाबाट उपप्रमुखमा राजाराम श्रेष्ठ उठेका छन्। 

'०४९ मा कांग्रेसले जितेर के गर्‍यो? ०५४ सालमा एमालेले जितेपछि के भयो? एमाले सरकारको पालामा एमालेले के गर्‍यो?' उनले भने, 'तपाईहरु मुल्यांकन गर्नुस्, न्यायाधीश तपाईहरु हो।' उनले संविधानले दिएका अधिकार एमालेले प्रयोग गर्न चाहेको बताउँदै महानगर बनाएर सिङ्गो देशको विकास गर्ने प्रतिवद्धता व्यक्त गरे।

महासचिव सहित बाँसबारीमा

बानेश्वरको घरदैलो पछि उनी बाँसबारी, महाराजगन्ज पुगे। विद्यासुन्दर भन्दा पहिले नै एमाले महासचिव ईश्वर पोखरेल त्यहाँ थिए। बाँसबारीको मुख्य चोकमा घरदैलो टोली उनलाई पर्खिरहेका थिए। पीपलबोटमा कोणसभा गरियो। उनले महानगरका भौतिक पूर्वाधारको विकाससँगै भाषा, संस्कृति संरक्षण गर्दै सुन्दर, शान्त, समृद्ध र जीवन्त राजधानी बताउने बताए।

'यहाँका नेवारले बोल्ने नेपाल भाषालाई सरकारी कामकाजको भाषा बनाउछौं। भाषा, संस्कृति संरक्षण हुनेगरी संग्रहालय बनाउछौं' विद्यासुन्दरले भने 'सार्वजनिक जग्गा, पोखरीको संरक्षण गरी हरित क्रान्ति गर्छौ। अब महानगरबासीको गुनासो सुन्न महानगर २४ घण्टा सेवामा उपस्थित हुनेछ।' बाँसबारीदेखि नारायणगोपालचोकसम्म घरदैलो गरेर उनी हाँडीगाउँतिर लागे। 

सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको सभामा एमाले नेता शंकर पोखरेल, अग्नि खरेल, विन्दा पाण्डेपछि विद्यासुन्दरले आफ्ना कुरा राखे। उनले एमालेले ल्याएको सामाजिक सुरक्षा भत्तालाई थप प्रोत्साहन गर्न महानगरले ८० वर्ष पुगेका जेष्ठ नागरिकलाई वार्षिक १२ हजार भत्ता दिने आश्वासन दिए। '८४ वर्ष पुगेका जेष्ठ नागरिकलाई वार्षिक १२ हजार दिन्छौं' उनले भने 'धेरै बोल्ने भन्दा भोट माग्ने र जितिसकेपछि काम गरेर देखाउनुपर्नेछ।'

विद्यासुन्दरले ५ नम्बर वडा कार्यालय अगाडिको प्राङ्गणमा भाषण गर्दा स्थानीय गणेश खत्री (५५), अबको नगर प्रमुख विद्या नै हुने दावी गरिरहेका थिए। 'यहाँ नेवार पनि छन्। अरु पनि धेरै छन्। तर यसपालि यहाँको भोट एमालेलाई जान्छ' खत्रीले भने 'एमालेले बृद्धभत्ता बढाएको छ, तलब बढाएको छ।'

सबै कहाँ पुग्नु

चुनाव हुने दिन नजिकिदैछ। उम्मेदवारहरु घरदैलोमा व्यस्त छन्। उनीहरुका लागि हरेक एक सेकेण्ड पनि महत्वपूर्ण छ। तर उनीहरु सबै मतदाता कहाँ पुग्न कठिन भइरहेको छ। कारण समय छोटो छ, भने मतदाता धेरै छन्। 

हाँडीगाउँपछि कालिकास्थान पुगेका विद्यासुन्दरले सबै ठाउँका मतदाता भेट्न सुझाव पाए। कालिकास्थान मन्दिरनेर पुग्दा त्यहाँ एमाले कार्यकर्ताले घरदैलो गरिरहेका थिए। महानगर प्रमुखका उम्मेदवार त्यहाँ पुगेपछि उनीहरुले मतदातालाई भेटाउन थाले। त्यसक्रममा उनलाई एक मतदाता महिला माथिल्लो तलाबाट तल आएर शुभकामना दिइन्।  

केपी ओलीसँग कोटेश्वरमा

चुनाव प्रचारकै क्रममा काठमाडौं महानगरपालिका वडा नम्बर ३२ कोटेश्वरमा वडा समितिले चुनावी सभाको आयोजना गरेको  थियो। दिउँसो ३ बजे देखि शुरु भएको कार्यक्रममा विद्यासुन्दर कोटेश्वर पुग्दा बेलुकीको ६:३० भइसकेको थियो। उनी कोटेश्वर पुग्नु अगावै एमाले अध्यक्ष केपी शर्मा ओली पुगिसकेका थिए। 

समय छोटो भयो : विद्यासुन्दर

चुनाव आउन अब दुई दिन समय बााँकी छ। उनी जतिसक्दो धेरै मतदाताकहाँ पुग्ने कोशिस गरिरहेका छन्। उनी भन्छन् 'काठमाडौंमा निकै मेहनत गर्नुपर्छ। त्यसैपनि हामीसँग थोरै समय छ। त्यसैले जतिसक्दो धेरै मतदाताकहाँ पुग्ने कोशिस गरिरहेको छु, चुनावी प्रतिस्पर्धा छ तर चुनाव त एमालेले नै जित्छ।'

हेर्नुस् विद्यासुन्दरका चुनावी अभियानका फोटो

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.