|

काठमाडौँ: बैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि तीन प्रदेशका ३४ जिल्लामा रहेका २८३ स्थानीय तहमा निर्वाचन हुँदै छ। यो निर्वाचनमा सबै ठाउँका गरी जम्मा ४९ हजार ३३७ उम्मेदवारले विभिन्न पदमा प्रतिस्पर्धा गर्ने भएका छन्। तीमध्ये १९ हजार ३३२ जना महिला चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्।

बैशाख ३१ गते हुन लागेको पहिलो चरणको स्थानीय तह निर्वाचन आउन अब चार दिन मात्र बाँकी छ। यो स्थानीय तह चुनावमा विभिन्न पदमा उम्मेदवारी दिएका महिलामध्ये केही प्रतिनिधि उम्मेदवार महिलालाई स्थानीय तह विकासका लागि तपाईंका सपना कस्ता छन्? भनेर हामीले सोधेका थियौँ। 

जनताको करको उचित मूल्यांकनदेखि सुशासनसम्मको सपना देख्ने सुशीला पौडेल

काठमाडौँ महानगरपालिका उपप्रमुखमा माओवादी केन्द्रबाट उम्मेदवारी दिएकी सुशीला पौडेल केही दिनयता बिहानदेखि बेलुकैसम्म घरदैलोमा व्यस्त रहने गरेकी छन्। महानगरको बौद्धस्थित महांकालमा रहेको पानीट्यांकी नजिकै बस्दै आएकी उनी बिहान ६ बजे घरबाट निस्किन्छिन्। दिनभर कार्यकर्ता भेटघाट, जनता भेटघाट गर्दै भोट माग्दै हिँड्छिन्। केही दिनयता उनी पूर्ण रूपमा जनताको घरदैलोमा भोट माग्न हिँडिरहेकी छन्। महानगरवासीलाई सपना बाँडिरहेकी छन्। 

सुशीला माओवादी केन्द्रकी केन्द्रीय सदस्य पनि हुन्। २०५३ सालमा उनी तत्कालीन माओवादीले सञ्चालन गरेको जनयुद्धमा भूमिगत भएकी हुन्। महिलामाथि हुने गरेका विभेद, असमानता र गरिवमाथिका विभेद, दलितमाथिका छुवाछुत देखेर उनले समाजसँग विद्रोह गर्दै भूमिगत राजनीति रोजेकी थिइन्। 

युद्धकालमा उनी पटक पटक जेल पनि बसिन्। उपत्यकामा राजनीति गर्न निकै चुनौती भएपछि उनले गोरखा, धादिङलगायतका जिल्लाहरूमा संगठनको काम गरिन्। अहिले उनि महानगरको उपप्रमुखमा प्रतिस्पर्धा गरिरहेकी छन्।

के छन् उनका प्रतिवद्धता?

लोकतन्त्र, संघीयता र गणतन्त्र स्थापनाका लागि जीवन मरणको संघर्षमा सहभागी भएकी पौडेल आफ्नो सबैभन्दा मुख्य प्रतिवद्धता शहीदको बलिदानसँग साटेर स्थापना गरिएको गणतन्त्र संस्थागत गर्नु आफ्नो मुख्य प्रतिवद्धता भएको बताउँछिन्। उनी महानगर उपप्रमुखको रूपमा जिम्मेवारी पाएमा आफ्नो पहिलो काम जनतालाई कर तिरेको अनुभूत गराउने बताउँछिन्।  'मेरो सबैभन्दा पहिलो काम जनतालाई कर तिरेको अनुभूति गराउनु हुनेछ। काठमाडौँका जनताले राज्यलाई कर तिरिरहेका छन् तर राज्यको अनुभूति गर्न पाइरहेका छैनन्', उनी भन्छिन्, 'मैले त्यो अनुभूति जनतालाई गराउन चाहन्छु। त्यसमा सबैको शिक्षा, स्वास्थ्य, रोजगारीलगायतका कुरा हुनेछन्।' 

त्यसैगरी एउटा काम गराउन महिनौँ धाउनुपर्ने बाध्यता तोड्ने बताउँछिन् उनी। विकराल रूपमा रहेको पानीको समस्या समाधानका लागि पानीको चुहावटलाई रोकेर त्यसको उचित व्यवस्थापन गर्ने र ढलका समस्या, अव्यवस्थित बसोवास र बेरोजगारी जस्ता समस्या तुरुन्त हल गर्न कोसिस रहने उनको प्रतिवद्धता छ।त्यस्तै स्वास्थ्य र शिक्षामा भइरहेको व्यापारीकरणलाई निरुत्साहित गर्दै सर्वसुलभ शिक्षा र स्वास्थ्यका लागि लाग्ने उनको योजना छ। 

पोखरालाई अन्तर्राष्ट्रियस्तरको शहर बनाउने सपना देखेकी गाेमा ढकाल

पोखरा महानगरपालिकामा स्थानीय तह निर्वाचनलाई एउटा उत्सवका रूपमा लिइरहेको बताउने गोमा ढकाल नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य हुन्। भरतपुर र पोखरा महानगरमा नेपाली कांग्रेससँग तालमेल गरेर चुनाव लड्न लागेको भए पनि सहमतिअनुसार कांग्रेसका उपप्रमुखका उम्मेदवारले औपचारिक हिसाबले आफ्नो उम्मेदवारी फिर्ता लिइसकेका छैनन्। कांग्रेसका उम्मेदवारले औपचारिक हिसाबले उम्मेदवारी फिर्ता नलिए पनि माओवादी केन्द्रका प्रमुखका उम्मेदवार विश्वप्रकाश लामिछानेले भने आफ्नो उम्मेदवारी फिर्ता लिइसकेका छन्। 

औपचारिक हिसाबले उम्मेदवारी फिर्ता नलिए पनि प्रमुख पदमा नेपाली कांग्रेसलाई र उपप्रमुख पदमा माओवादी केन्द्रलाई भोट हाल्ने सहमति भएको ढकाल बताउँछिन्। तर यत्तिमै मात्र ढुक्क भएर बस्न सक्ने अवस्था भने छैन रे! भोट माग्न हिँडिरहेको बताउने गोमाले यो देशमा परिवर्तन ल्याउने पार्टी माओवादी भएको र ती परिवर्तनको रक्षा र विकासका लागि आफूले उम्मेदवारी दिएको बताइन्। 

के छन् गोमाका सपना?

पोखरा लेखनाथ महानगरपालिका पर्यटकीय क्षेत्र भएको हुनाले यो शहरलाई पर्यटनको हिसाबले अन्तर्राष्ट्रिय शहर बनाउने उनको संकल्प छ। उनले कल्पना गरेको शहरमा अन्तर्राष्ट्रिय व्यापारिक केन्द्र, सुविधासम्पन्न शहर, आर्थिक समृद्धिका लागि महिला उद्यमशीलता र उद्यमशीलतालाई व्यापारिक बजारको व्यवस्था गर्ने काम हुनेछ।

देश विकासको मेरुदण्ड युवा रहेको बताउने गोमाले विदेश पलायन भएका युवालाई स्वदेशमै रोक्न सक्ने हो भने आफ्नो देशको जनशक्ति आफ्नै देशमा लगाउन सकिने र यसले देश विकासमा फड्को मार्ने सपना बुनेकी छन्। यदि पोखरावासीले आफूलाई भोट दिएर जिताए भने पाँच वर्षमा युवाका लागि प्राविधिक शिक्षा र रोजगारी सिर्जनामा जोड दिने उनको संकल्प छ।

त्यसैगरी पोखरा महानगरपालिकामा रहेका सुन्दर प्राकृतिक सम्पदाको रक्षा गर्दै पोखराकोे आफ्नो छुट्टै पहिचान स्थापना गर्ने लक्ष्य रहेको उनी बताउँछिन्। उनी भन्छिन्, 'पोखराको प्राकृतिक सौन्दर्यलाई नबिगारीकन थप विकास गर्ने र नमुनायोग्य शहर बनाउने मेरो सपना छ।' वान वेल्ट वान रोडमा नेपालले हस्ताक्षर गर्ने भएपछि आफू निकै खुसी भएको उनले बताइन्।

पोखरालाई संसारकै नमुना पर्यटकीय शहर बनाउने सपना साकार हुने विश्वासले उनलाई खुसी बनाएको छ। अन्तर्राष्ट्रियस्तरको सडकमा जोडिएपछि सोही स्तरको केन्द्र हुने हुनाले पोखरावासीले सही र वैज्ञानिक नेतृत्व चुन्नुपर्ने उनले बताइन्। त्यस्तो सही नेतृत्व आफ्नो प्यानल भएको पनि उनले दाबी गरिन्। ढकालले पोखरा शहरमा आमा स्वास्थ्य कार्यक्रम अगाडि सार्नेमा जोड दिइन्। आमा स्वस्थ रहिन् भने मात्र परिवार स्वस्थ रहने उनको धारणा छ।

टोखालाई ऐतिहासिक, पर्यटकीय र शैक्षिक हव बनाउने सपना देख्ने कल्पना शर्मा

वाग्लुङमा जन्मिएकी कल्पना शर्मा माओवादी नेता दीनानाथ शर्माकी छोरी हुन्। टोखा नगरपालिकामा प्रमुखको प्रतिस्पर्धामा होमिएकी उनी जनयुद्धकालमा घरमा बस्न नसकेपछि भूमिगत भएकी थिइन्। शिक्षक पेशामा रहेका बुबाले घर छाडेर राजनीति गर्दा निकै सानो उमेरकी थिइन् कल्पना। बिस्तारै उनले समाजमा रहेको विभेद, असमानता र अत्याचारहरू बुझ्दै गइन्। राजनीतिक स्कुलिङमा हुर्किएकी शर्मा टोखा नगरपालिकालाई संरक्षण गरी ऐतिहासिक र नमुनायोग्य शहर बनाउने संकल्पका साथ चुनावी मैदानमा होमिएकी छन्।

यस्ता छन् उनका सपना

टोखा आफैँमा एउटा ऐतिहासिक शहर रहेको र यहाँ आफैँमा ऐतिहासिक पहिचान बोकेका थुप्रै संरचना संरक्षण गर्नका लागि युग र समयअनुसारका विचार बोकेको व्यक्तिलाई नेता चुन्नुपर्ने उनको मत छ। 'त्यस्तो सही विचार बोकेको पात्र म नै हुँ', उनी भन्छिन्।  प्रमुखमा निर्वाचित हुनेबित्तिकै जनताको आधारभूत आवश्यकता संवोधन गर्ने उनको प्रतिवद्धता छ। बाटोघाटो, शिक्षा, स्वास्थ्य, रोजगारलगायतबाट काम सुरु गरी पाँच वर्षमा सुन्दर, व्यवस्थित, हराभरा र ऐतिहासिक नमुनायोग्य शहर निर्माण गर्ने उनको योजना छ।


टोखालाई ऐतिहासिक पर्यटकीय शहरको रूपमा विकास गर्ने कुरा शर्माको पहिलो प्राथमिकता हो। त्यसैगरी स्थानीय स्रोत साधनलाई बढीभन्दा बढी प्रयोग गरी युवालाई रोजगारीको प्रवन्ध गर्ने, झोरलाई पर्यटकीय हवको रूपमा विकास गर्ने, भूकम्पको समयमा भत्केका सम्पदाको पुनर्निर्माण गर्ने, धापासीलाई एजुकेशन हवको रूपमा विकास गर्ने योजना शर्माका छन्। धापासीमा सरकारी र निजी दुवैखाले शिक्षण संस्था रहेको हुनाले यसलाई शैक्षिक हव वनाउने उनको ठूलो सपना छ। सरकारी शिक्षण संस्थामा पढ्ने बालबालिकाहरूलाई निजी स्कुलमा पढ्नेसँग प्रतिस्पर्धा गर्न सक्ने गरी गुणात्मक शिक्षा नीतिको विकास गर्ने कुरामा पनि उनी उत्तिकै गम्भीर छन्। 

स्वास्थ्यको क्षेत्रमा पनि नमुनायोग्य नगरपालिकाको रूपमा टोखा नगरपालिकाको विकास गर्ने उनले बताइन्। त्यसैगरी आफ्नो नगरपालिकामा ५२ प्रतिशत मतदाता महिला रहेको हुनाले महिलाको लागि केही विशेष कार्यक्रम अगाडि सार्ने योजना उनी सुनाउँछिन्। 'यहाँका महिला राजनीतिक, आर्थिक र सामाजिक सबै हिसाबले आत्मनिर्भर र सक्षम भइसकेका छैनन्। निकै खाले समस्यामा उनीहरू बाँचिरहेका छन्। नगर प्रमुखको रूपमा जितेर आएपछि महिलाहरूका लागि विशेष खालका कार्यक्रम अगाडि बढाउनेछु', शर्मा भन्छिन्।

चुनावी प्रतिस्पर्धामा होमिएका यी सचेत महिला नेतृहरूले जितेर आफ्ना योजना लागू गर्न पाउने हुन् वा जनताले पुरानै नेतृत्वलाई जिताउने हुन्, त्यो हेर्न भने स्थानीय तहको निर्वाचनको नतिजा कुर्नुको विकल्प छैन।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.