|

काठमाडौं : सात वर्षपछि रेखा थापा र आर्यन सिग्देल एकैसाथ पर्दामा देखिने भएका छन्। रेखा फिल्मसको ब्यानरमा बन्‍न लागेको रुद्रप्रिया’मा रेखाको अपोजिटमा आर्यन देखिनेछन्।

बुधबार रेखा फिल्मसको कार्यालय बालुबाटारमा फिल्मबारे जानकारी दिन आयोजित कार्यक्रममा आर्यन पनि उपस्थित थिए। ‘यसलाई सबैले सुखद मिलनको रुपमा लिनुहोला’ आर्यनसँग हात मिलाउँदै रेखाले भनिन्।

करिब सात वर्षअघि प्रदर्शनमा आएको फिल्म ‘कसले चोर्‍यो मेरो मन’ पछि रेखा र आर्यनले फिल्ममा सँगै काम गरेका थिएनन्। उनीहरुको बोलचाल समेत बन्द भएको थियो।

‘उसँग मेरो व्यत्तिगत दुश्मनी कहिल्यै पनि थिएन, मैले मिडियामा पनि केही पनि भनेको थिइनँ’ आर्यनले भने,‘अहिले स्क्रिप्टले बोलायो। तपाईंहरुले सोचे जस्तो झगडा नै भएको भएपनि मैले खेल्ने फिल्मको क्यारेक्टरसँग त झगडा परेको छैन नि।’

यता रेखाले आर्यन र आफ्नो जोडी हलमा नआउँदा फिल्म क्षेत्रलाई नै घाटा लागेको बताइन्। ‘दर्शकहरुलाई पनि अपराध गरेको जस्तो लाग्यो किनभने हाम्रो जोडीलाई दर्शकले अत्याधिक रुचाउनु भएको थियो।’ रेखा फिल्मसबाट बनेको ‘किस्मत’ फिल्मबाट रजतपटमा नायकको रुपमा डेब्यु गरेका आर्यन र रेखाले ‘किस्मत’, ‘हिफाजत’ र ‘कसले चोर्‍यो मेरो मन’मा एकसाथ अभिनय गरेका थिए। 

सुदिप बबी भूपाल सिंहको लेखन तथा निर्देशन रहने फिल्म ‘रुद्रप्रिया’ को छायाँकन आउँदो जेठ महिनाको पहिलो सातादेखि सुरु हुनेछ। फिल्म कात्तिक २ गते अर्थात लक्ष्मी पूजाको दिन प्रर्दशनमा ल्याइने जानकारी निर्माण पक्षले दिएको छ। रमेश एमके पौडेल र सरस्वती थापाको निर्माणमा बन्‍न लागेको फिल्म 'रुद्रप्रिया'लाई संजय लामाले खिच्‍नेछन्। फिल्ममा सुरेश अधिकारी र अर्जुन पोखरेलको संगीत रहनेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.