|

लहान : सिरहाको लहानस्थित सगरमाथा अञ्चल यातायात व्यवस्था कार्यालयमा अज्ञात समूहले बिहीबार मध्यान्ह शक्तिशाली कुकर बम विष्फोट भएको छ। मध्यान्ह १२ बजेतिर ठूलो आवाजसहित भएको बम बिष्फोटमा कुनै मानवीय क्षति नभएपनि कार्यालयको पहिलो तल्लामा कार्यालय प्रमुखको कार्यकक्ष नजिकै रहेको शौचालयको भित्ता र झ्यालका सीसाहरु फुटेका छन् भने भित्ताहरु चर्किएका छन्।

बम विष्फोटपछि त्रासले  कर्मचारीहरु कार्यालय परिसरमा बसेकाले सम्पूर्ण कामकाज ठप्प बनेको छ। सेवाग्राहीको भीड लाग्ने यातायात कार्यालयमा बम विष्फोट भएपछि सेवाग्राहीहरुको भागदौड मच्चिएको थियो। कार्यालयका प्रमुख ओमकारप्रसाद न्यौपानेले आफ्नो कार्यकक्षमा कार्यालयका कर्मचारीहरुसँग छलफल गरिरहेका बेला एक्कासी ठूलो आवाजसहित विष्फोट भएको बताए।

कार्यालयमा कुनै पनि समूहबाट चन्दा सहयोग नमागेको र विवाद समेत नभएकाले बिष्फोट कसले र किन गराएको हो भन्ने आफूले केही बताउन नसक्ने प्रमुख न्यौपानेले दावी गरेका छन्। यद्यपी यातायात कार्यालयमा सवारी चालक अनुमति पत्र वितरणमा बिचौलिया दलालहरुमार्फत् घुस लिएर अनुमति पत्र वितरण गरिरहेको सेवाग्राहीहरुको गुनासो रहेकाले रकम लेनदेनकै कारणले अज्ञात समूहले बिष्फोट गराएको हुन सक्ने आशङ्का गरिएको छ।

कार्यालयका नायव सुब्बा योगेश्वर खनाललाई बिचौलियाहरुले घुस लिएर दुई पाङ्ग्रे, चार पाङ्ग्रे, ठूला सवारी साधन र ट्रयाक्टरको सवारी चालक अनुमति पत्र बाँड्दा प्रयोगात्मक परीक्षामा फेल भएकाहरुसँग पनि रकम असुलेर लाइसेन्स दिने गरेको आरोप लाग्ने गरेको छ। नासु खनाललाई केही महिना पहिले ‘भ्रष्टाचारी’ भन्दै नेत्रबिक्रम चन्द (बिप्लव) नेतृत्वको नेकपा (माओवादी) समूहले कालो मोसो दलेका थिए।  

कार्यालयमा बम बिष्फोटन भएको करिब आधा घण्टापछि पाँच सय मिटरको दूरीमा रहेको इलाका प्रहरी कार्यालयबाट घटनास्थलामा प्रहरी पुगेको थियो। स्थानीय तहको निर्वाचन नजिकिंदै गर्दा निर्वाचन बिथोल्ने धम्की दिइरहेको समूह वा तराईमा सशस्त्र गतिविधि गरिरहेका समूहले बम विष्फोटन भएको हुन सक्ने आशङ्का गरिएको भएपनि त्यसको पुष्टि भइसकेको छैन।

ढिलो गरी घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी.) हिराबहादुर पाण्डेले बिष्फोट गराउने सम्भावित समूहको खोजी भइरहेको बताएका छन्। लहान नगरपालिका ८ को बसोवास क्षेत्रमा रहेको यातायात कार्यालयमा बम बिष्फोटनपछि स्थानीय जनजीवन त्रसित बनेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.