|

जनकपुरधाम : सामान्य पानी पर्दासमेत जनकपुरका अधिकांश सडकहरु हिलाम्य भएका छन्। मंगलबार र बुधबार पानीपरेपछि जनकपुरसहित यस क्षेत्रमा अधिकांश सडकहरु हिँड्नै नसक्ने गरी हिलाम्य भएका हुन्।

एसियाली विकास बैंकको ऋण सहयोगमा सञ्चालित एकीकृत सहरी विकास आयोजनाअन्तरगत सडक, नाला तथा सौन्दर्यीकरणको कामअन्तरगत जथाभावी रुपमा सडक खनेर छाडिँदा सामान्य वर्षामा पनि सडकहरु हिलाम्य हुन पुगेका छन्। जथाभावी रुपमा माटो खनेर छाड्दा नालाहरु जाम भई मूल सडकमा पानी जमेको छ। स्कुले बालबालिकादेखि दुई पाङग्रे र चार पाङग्रे गाडीहरुलाई समेत आवत जावतमा निकै समस्या भइरहेको छ।

वर्षातको मौसमभन्दा पहिला नै यसप्रकारको अवस्था आएपछि यस क्षेत्रका सर्वसाधारणलाई घरबाट निस्कनसमेत कठिनाइ भएको जनकपुर ९ का सुरेन्द्रकुमार यादवको भनाइ छ। विकासको बजेटलाई बाँडीचुँडी खाने प्रवृत्तिका कारण सामान्य वर्षामा समेत जनकपुरको सडकहरुको अवस्था दुरवस्थामा परिणत हुने गरेको यादवको भनाइ छ।

नालाको पानी सडकमै ल्याइनु, अवैज्ञानिक ढंगले घर निर्माण हुनु, समयमा सडक मर्मत नहुनुजस्ता समस्याले सानै पानी पर्दासमेत नगरको अवस्था हिलाम्य हुनुको प्रमुख कारक रहेको अर्का विद्यार्थी नेता सरोज साहको भनाइ छ।

धार्मिक एवं सांस्कृतिक सम्पदाले परिपूर्ण नेपालको प्रमुख सहर मध्येका जनकपुरधाम एक रहे पनि समुचित विकासबाट पछाडि परेकोले यस्तो दुरवस्था आएको र सोही कारण पर्यटन प्रबद्र्धनको क्षेत्रमा समेत निकै असर गरिरहेको पर्यटन व्यवसायी तथा मिथिला वाइल्डलाइफ ट्रस्टका अध्यक्ष देवनारायण मण्डलको बुझाइ छ। प्रायः वर्षातको मौसममा प्रत्येक वर्ष जनकपुर सडकहरु हिलो तथा खाल्डाखुल्डीले अस्तव्यस्त रहने गरेको छ। यस विषयमा बेलैमा सम्बन्धित निकायको ध्यान पुग्न जरुरी देखिन्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.