|

काठमाडौँ: युवागायक तथा संगीतकार मदनगोपाल आफ्नो पाँचौँ सांगीतिक एल्बम 'धेरै टाढा' लिएर नेपाली सांगीतिक बजारमा पुन: आएका छन्।

बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा उनको उक्त एल्बम सार्वजनिक गरियो। म्युजिक नेपालका प्रबन्ध निर्देशक सन्तोष शर्मा, शास्त्रीय गायन गुरु प्रभुराज ढकाल, संगीतकारहरू उद्गम परियार र राजीव शाह, फुटबलर हरि खड्कालगायतले उक्त एल्बमको विमोचन गरेका हुन्।

शास्त्रीय संगीतका विद्यार्थी मदनगोपालमा नेपाली सुगम संगीत र गजलगायनको प्रचुर संभावना रहेको म्युजिक नेपालका प्रबन्ध निर्देशक सन्तोष शर्माले बताए। झण्डै आधा दशकपछि बजारमा ल्याएको यो पाँचौँ एल्बम विगतका भन्दा केही फरक स्वादको रहेको गायक मदनगोपालले दाबी गरे। उनले भने, 'मेरो यस एल्बममा निकै मिहिनेत परेको छ। विगतको भन्दा फरक स्वाद श्रोताले पाउनुहोस् भनेर अलिक धेरै समय लगाएको छु।' 

म्युजिक नेपालले बजारमा ल्याएको यस एल्बमका गीत मदनगोपाल, अविरल थापा, मनीष प्रसाईं, रमेश नेपाल र शेखर ज्ञवालीले लेखेका छन् भने एउटा गीतमा मनीषको र बाँकीमा मदनकै संगीत रहेको छ। एल्बमको संगीत संयोजन उद्गम परियारले गरेका हुन्।

यसअघि 'अलमोस्ट', 'आकृति', 'लक्ष्मी' र 'कामिनी' चारवटा एल्बम बजारमा ल्याइसकेका मदनगोपाल नेपाली सुगम संगीत तथा गजलगायनमा स्थापित छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.