भन्छन्, ‘समस्या समाधान गर्ने टेस्टेड सूत्र मसँग छ’

|

काठमाडौँ: मुलुकको राजधानीसमेत रहेको काठमाडौँ महानगरपालिकाको प्रमुखमा उम्मेदवारी दिएपछि किशोर थापाले अनेक प्रतिक्रियाहरू पाए। ३२ वर्ष सरकारी सेवामा बिताएका ‘रिटायर्ड’ कर्मचारीले काठमाडौँ महानगरपालिका हाँक्ने दाबेदारी प्रस्तुत गरेपछि त्यस्ता प्रतिक्रियाहरू आउनु अस्वाभाविक थिएन पनि।

‘सकारात्मक/नकारात्मक सबै खालका प्रतिक्रिया पाएको छु’, काठमाडौँ डिल्लीबजारस्थित नेपालयको भवनमा रहेको साझा पार्टीको अस्थायी कार्यालयमा थाहाखबरसँगको भेटमा किशोरले भने, ‘कतिपयका आग्रह र पूर्वाग्रह पनि छन्।‘

इन्जिनयरिङ पृष्ठभूमि, सरकारी सेवाको लामो अनुभव र शहरी विकासको विज्ञ भए पनि उनले बारम्बार झेल्ने आरोप हो, उनको राजनीतिक पृष्ठभूमि छैन। उनी आफैँ भन्छन्, ‘म राजनीतिक व्यक्ति होइन, काठमाडौँ महानगरको प्रमुखको भूमिका राजनीतिक कम र व्यवस्थापकीय बढी हो।‘ आफ्नो पृष्ठभूमिबारे प्रश्न उठ्नुलाई स्वाभाविक मानेको उनी बताउँछन्।  

‘म शहरी विकासको अनुभव बोकेको मान्छे हुँ। सहरी विकासको विज्ञ हुँ। त्यसैले यसले राजनीति कसरी गर्ला? प्रमुखको पदमा यो मान्छे योग्य होला कि नहोला भन्ने अड्कलबाजी हुने नै भए’, किशोर भन्छन्, ‘नेपाली समाज दलीय संस्कारबाट हुर्केको छ। हामीले बनाउन लागेको साझा पार्टीबाट मलाई सहयोग छ तर म त स्वतन्त्र उम्मेदवार हुँ। गैरराजनीतिक व्यक्ति कसरी प्रमुख बन्ला भन्ने उत्सुकता र कौतुहल हुनु स्वाभाविक पनि हो।‘ 

सरकारी सेवामा छँदा अधिकांश दलका नेता र मन्त्रीसँग काम गर्दा नेपालको राजनीतिक अवस्थालाई नजिकबाट नियालेको उनी बताउँछन्। ‘म आफैँ राजनीतिक खेलाडी पो भइनँ तर मैले जति बुझ्नुपर्ने हो त्यति बुझेको छु’, उनी भन्छन्। सहरी विकास मन्त्रालय, शिक्षा मन्त्रालय, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, निर्वाचन आयोग र जल तथा ऊर्जा आयोग आदिमा काम गरेको अनुभव उनीसँग छ।

मिडियाबाजी र प्रचारमा त्यति विश्वास नगर्ने भएकोले आफूले गरेका धेरै काम नागरिकलाई थाहा नहुनु स्वाभाविक भएको उनको दाबी छ। ‘यो काम गरेँ, ऊ काम गरेँ भन्दै हिँड्न पनि मन लाग्दैन। आफूले गरेका काम मिडियामा चर्चामा नआओस् भन्ने चाहन्थेँ। जे काम गर्थें, त्यसमै रमाउँथेँ। प्रचारबाजीमा विश्वास गर्दैनथेँ’, किशोर भन्छन्, ‘कतिले उत्सुकता र अविश्वासपूर्वक प्रश्न उठाउनुभएको छ, यत्रो वर्ष यसले के गर्‍यो र अब के गर्छ?’

किन राजनीतिमा?

‘राजनीति राम्रो भयो भने राम्रो काम हुन्छ’ भन्ने बुझेका उनले आफैँ राजनीतिमा होमिन्छु भन्ने सोचेका भने थिएनन्। अहिलेका स्थापित दलहरू देश र जनताको हितमा भन्दा पनि दलगत स्वार्थमा हिँडेको बुझेपछि आफू राजनीतितिर आकर्षित भएको उनी बताउँछन्।

‘सबैले आ-आफ्ना स्वार्थ हेर्ने हो भने देश बन्दैन भन्ने लाग्यो, उकुसमुकुस हुन थाल्यो’, उनी भन्छन्, ‘त्यही क्रममा साझा पार्टी निर्माणमा लागिरहेका रवीन्द्र मिश्रसहितसँग भेट भयो। धेरै चरणमा कुराकानीपछि राजनीतिमा होमिने निर्णय गरेँ।‘ मुलुक नबनेसम्म व्यक्ति जतिसुकै सम्पन्न भए पनि त्यसको अर्थ नहुने उनको बुझाइ छ। ‘राजनीति नै त्यो माध्यम रहेछ, जसले आमनागरिकको जीवन बदल्न सक्छ’, उनी भन्छन्।

उसो भए के तपाईंले सरकारी सेवामा बिताएको ३२ वर्ष व्यर्थ भयो? पहिला नै राजनीतिमा किन आउनुभएन?

उनको जवाफ छ, ‘म खेर गएको मान्दिनँ। म कर्मचारी भएर सचिवसम्म हुने र मुख्य सचिव हुने उद्देश्य राखेर हिँडेँ। मैले राजनीति गर्छु भन्ने निर्णय गर्न सकिनँ।‘ देशमा कांग्रेस, एमाले, माओवादी, राप्रपा र भर्खर खुलेको नयाँ शक्ति पनि थिए। अन्य क्षेत्रीय दल पनि थिए।

तर, आफूलाई साझा पार्टीको सामूहिक चिन्तनले आकर्षित गरेको उनी बताउँछन्। ‘मेरो व्यक्तिगत मूल्य मान्यता र यो पार्टीको मूल्य मान्यता मेल खायो। म यसमा फिट हुन सक्छु भन्ने लाग्यो’, उनी भन्छन्, ‘अन्य राजनीतिक दलले बोलाउँदा पनि बोलाएनन् र मैले पनि आउँछु भनिनँ।‘ यद्यपि, अन्य दलसँग राम्रो सम्बन्ध रहेको र सबै नेताहरूलाई आफूले सम्मान गर्ने उनी बताउँछन्।  

के छन् एजेन्डा?

थापाले नारा तय गरेका छन्, ‘सफा, सुरक्षित र सबैको काठमाडौँ।’ महानगरमा हुनुपर्ने सेवा सुविधा, युवाहरूलाई रोजगारी, उत्पादनशील, सुरक्षित र स्वस्थकर शहर बनाउन धेरै समय नलाग्ने उनको ठम्याइ छ। ‘यति काम पाँच वर्षमा पूरा गर्न सकिन्छ’, उनी भन्छन्, ‘पदबहाली गरेको एक वर्षमा महानगरवासीको अनुहारबाट मास्क हटाउन सक्छु भन्ने मलाई विश्वास छ।‘

सहरी विकास मन्त्रालयको सचिव छँदा आफूले ल्याएको बाहिरी चक्रपथको अवधारणालाई मूर्त रूप दिने किशोर बताउँछन्। ‘काठमाडौँमा बाहिरी चक्रपथ किन आवश्यक छ भने अहिलेको चक्रपथमा भीडभाड भइसक्यो', थापा भन्छन्, 'थानकोटबाट चोभार हुँदै हरिसिद्धि हुँदै भक्तपुरसम्म जाने चक्रपथले अहिलेको ट्राफिक अस्तव्यस्ततालाई व्यवस्थापन गर्छ।‘

उनी वागमती सफाइ अभियानमा समेत जोडिए। यो अभियानका क्रममा उनले काठमाडौँ उपत्यका हुँदै बग्ने वागमती नदी र यसका शाखा नदीको दूरवस्था नजिकबाट नियालेको उनी बताउँछन्। ‘दुर्गन्धित र दलदलयुक्त वागमती त सफा हुन्छ भने सबै मिलेर काम गरे राजनीति पनि सफा हुन्छ भन्ने अनुभूति मैले वागमती सफाइको चार वर्षमा सिकेँ’, उनी भन्छन्, ‘तर यसका लागि स्पष्ट दृष्टिकोण र इमानदार प्रयास चाहिन्छ।‘ 

सचेत महानगरवासी भए मात्र महानगरको मौलिकता झल्कने किशोर बताउँछन्। ‘सबैथोक सरकारले गरिदिन्छ, फोहोर उठाउने, वृक्षारोपण गर्ने काम महानगरपालिकाको हो भनेर महानगरवासी पनि आफ्नो जिम्मेवारीबाट पन्छिन हुँदैन’, उनी भन्छन्, ‘सचेत नागरिकहरूले नै यो नगर बनाउने हो। नागरिकलाई सचेत बनाउने काममा पनि महानगर प्रमुखको नेतृत्वदायी भूमिका हुन्छ र त्यसमा म योग्य छु।‘ 

महानगरका वडा/वडामा खुला क्षेत्रहरू बनाउने उनको योजना छ। तर के त्यसका लागि काठमाडौँमा ठाउँ छ?

‘झट्ट हेर्दा देखिन्न तर खोज्ने हो भने पाइन्छ। कुनै ठाउँ अस्थायी रूपमा प्रयोग भइरहेका छन्। कुनै महानगरले किनेर पनि लिनुपर्ने होला। कुनै संरचना हटाएर पनि लिनुपर्ला’, उनी भन्छन्, ‘स्थानीयवासीको सहयोग लिनुपर्छ किनभने यस्ता संरचना चाहिने उनीहरूलाई नै हो।‘

काठमाडौँ महानगरपालिकाभित्र अतिक्रमित जमिन पनि महानगर मातहत ल्याएर ठाउँ निकाल्नुपर्ने उनी बताउँछन्। काठमाडौँको सडक बिस्तार हुँदा शहरी विकास सचिव रहेका उनले अधिकारसम्पन्न वागमती समितिको अध्यक्ष र सचिव भएर काम गर्दा कहाँ-कहाँ सार्वजनिक जग्गा मिचिएको छ, त्यसको रेकर्ड रहेको बताउँछन्। ‘अहिलेको महानगर स्थानीय सरकार हो। त्यसले आफ्नो काम गर्न कसैलाई गुहार्नै पर्दैन। न्यायिक र प्रशासनिक अधिकार प्रयोग गर्दै महानगरभित्रका सबै समस्याको समाधान गर्ने क्षमता महानगरले राख्छ’, उनी भन्छन्, ‘केन्द्रीय निकायहरूसँग सहकार्य गर्दै ती जग्गाबाट अतिक्रमण हटाउनुपर्छ। त्यो अतिक्रमण हटाउन पनि म अनुभवी छु।‘ 

तर, यतिका काम गर्न त जित्नैपर्छ। यहाँ त एमाले र राप्रको तालमेल छ। कांग्रेस र माओवादी पनि मैदानमा छन्। अन्य दल र स्वतन्त्र उम्मेदवार पनि छन्। तपाईँ जित्छु नै भनेर उम्मेदवारी दिनुभएको हो कि आफूलाई एकपटक परीक्षण गरौँ भनेर?

यो प्रश्नपछि उनी हल्का मुस्कुराए। ‘महानगरको पद भनेको दलभन्दा व्यक्ति हेरेर जिताउने हो’, उनले भने, ‘महानगरवासीको अपेक्षा र हुटहुटी अध्ययन गरेका छौँ। टोलटोलमा गएर कुराकानी गरेका छौँ। अध्ययनको आधारमा मेरो विश्वास के छ भने मतदाताले दल होइन, व्यक्ति हेर्छन्।‘  

तपाईंले जित्ने आधार के छ?

‘व्यवस्थापनको तरिका मसँग छ, जुन अरूसँग छैन’, उनी भन्छन्, ‘कुन समस्यालाई कसरी समाधान गर्ने भन्ने टेस्टेड मोडेल मसँग छन्।‘

दुई लाख ७९ हजार ३०५* मतदाता रहेको काठमाडौँ महानगरमा किशोरसहित २८ जना प्रमुखको दौडमा छन्। मदातालाई किशोरको चुनाव चिह्न 'क्यामेरा'ले कत्तिको क्लिक गर्छ, थाहा पाउन केही दिन कुर्नै पर्छ। (*यसअघि परेको गलत तथ्यांक सच्याइएको)

सम्बन्धित समाचारः

  अघिल्लो समाचार

पछिल्लो समाचार  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.