|

प्रदेश नम्बर ६ को सम्भावित राजधानीको रुपमा चर्चा पाएको सुर्खेतको सबैभन्दा पुरानो नगरपालिका वीरेन्द्रनगर नरपालिकाको प्रमुख पद कसरी हात पार्ने भन्ने दाउमा उम्मेदवारहरु लागिपरेका भेटिन्छन्। प्रस्तुत छ माओवादी केन्द्रको तर्फबाट वीरेन्द्रनगर नगरपालिकामा प्रमुखका उम्मेदवार रत्नबहादुर गाहासँग थाहा संवाददाता सविता जिसीले गरेको कुराकानी :

वीरेन्द्रनगर नगरपालिकाको प्रमुख पदमा तपार्इंको उम्मेदवारी किन?

वर्षौंदेखि प्रतिनिधिविहीन बनेको स्थानीय निकाय वीरेन्द्रनगर नगरपालिकाको उचित विकास र विकासको नयाँ मोडेल तयार गर्नका लागि वीरेन्द्रनगर नगरपालिकाको प्रमुखमा मेरो उम्मेदवारी हो।

प्रदेश नम्बर ६ को सम्भावित राजधानीको रुपमा रहेको सुर्खेतलाई पूर्णता दिन मेरो उम्मेदवारी हो। वीरेन्द्रनगरलाई समृद्ध सहर निर्माण गरेर सामाजिक र आर्थिक परिवर्तन गर्ने सपना पूरा गर्नका लागि मेरो उम्मेदवारी हो।

वीरेन्द्रनगरका मुख्य चुनौतीहरु के–के देख्नुहुन्छ ?

वीरेन्द्रनगरको विकासका मुख्य चुनौती भनेको निर्माण भएका योजनाहरु लागू नहुनु हो। हामी विकासका योजनाहरु निर्माण गछौं तर, योजनाहरुको कार्यान्वयन नै हुँदैन। यसका लागि खबरदारी र विकासको बानी बसाल्नु जरुरी छ। निर्माण गरेका योजना लागू नहुनु नै यहाँको चुनौती हो।

बाढीपहिरोबाट घरबारबिहीन भएर टहरामा बस्दै आएका जनतालाई व्यवस्थापन गर्नु अर्को चुनौती हो। वीरेन्द्रनगरका युवायुवतीहरुलाई रोजगारीका विकल्प खोज्नु, रोजगारीका लागि उद्योगधन्दाको सुरुवात गर्नु अर्को चुनौती छ।

समृद्ध वीरेन्द्रनगरका लागि कस्ता सम्भावनाहरु देख्नुहुन्छ ?

समृद्ध र सुन्दर वीरेन्द्रनगरका लागि हामीसँग थुप्रै सम्भावनाहरु छन्। प्रकृतिले निःशुल्क रुपमा प्रदान गरेका पर्यटकीय तथा अन्य क्षेत्रहरुको उचित प्रयोग गर्नु आवश्यक छ। सुर्खेतका देउतीबज्यै, काक्रेबिहार, बुलबुले ताल घण्टाघर पार्कको उचित संरक्षण र संवद्र्धन गर्नु यहाँका सम्भावनाहरु हुन्। भने रतु, गढिमा होमस्टे स्थापना गर्नु अर्को सम्भावना हो।

यसको उचित सदुपयोगका लागि राजनीतिमा एउटा सकारात्मक संस्कारको विकास गनर््ु आवश्यक छ। चुनावमा हारजित स्वाभाविक कुरा हुन्, त्यसैले जित्ने दलले एकलौटि मात्रै नभई हार्ने पक्षलाई पनि सँगसँगै लिएर जाने खालको नेतृत्वको आवश्यकता छ।

तपाईंले चुनाव जित्ने प्रमुख आधार के–के हुन्?

हिजो के भएभन्दा पनि आज के हुँदै छन् र भोलि के गर्ने भन्ने विषयमा हामी जोड दिन्छौं। माओवादी केन्द्रले हिजो के ग¥योभन्दा पनि माओवादी केन्द्रका आजभोलिका एजेन्डा जनताले हेर्नुपर्छ। जनताको हितमा काम गर्ने कुनै पार्टी छ भने, त्यो नेकपा माओवादी केन्द्र नै हो।

वर्षौंदेखिको नेतृत्वले असम्भव देखेको लोडसेडिङ अन्त्य गर्ने काम माओवादीको नेतृत्वमा अन्त्य भयो। माओवादी केन्द्रका यी एजेन्डा छन्, भनेर हामीले देखाउँदै हिँड्नुपर्ने अवस्था छैन। जति पनि देखिने कामहरु छन्, ती सबै माओवादीका एजेन्डा थिए। समाजको विकासका लागि नेकपा माओवादी केन्द्र प्रतिबद्ध छ। ठुल्ठूला एजेन्डा ल्याएर जनता झुक्याउने काम हामी गर्दैनौं। हामीसँग वीरेन्द्रनगरको समृद्धिको खाका छ। यही नै हाम्रो एजेन्डा हो।

तपाईले जित्नुभयो भने प्राथमिकताका साथ गर्ने प्रमुख योजनाहरु भनिदिनुस् न?

यदि मेले जितेमा म सबैभन्दा पहिलो कामका रुपमा नगरलाई व्यापारिक र पर्यटकीय केन्द्र बनाउने छु। प्रदेश नम्बर ६ को समृद्धिको पहिलो आधार नै यहाँको पर्यटन क्षेत्र हो। यसलाई हामी कसैले नकार्न मिल्दैन।

वीरेन्द्रनगरलाई व्यापारिक केन्द्र बनाउनका लागि हामीले भारत र चीनसँगको नाका प्रदेश नम्बर ६बाट खुलाउनु पर्नेछ, त्यसका लागि प्रदेश नम्बर ६ का जिल्लाहरुबाट नाका खुलाउने विषयमा आवश्यक पहल गर्नेछु। अर्को योजना भनेको वीरेन्द्रनगरलाई २४ घण्टा उज्यालो, सुरक्षित र सफा सहरको रुपमा विकास गर्नेछु।

वीरेन्द्रनगरबासीले झेल्दै आएको खानेपानी अभावको समस्याको अन्त्य गर्न भेरीको पानी वीरेन्द्रनगरमा लिफ्टमार्फत ल्याउने मेरो अर्को महत्वपूर्ण योजना हो।

अन्त्यमा मतदातालाई के भन्न चाहनुहुन्छ?

मतदाताहरुलाई मेरो आग्रह के छ, भने राजनीतिक दलभन्दामाथि उठेर मतदान गर्नुस्। चुनावी एजेन्डा सबै दलका पढ्नुस्, ती उत्कृष्ट एजेन्डाहरुमध्येबाट वास्तविकता पहिचान गरी मतदान गर्न  म सबै मतदाताहरुलाई अनुरोध गर्दछु।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

कमेन्ट

  • आजसम्म जे भय पनि अब सबै राम्रो होस पढेलेखेको यूवा नेता हामिले चुन्ने हो गाहा मेरो मेरो दाई हुनुहुन्छ सबै ले माओबादीलाई जिताऊनू पर्छ लालसलाम