|

०२५ साल असार महिना, मध्य बर्खाको चटारोमा जन्मिएका सोम सापकोटाको अहिलेको दैनिकी मध्य असारभन्दा पनि चर्को छ। 

दुई दशक अगाडि भएको स्थानीय निर्वाचनमा पीपलडाँडाबाट जनप्रतिनिधिका रूपमा चुनिएर उनी जिल्ला विकास समितिको इलाका सदस्यसमेत रहे। मुलुकमा आवधिक निर्वाचनका क्रममा बिराम नलागेको भए त्यसपछिका निर्वाचनमा उनी जिविस सभापतिका समेत दावेदार मानिन्थे। स्थानीय निकायमा राम्रै अनुभव हासिल गरेका उनका लागि अहिले चौतारा साँगाचोकगढी नगरपालिकाको नगर प्रमुखका उम्मेदवारका रूपमा नेकपा एमालेले अघि सारेको छ। 

०५४ सालपछि मुलुकमा स्थानीय निकायको निर्वाचन नै हुनसकेन। उनको दैनिकी जिल्ला विकास समितिका कामबाट गैरसरकारी संस्थातर्फ मोडियो। गैसस महासंघ जिल्ला शाखा सिन्धुपाल्चोक, मध्यमाञ्चल क्षेत्र हुँदै केन्द्रसम्मको पदीय जिम्मेवारीमा रहे। यसबीचमा गैसस मोडेलमा विकास निर्माण र सामाजिक सशक्तीकरणमा लामो समय बिताएर उनी फेरि पुरानै कर्म राजनीतिमा फर्किएका छन्। 

समृद्ध चौताराको सपना बोकेर उनी चुनावी मैदानमा होमिएका छन्। उनीसँग थाहाखबरका लागि रमेश पराजुलीले गरेको संक्षिप्त कुराकानी प्रस्तुत छ।

चौसागढीमा तपाई्रको उम्मेदवारी किन? किन मतदाताले तपाईंलाई जिताउन जरुरी छ?

पहिलो कुरो त यति लामो समयपछि स्थानीय निकायको निर्वाचन हुँदै छ। आवधिक निर्वाचनलाई लोकतन्त्रको मुटु मानिन्छ। यो मामलामा हामी चुकिरहेका थियौँ। निर्वाचनको वातावरण बनाउनका लागि नै हामीले ठूलो कसरत गर्नुपर्‍यो। निर्वाचनको वातावरण बनेको छ। यो नै ठूलो कुरा हो। सँगसँगै मेरो उम्मेदवारीका केही दाबीहरू छन्। 

विनाशकारी महाभूकम्पले सिन्धुपाल्चोकका सबैजसो वस्ती मारमा परेका छन्। चौतारा साँगाचोकगढी त झनै मारमा छ। जनताहरू अझै पनि टहरामा बस्न बाध्य छन्। जनप्रतिनिधिविहीनताको अवस्थाले पुनर्निर्माणमा आशातीत प्रगति हुन सकेको छैन। पुनर्निर्माण प्रक्रियामा जनपरिचालनमा उल्लेख्य काम हुनसकेको छैन। यसमा रहेर थुप्रै काम गर्नु छ। एकीकृत र सुरक्षित प्रकृतिका बस्ती बिस्तारमा काम गर्नुपर्नेछ। पुनर्निर्माणमा नेकपा एमालेको अगुवाइले नै नगरको समृद्धिमा सघाउ पुर्‍याउँछ भन्ने हाम्रो मान्यता हो।

तपाईं निर्वाचन कार्यक्रमअन्तर्गत गाउँगाउँमा हुनुहुन्छ। मतदाताको प्रतिक्रिया कस्तो पाउनुभएको छ? 

मेरो उम्मेदवारी तय हुनुभन्दा अगाडिदेखि नै हामीले सबैजसो वडाहरूमा निर्वाचनकेन्द्रित गतिविधिहरू संचालन गरिरहेका थियौँ। मनोनयन दर्तापछि यो क्रम अझ सशक्त रूपमा अगाडि बढिरहेको छ। म यस नगरापालिकाका जति पनि बस्तीमा पुगेँ, त्यहाँ जनताले न्यानो स्वागत गरेका छन्। आमजनताले नेकपा एमालेले समसामयिक स्थानीय तथा राष्ट्रिय मुद्दामा लिएको अडानप्रति भरोसा गर्नुभएको छ। जति पनि स्थानमा हाम्रो अन्तक्र्रिया भएको छ र त्यसबाट जुन खालको माहोल सिर्जना भएको छ, त्यसका आधारमा हामी जीतको एकदम नजिक छौँ भन्ने संकेत गरेको छ।

एमालेको अगुवाइले मात्र समृद्धिका सपना कसरी पूरा हुन्छन्? 

एमालेको एजेण्डामा नेपाललाई २५ वर्षभित्र समृद्ध राष्ट्रको हाराहारीमा पुर्‍याउने, १० वर्षभित्र मध्यम आय भएको मुलुकको स्तरमा उठाउने र आगामी पाँच वर्षभित्र अल्पविकसित राष्ट्रको अवस्थाबाट माथि उठाउन स्थानीय निकायमा समेत एमालेको नेतृत्व जरुरी हुन्छ।

मेरो हकमा कुरा गर्नुहुन्छ भने मैले विगतको स्थानीय निकायका प्रतिनिधिका रूपमा रहेर काम गरेको अनुभव छ। त्यसपछि गैरसरकारी संस्थामा समेत रहेर सरकारी निकायसँगको हातेमालोमा काम गरेको अनुभव छ। सँगसँगै जिल्ला अस्पताल, विद्यालय व्यवस्थापन, क्याम्पस व्यवस्थापन, बालकल्याणलगायत थुप्रै संस्थाको अगुवाइ गरेको अनुभवले पनि चौतारा साँगाचोकगढीलाई समृद्ध बनाउनका लागि मेरो नेतृत्व दाबी सशक्त छ भन्ने लाग्छ।

चौतारा साँगाचोकगढी नगरपालिकाको नयाँ संरचना संचालनमा पक्कै पनि जटिलता छन्। यसमा कसरी काम गर्ने योजना बनाउनुभएको छ? 

निश्चय नै हाम्रा सामु जटिलता छन्। नयाँ संरचनामा रहेर काम गर्नका लागि भौतिक पूर्वाधारको विकास गर्नुपर्नेछ। यसका लागि हामीले तत्काल गर्नुपर्ने अल्पकालीन र दीर्घकालीन रूपमा गर्नुपर्ने कामलाई वर्गीकरण गर्नेछौँ। संबन्धित काममा गुणस्तर कायम गर्नका लागि विज्ञ विशेषज्ञहरूको समूह गठन गर्नेछौँ। तत्पश्चात आवश्यकताहरूको पहिचान तथा स्तरीकरण गरी शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, सिंचाइ, विद्युत, संचार विकासमा तदारुकताका साथ कार्य अगाडि बढाइनेछ। 

तपाईं विजयी हुनुभयो भने चौसागढीको समृद्धिका आधारहरू केके देख्नुभएको छ?

चौतारा साँगाचोकगढी नगरपालिकाको विकासको हामीले ठोस खाका तयार गरेका छौँ। जुन कुरा तपार्इं हाम्रो चुनावी प्रतिवद्धतापत्रमा पनि हेर्न सक्नुहुन्छ। खासगरी भूकम्पपश्चातको पुनर्निर्माणमा केन्द्रित भएर काम गरिनेछ। नगरपालिकामा रहेको खानेपानीको समस्यालाई हल गर्नका लागि मुहान तथा लिफ्टिङ प्रविधिमार्फत खानेपानीको सहज आपूर्ति गरिनेछ। सडकको स्तरोन्नति गरिनेछ। 

जिल्ला अस्पताललाई कमसेकम पनि ५० शैयाको सुविधासम्पन्न रूपमा विकसित गरिनुका साथै आवश्यक स्थानहरूमा सामुदायिक स्वास्थ्य केन्द्र स्थापना गरिनेछ। उच्चमाध्यमिक तहसम्म शिक्षालाई निःशुल्क गर्नका लागि विशेष कार्यक्रम संचालन गरिनेछ। कृषिलाई आधुनिकीकरण तथा व्यावसायीकरणका लागि ठोस योजना संचालन गरिनेछ। 

प्रत्येक वडामा खेलमैदान, खुला तथा सुरक्षित क्षेत्र निर्माण गर्नुका साथै ग्रिन रोड, पार्क, उद्यान निर्माणका कार्यक्रम संचालन गरिनेछ। आगामी तीन वर्षभित्र नगरपालिका केन्द्रमा जनप्रशासन भवन, सभा भवन, विभागीय भवन, एकीकृत सेवा केन्द्र, अस्पताल, सामुदायिक सेवा भवन र सुरक्षा चौकीहरू निर्माण गरिनेछ। 
  
उल्लेखित योजनाहरू पूरा गर्नका लागि हामी निर्वाचित हुनु जरुरी छ तर यो भनेर हामी निर्वाचित भएनौँ भने यी योजनालाई अलपत्र छाडेर भाग्छौँ भन्ने होइन। चौतारा साँगाचोकगढीको विकास र समृद्धिमा हामी निरन्तर लागिरहनेछौँ।

अनि सम्भावना नि?

यो नगरपालिका सुनकोशीको तीरदेखि स्याउलेको शिरसम्म फैलिएको छ। बलेफी, ईन्द्रावती, याडी खोलाले घेरेको यस भूगोलमा अथाह सम्भावना छन्। यसभित्रका सम्भावनालाई पहिचान गरी स्रोत र साधनको समुचित परिचालनमार्फत् नगर विकास गर्न सकिन्छ। जल, जमिन र जडिबुटीको प्रवद्र्धन गरी युवाहरूलाई स्थानीयस्तरमै रोजगारीको अवसरसमेत सिर्जना गर्न सकिन्छ। हामीसँग स्रोत साधन पर्याप्त छ। खाँचो योजना र कार्यान्वयनको मात्र हो, जुन कुरा हामी पूरा गर्नेछौँ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.