|

  • रमेश रावल-

कालिकोट: जिल्लाको पलाता गाउँपालिका– ५ खाडा र बन्जडा गाउँका स्थानीयवासीहरूले चुनावमा भोट माग्न आउने उम्मेदवारहरूसँग पञ्चायतकालदेखि नै खानेपानीको माग गर्दै आएका छन्। गाउँमा खानेपानीको निकै ठूलो समस्या भएका कारण विगतदेखि नै खानेपानीको माग गर्दै आएका हुन्।

गाउँमा खडेरीको समस्या निकै हुने र गाउँमा खानेपानीका गतिलो मुहान र योजना नहुँदा खानेपानीको समस्या भएको स्थानीय बताउँछन्।

पंचायतकालदेखि नै गाउँमा मत माग्न आउने नेताहरूसँग खानेपानीको माग गर्ने गरेका तर जितेर जाने कसैले पनि आफ्नो मागको सुनवाई नगरेको स्थानीय राधा नेपालीले बताइन्। ‘भोट माग्न आउनेसँग खानेपानीको माग गर्दै आएका छौँ’, उनले भनिन्, ‘तर, कसैले पनि सुनुवाइ गरेन।’

खानेपानीको योजना छ तर अहिलेसम्म काम भएन

स्थानीयको मागअनुसार खानेपानीको योजना भए पनि अहिलेसम्म खानेपानी योजनाको काम अगाडि बढ्न सकेको छैन्। खानेपानी योजना काम अगाडि नबढ्दा गाउँमा खानेपानीको निकै समस्या हुने गरेको छ।

गाउँमा निर्माणाधीन अवस्थामा रहेको बुड्ने खानेपानी योजना दशक बित्दासमेत नबनेपछि गाउँमा खानेपानीको हाहाकार भएको स्थानीयको भनाइ छ।

गाउँमा खडेरीको समस्याले खानेपानी नहुने साथै वर्सेनि खानेपानीको हाहाकार भए पनि धौलागोह गाविसमा संचालित बुड्ने खानेपानी आयोजना निर्माण नहुँदा निकै सास्ती पाएको रुगुविना प्याकुरेलले बताइन्। ‘दैनिक एक बाल्टीभन्दा बढी पानी भर्न नपाइने नियम लगाउँदा बच्चाबच्चीले मुख नधोईकन विद्यालय जानुपरेको छ’, उनले भनिन्।

खानेपानीका लागि रातभर धारामै बास बस्नुपर्ने अवस्था रहेको स्थानीय कलशा प्याकुरेलले बताइन्। ‘दिनमा पानी भर्न पालो नआएका अधिकांश स्थानीय नागरिक राती बास बसेर पानी भर्ने गरेका छन्’, उनले भनिन्।

विगत नौ वर्षदेखि निर्माणाधीन बुड्ने खानेपानी योजनामा वर्सेनि बजेट आउने गरेको, योजनाको पैसा गाउँका ठूलाबडाहरूले थोरै बाँडीचुँडी खाने गरेकाले र गाउँमा काम नभएका कारणले उक्त बजेट पनि फ्रिज भएर जाने गरेको जिल्ला खानेपानी सब डिभिजन कार्यालय कालिकोटका सूचना अधिकारी देवानन्द धितालले बताए। ‘गत आर्थिक वर्षको काम नहुँदा ५५ लाख रुपैयाँ बजेट फ्रिज भएको छ’, उनले भने, ‘यो आर्थिक वर्षमा पनि उक्त खानेपानी आयोजनामा मात्र ५० हजार रुपैयाँ बजेट छ।’ 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.