|

काठमाडौं : वैशाख ३१ गते प्रदेश नम्बर ३, ४ र ६ का ३४ जिल्लाका २८३ स्थानीय तहमा पहिलो चरणको स्थानीय तह निर्वाचन हुँदैछ। मतदानमा कूल ४९ लाख ५६ हजार ९२५ मतदाता सहभागी हुँदैछन्।

कसरी गर्ने मतदान?

गाउँपालिका र नगरपालिका (महानगरपालिका, उपमहानगरपालिका र नगरपालिका) को निर्वाचनमा अध्यक्ष वा प्रमुख, उपाध्यक्ष वा उपप्रमुख, वडा अध्यक्ष, महिला वडा सदस्य, दलित महिला सदस्य र अन्य दुई वडा सदस्यका लागि ६ वटा मतपत्र एउटै पानामा व्यवस्था गरिएको हुन्छ। यस्तो मतपत्रमा ७ वटा ठाडो लाइन हुन्छ र यसमा उम्मेदवारको निर्वाचन चिह्न राखिएको हुन्छ।

अध्यक्ष वा प्रमुख : पहिलो ठाडो लाइनमा रहेका निर्वाचन चिह्नहरू मध्ये एक निर्वाचन चिह्नमा मात्र स्वस्तिक छापले मत संकेत गरी अध्यक्ष वा प्रमुखको लागि मतदान गर्ने।

उपाध्यक्ष वा उपप्रमुख : दोस्रो ठाडो लाइनमा रहेका निर्वाचन चिह्नहरू मध्ये एक निर्वाचन चिह्नमा मात्र स्वस्तिक छापले मत संकेत गरी उपाध्यक्ष वा उपप्रमुखको लागि मतदान गर्ने।

वडा अध्यक्ष : तेस्रो ठाडो लाइनमा रहेका निर्वाचन चिह्नहरू मध्ये एक निर्वाचन चिह्नमा मात्र स्वस्तिक छापले मत संकेत गरी वडा अध्यक्षको लागि मतदान गर्ने।

महिला वडा सदस्य : चौँथो ठाडो लाइनमा रहेका निर्वाचन चिह्नहरू मध्ये एक एक निर्वाचन चिह्नमा मात्र स्वस्तिक छापले मत संकेत गरी महिला वडा सदस्यको लागि मतदान गर्ने।

दलित महिला वडा सदस्य : पाँचौ ठाडो लाइनमा रहेका निर्वाचन चिह्नहरू मध्ये एक निर्वाचन चिह्नमा मात्र स्वस्तिक छापले मत संकेत गरी दलित महिला वडा सदस्यको लागि मतदान गर्ने।

खुला वडा सदस्य : छैठौँ र सातौँ ठाडो लाइनमा रहेका निर्वाचन चिह्नहरू मध्ये कुनै दुई निर्वाचन चिह्नमा मात्र स्वस्तिक छापले मत संकेत गरी अन्य दुई वडा सदस्यहरूको लागि मतदान गर्ने।

सातौँ लाइनमा किन  दुईवटा चिह्न?

पहिलो लाइनदेखि छैठौं कोठासम्म एक-एक चिह्न रहेपनि सातौँ कोठामा दुईवटा मतचिह्न छन्। सातौं कोठामा दुईवटा मतचिह्न हुँदा मतदातामा अन्यौलता भएको निर्वाचन आयोगले नै स्वीकारेको छ। आयोगले अन्यौलता समाधान गर्न मतदान केन्द्रमा नमूना मतदान पनि गराइरहेको छ।  नमूना मतदान कार्यक्रमपछि मतदातामा अन्यौलता निवारण भएको आयोगका सचिव गोपीनाथ मैनालीले जानकारी दिए।

निर्वाचन आयोगका अनुसार दुईवटा चुनाव चिह्न मतदातालाई उम्मेदवार चिन्नका लागि सहज होस् भनेर राखिएको हो। नेपाली वर्णानुक्रम (अल्फाबेटिकल अर्डर) अनुसार पहिले आउने नामको लागि छैठौँ कोठा र पछि आउने नामका लागि सातौँ कोठामा मतदान गर्ने हो।

मानौँ, तपाईँको वडामा खुला वडा सदस्यमा एउटा पार्टीबाट उमेश सत्याल र मनिष कुमाल उम्मेदवार छन् भने अर्को पार्टीबाट भोजबहादुर वाग्ले र  मनोज श्रेष्ठ उम्मेदवार छन्। यी चार मध्ये तपाईँले मतदान गर्न पाउने दुईजनालाई हो।

पहिलो पार्टीबाट तपाईँलाई उमेश सत्याललाई भोट हाल्न मन लाग्यो र दोस्रो पार्टीबाट मनोज श्रेष्ठलाई। पहिलो पार्टीका उमेश र मनिषमध्ये उमेशको नामको पहिलो अक्षर 'उ' नेपाली वार्णुनुक्रममा मनिषको 'म' भन्दा पहिले आउँछ। त्यसैले उमेशको चुनाव चिह्न छैठौँ कोठामा रहेको एउटामात्र चिह्न भयो भने मनिषको सातौँ कोठामा रहेको दुईवटा चुनाव चिह्न भयो।

यस्तै दोस्रो सदस्यका लागि भोजबहादुर र मनोजमध्ये तपाईँले मनोजलाई भोट दिने विचार गर्नुभयो। भोजबहादुरको पहिलो अक्षर 'भ' मनोजको पहिलो अक्षर 'म' भन्दा पहिला आउँछ। त्यसैले छैठौँ कोठाको एक चुनाव चिह्न भोजबहादुरको भयो भने दुईवटा चिह्न मनोजको।  

'वर्णानुक्रमअनुसार पहिले उच्चारण हुने नामको मत छैठौँ कोठाको हुनेछ भने दोस्रो उच्चारण हुने नामको मत सातौँ कोठाको हुनेछ’, आयोगका सचिव गोपीनाथ मैनालीले भने, 'मतदातालाई कुन उम्मेदवारलाई भोट हाल्दैछु भन्ने जानकारी दिन यो व्यवस्था गरिएको हो।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.