|

काठमाडौं : नेपाली कांग्रेसका नेता एवं पूर्व उपप्रधानमन्त्री कृष्णप्रसाद सिटौला स्थानीय निर्वाचनको संघारमा आएर माओवादी केन्द्रको नेतृत्वमाथि निकै आक्रामक देखिएका छन्।

माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन सक्रिय भूमिका खेलेका पूर्व गृहमन्त्रीसमेत रहेका सिटौलालाई प्रमुख प्रतिपक्षी एमालेप्रति लचिलो बनेको आरोप लागिरहँदा सिटौलाले माओवादी केन्द्रसँग कांग्रेसले कतिपय स्थानीय तहमा समीकरण गरेको भए पनि माओवादीप्रति नै उनी बढी आक्रामक भएका हुन्।

नेपाली कांग्रेस ललितपुर दुई नम्बर क्षेत्रीय समितिले महालक्ष्मी नगरपालिकामा आयोजना गरिएको चुनावीसभामा भने, ‘माओवादी पार्टी कार्यकर्ताको काँधमा चढेर नेताले आराम गर्ने थलो बनेको छ।’

कांग्रेस ललितपुरका सांसद मदन अमात्य, चन्द्र महर्जन, पूर्व सांसद रामकृष्ण चित्रकारलगायतले संवोधन गरेको कार्यक्रममा सिटौलाले भने, ‘माओवादीका कार्यकर्तालाई म सोध्न चाहन्छु, बन्दुक बोक्नुभयो, सत्ता आउँछ भनेर, त्यही बन्दुकको हिंसा र द्वन्द्वले नेपाली जनताले के पाए?’

उनले माओवादी द्वन्द्वले नेपाली जनताको प्राण लिएर विधुवा, टुहुरो र अनाथ बनाउने काम मात्र गरेको बताए। ‘माओवादी कार्यकर्तालाई भन्नुस् अब कांग्रेसमा आउनुस्। कांग्रेस आज जे भन्छ, त्यही गर्छ भोलिका दिनमा पनि। तपाईंलाई छलछाम गर्नु छैन। माओवादीलाई दिएर भोट किन खेर फाल्नुहुन्छ।’

उनले भने, ‘कांग्रेसले नेतृत्वको गरेको विचारअनुसार शान्ति, लोकतन्त्र, संसदीय सर्वोच्चताको बाटोमा तपाईंको पार्टी (माओवादी) र नेता नै आइसके भने तपाईंहरू किन त्यहाँ बस्नुहुन्छ, आउनुहोस् कांग्रेसमा। संविधानमै हेर्नुस् न, शान्ति, संसदीय लोकतन्त्र र समाजवाद छ। संविधानमा मार्क्सवाद, लेनिनवाद र माओवाद कहीँ पनि छैन।’

उनले कांग्रेसका उम्मेदवारले जित्दा मात्र जनताले जित्ने दाबी गर्दै कांग्रेसका नेता आफ्ना स्वार्थसिद्धीको लागि कुनै ठूलो महल बनाउन, महङ्गो गाडी चढ्न वा ऐस आरामको लागि राजनीतिमा नलागेको दाबीसमेत गरे। 

नेपालको राजनीतिमा कांग्रेसले जे चाह्यो, त्यही हुने गरेको दाबी गर्दै कांग्रेसले भनेको नमान्दा र नटेर्दा राणा शासन, राजसंस्था समाप्त भएको र तत्कालीन राजा ज्ञानेन्द्रको गद्दी खोसिएको उदाहरण दिए सिटौलाले। उनले भने, ‘माओवादीले पनि बन्दुक देखाएर तर्साउँथे, हामीले बन्दुक पनि खोस्यौँ र शान्ति प्रक्रियामा ल्यायौँ।’

२०६५ सालमा संविधानसभाले गणतन्त्र घोषणा गरेपछि माओवादीका दुई जना र एमालेका तीन जना प्रधानमन्त्री भए पनि कसैले परिवर्तन ल्याउन र संविधान जारी गर्न नसक्दा कांग्रेसबाट मात्रै सम्भव भएको उनले बताए। 

माओवादी पार्टीलाई जंगलबाट ल्याएर शिविरमा पालेर राख्ने काम कांग्रेसले गरेको दाबी गर्दै सिटौलाले भने, ‘मुलुकमा दिनरात रक्तपात चलिरहँदा हजारौँ मान्छे मरे। तत्कालीन पार्टी सभापति गिरिजाबाबुले जो मरे पनि नेपाली मरिरहेको र नेपाली मर्नु भनेको नेपाली आमाको मृत्यु हुनु हो भन्ने बुझेर माओवादीलाई शान्ति प्रक्रियामा ल्याउनुभएको हो।’

गिरिजाप्रसाद कोइराला पार्टीका कार्यक्रम लिएर जहाँ गए पनि आँखाभरी आँसु पारेर जनताले ‘गिरिजाबाबु हामीलाई विकास निर्माण वा जागिर केही चाहिएन, बाँच्न पाइयोस्’ भन्न थालेपछि माओवादी हिंसा मुलुकबाट अन्त्य गर्ने संकल्प गिरिजापंसादले गरेको दाबी पनि उनले गरे। सिटौलाले गिरिजाप्रसाद कोइरालाले प्रचण्डलाई शान्ति प्रक्रियाको बाटोमा अघि बढ्नुस्, सहयोग गर्छु भन्दा नमानेर सेनामा हात हालेर देशै कब्जा गर्न खोज्दा सत्ता गुमाएको नभुल्न चेतावनीसमेत दिए।

जनताले संविधानसभाको पहिलो निर्वाचनमा कांग्रेसलाई हराउँदा चार जना कम्युनिष्ट नेताले संविधान दिन नसकेको अवस्थामा जनताले दोस्रो संविधानसभामा कांग्रेस पहिलो दल बनाएपछि संविधान ल्याएको उनले दाबी गरे। ‘हाम्रो पार्टी गर्ने धेरै, बोल्ने थोरै तर कम्युनिष्ट पार्टीहरू गर्ने थोरै, बोल्ने धेरै’, सिटौलो भने ‘कांग्रेसको कमजोरी भनेकै यही हो।’ उनले जहाँ समस्या, अभाव, अशान्ति र गरिवी छ, त्यहाँ जनताले कांग्रेसलाई खोजिरहेको पनि बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

कमेन्ट

  • देशकै ठूलो पार्टीनेपाली कंग्रेस लाई नेता जी हरूले बाउको विर्ता सम्झेर सत्ता संग साटदै माओवादी लाई भोट दिनोस भनेर भनेको सुन्दा त बरू कंग्रेस माओवादीमा ......जस्तो देखियो नि ?

  • मालिक साहेब ,काम र कूरा एकै प्रकारको गर्नलाई के ले छेक्छ तपाईंलाई???

  • अनि तपाई कै नेताले किन माआेवादीलाई भोट हालनु भनेको नि ? तेसो भए नेपालभरि कै माआोवादीलाई भोट दिए भै गयो नि ? येसता कुरामा किन मौन् अनय भनौदा नेताहरू..........