सुर्खेत : जिल्ला अदालत सुर्खेत र जिल्ला प्रहरी कार्यालय सुर्खेतले फरार अभियुक्तको सूचीमा राखेका एक व्यक्ति स्थानीय तह निर्वाचनमा गाउँपालिकाको अध्यक्षका उम्मेदवार छन्। नेपाली कांग्रेसका तर्फबाट चिंगाड गाउँपलिकाको अध्यक्ष पदका उम्मेदवार रहेका देवबहादुर चन्द फरार सूचीमा छन्।
२०३८ साल भदौ १५ गते जिल्ला अदालत सुर्खेतले उनीमाथि गाँज-चरेस काण्डमा ३ वर्षको जेल सजाय सुनाएको थियो। तर उनी जेल सजाय भक्तान गर्नुको सट्टा फरार भए।
उनीसँगै सोही स्थानका बलबहादुर चन्दलाई पनि चरेस मुद्दामा ३ वर्षका लागि जेल सजाय सुनाईएको थियो । यही मुद्दाका सन्दर्भमा जिल्ला अदालत सुर्खेतले साबिकको मटेला गाविसको कार्यालयका नाममा २०७२ चैत्र २५ गते आवश्यक विवरण खुलाई पठाउनका लागि चिठी समेत पठाएको थियो।
दर्ता नम्बर ११ र चलानी नम्बर ३४७१ रहेको सो पत्रमा भनिएको छ, 'निजहरुलाई कैदको सजाय भई हालसम्म निजहरु फरार कायमै रहेको र पुराना फर्छयौट गर्नेतर्फ कारबाही चलिरहेको हुँदा यकीन विवरणको आवश्यक परेको र निजहरु जीवित वा मृत्यु भइसकेको के छ वा बसाईसराई गएको हो होइन खुलाई पठाईदिन अनुरोध छ।'
तर यो पत्रका बारेमा तत्कालीन मटेला गाविसका कर्मचारीहरुले अदालतलाई कुनै पनि विवरण पठाएनन्। गाविसका कर्मचारीहरुले नै सूचना लुकाएपछि चन्दको घटना गुपचुपमै रह्यो। अहिले चन्द गाउँपालिकाको उम्मेदवार बनेपछि सबै रहस्य बाहिर आयो।
जिल्ला प्रहरी कार्यालय सुर्खेतले चन्द फरार सूचीमा रहेको स्विकारेको छ। चन्दको मिसीलका बारेमा जिल्ला अदालत सुर्खेतमा पटकपटक बुझ्न खोज्दा मिसील प्राप्त हुन नसकेकाले जिल्ला अदालतले आवश्यक सुचना दिएको थिएन।
अदालतका कर्मचारीहरुले मिसिल धेरै पुरानो मितिको भएका कारण कतै हराएको या नष्ट भएको हुनसक्ने भन्दै मिसिल दिन पन्छीरहेका थिए। जिल्ला प्रहरी कार्यालयले चन्दलाई पक्राउ गर्न पटक-पटक पत्र पठाएपनि प्रहरीसँगकै मिलेमतोका कारण चन्द पक्राउ परेका थिएनन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।