ललितपुरका अन्य स्थानीय तह पनि जित्ने एमालेको दाबी

|

काठमाडौँ: पहिलो चरणको स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गर्दा मुख्य प्रतिपक्षी दल नेकपा एमाले चुनावमा आफू पहिलो पार्टी हुने योजनाका साथ लागिरहेको छ। राजधानीका मुख्य दुई महानगर काठमाडौँ र ललितपुर महानगरलाई एमालेले विशेष महत्त्वका साथ हेरेको छ। 

एमाले ललितपुरका पुराना नेता तथा हाल एमाले जिल्ला अध्यक्ष हरिकृष्ण ब्यञ्जनकारलाई ललितपुर महानगरपालिकाको प्रमुखको उम्मेदवार बनाएको एमालेले राप्रपासँगको गरेको चुनावी तालमेलका कारण उपप्रमुखमा भने बाबुकाजी प्रधान उम्मेदवार छन्। 

बुङ्मती निवासी हरिकृष्ण लामो समयदेखि पार्टीमा क्रियाशील तथा स्वच्छ छवि भएका व्यक्ति भएका कारण ललतिपुर प्रमुख एमालेले नै जित्ने एमालेको दाबी छ। 

जिल्लामा खानेपानी, ढल निकास, बाटोघाटो, युवालाई रोजगारी, वृद्ध भत्तालाई स्थानीय तहमै वृद्धि गर्नेलगायतका विषयलाई प्राथमिकतामा राखेर उनले प्रचार अभियान तीब्र बनाएका छन्। ललितपुर महानगरपालिकामा उपमेयरमा राप्रपासँगको तालमेललाई सार्थक बनाउन दुई पार्टीका कार्यकर्ताले चुनावी तयारी तीब्र पारेका छन्।

यस्ता छन् ललितपुरका प्राथमिकता?

ललितपुरमा १८ घण्टा सुविधासम्पन्न ट्राम चल्ने योजनासहित २४सै घण्टा उज्यालो रहने महानगर बनाउने योजना एमालेले अगाडि सारेको छ। नागरिकलाई समृद्ध बनाउन पूर्वाधारको विकासमा ध्यान दिँदै महानगर क्षेत्रभित्रका साँघुरा सडकलाई फराकिलो बनाउने एमाले उम्मेदवार हरिकृष्ण बताउँछन्। सडक वरिपरि रहेका अव्यवस्थित तार तथा पोलहरूलाई व्यवस्थित गर्दै अण्डरग्राउण्ड वायर सिस्टम विकास गर्ने उनको योजना छ।

सबै सडकमा सौर्य सडक बत्तीको व्यवस्था गरी झिलिमिली बनाउने उनले बताए। साथै धूवाँ, हिलो र धूलोमुक्त बनाएर मेलम्चीलगायतका अन्य विकल्पको व्यवस्थापनसँगै खानेपानीको पर्याप्त आपूर्तिसहित एक वर्षभित्र अन्य पूर्वाधारको व्यवस्थापन गरिने हरिकृष्णका योजना छन्।

सम्पदाको संरक्षणलाई प्राथमिकता दिँदै अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनासहितको एकीकृत विकास सूचना केन्द्रसहितको उच्च प्रविधियुक्त सभा हलको निर्माण प्राथमिकतामा हुनेछन्। नमुना यातायातको रूपमा कुपण्डोलदेखि गोदावरीसम्म ट्राम सञ्चालन गरी विद्युतीय परिवहनलाई विशेष प्राथमिकता दिइने पनि उनले बताए। 

हरेक वडामा बालबालिका र ज्येष्ठ नागरिकहरूका लागि मनोरञ्जनका लागि पार्क र मनोरञ्जनस्थलहरूको निर्माण गरी महानगरभित्रका सम्पूर्ण पोखरी नौका विहारका लागि उपयुक्त बनाइने उनी बताउँछन्। 

महानगरभित्र पर्ने खोलानालाको सफाई गरी किनारामा पार्क निर्माण गरेर सुन्दर महानगर बनाइने र नगरभित्र विशेष व्यापारिक क्षेत्र निर्माण गरी घण्टाका आधारमा काम गर्ने अवस्था निर्माण गरिने ब्यञ्जनकार बताउँछन्। 

युवालाई लक्षित गरी सीप र स्रोतका आधारमा स्वरोजगार बनाउने कार्यक्रम ल्याइने पनि उनको सोच छ। अबको पाँच वर्षमा पर्यटकको आगमनले खचाखच भएको २४ घण्टा चहलपहल हुने, १८ घण्टा ट्राम चल्ने झिलिमिलीयुक्त सुरक्षित ललितपुर महानगर बनाइने दाबी पनि उनले गरे। 

सुरक्षाका लागि सीसीटीभी र सेक्युरिटी साइरनको व्यवस्था गरिने, नागरिकलाई आफूले तिरेको करको सदुपयोग भएको अनुभूति दिलाउने गरी पारदर्शी र झन्झटमुक्त प्रशासनिक सेवाको व्यवस्थापन गरिने, करको सदुपयोग र बाह्य लगानी तथा अनुदान भित्र्याउने काम गरिने उनका योजनाअन्तर्गत परेका छन्।

कला, संस्कृति, धार्मिक तथा पुरातात्त्विक महत्त्वका वस्तुलाई पर्यटकीय आकर्षणको रूपमा विकास गरिने उनले बताए। नगरभित्रका महत्त्वपूर्ण वहाल, विहार, पोखरी, ढुंगेधाराहरूलाई संरक्षण र विकास गरेर पर्यटकीय महत्त्वका क्षेत्रका रूपमा विकास गरिने उनको योजना छ। 

'महानगरभित्रको पाटन दरबार स्क्वायरदेखि हरिसिद्धि, धापाखेल हुँदै खोकना बुङमतीसम्मको सम्पूर्ण क्षेत्रलाई समेटेर पर्यटन क्लष्टरको रूपमा विकास गरेर विदेशी पर्यटकले कम्तिमा महानगर क्षेत्रभित्र तीन दिन बस्ने अवस्थाको सिर्जना गर्नेछौँ', हरिकृष्णले भने, 'यसका लागि पाँचतारे होटल स्थापना गर्ने वातावरणदेखि महानगरभित्रका सांस्कृतिक महत्त्व झल्कने स्थापना कलात्मक घरहरूलाई सम्पदा घर (हेरिटेज होम) संचालनलाई प्रोत्साहन गरिनेछ।'

'ललितपुर महानगरसँगै २९ वटै वडा जित्छौँ'

ललितपुर महानगर प्रमुखका उम्मेदवार हरिकृष्ण ब्यञजनकार ललितपुर महानगरसँगै महानगरका २९ वटै वडामा एमालेको जीत सुनिश्चित भइसकेको दाबी गर्छन्।

२० वर्षपछि हुन लागेको स्थानीय निर्वाचनमा यसअघि एमालेले जनतालाई नीति कार्यक्रममार्फत् दिएको विश्वास नबिर्सिने उनको विश्वास छ। 'अहिले मत एमालेको पक्षमा छ। त्यो एमालेलाई दिएको राम्रो कामका आधारमा भएको हो', उनले भने, 'यसपालि एमालेको नै जीत सुनिश्चित छ। एमाले बहुमतका साथ अगाडि आउँछ।'

महानगरसहित दुई नगर र पाँच गाउँपालिका पनि एमालेकै

ललितपुर जिल्लामा रहेको ललितपुर महानगरसहित गोदावारी र महालक्ष्मी नगरपालिका तथा अन्य पाँचवटा गाउँपालिका पनि एमालेले जित्ने एमालेको दाबी छ। ती सबै स्थानमा विजय हुन एमालेले आफ्नो अभियान तीब्र पारेको एमाले ललितपुरका प्रचार विभाग प्रमुख अमृतनाथ तिमल्सिना बताउँछन्। यसअघिका स्थानीय निर्वाचनमा ललितपुर उपमहानगरमा एमाले विजय भइसकेको र यसपालि पनि आफ्नो विजय सुनिश्चित भएको उनले बताए। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.