|

विश्वराज पछल्डङ्ग्या-

    बाँके : बाँके जिल्लाको कर्णाली क्षेत्र भनेर चिनिने बघौडा क्षेत्रका मतदाताले विद्युतलाई पहिलो प्राथमिकतामा राखेका छन्। गाउँका लागि विद्युत् अहिलेको सबैभन्दा महत्वपूर्ण आवश्यकता रहेको हुनाले आफूहरुको पहिलो माग विद्युतीकरण रहेको नरैनापुर गाउँपालिका–५, मटेहियाका अरुणकुमार यादवले बताए। ‘बिजुलीका लागि हामीले धेरै नेताको आश्वासन पायौं, तर, अहिलेसम्म विद्युत् आएन, अब हामीले झुठा र उधारो आश्वासनले मान्ने छैनांै,’ उनले भने।

    चुनावी प्रचारप्रसारमा आएका राजनीतिक दलका नेताहरुले हुलाकी सडक छिटो निर्माण गर्ने, नदी नियन्त्रणका लागि पक्की तटबन्ध बनाउने र विद्युतीकरण गर्ने आश्वासन दिने गरेको नरैनापुर गाउँपालिका–५ का श्यामता प्रसाद यादवले बताए।

    उनले पहिलेको जस्तै अहिले पनि राजनीतिक दलहरुले विद्युतीकरण, सडक र बाढी नियन्त्रणलाई आफ्नो चुनावी नारा बनाएको जानकारी दिए।

    ‘गाउँमा आउने सबैजसोले ‘सडक पहिलो र विद्युतीकरणलाई दोस्रो प्राथमिकतामा पारेर भोट मागिरहेका छन्,’ उनले भने, ‘हामीले अहिले उधारो आश्वासन होइन स्पष्ट खाका ल्याएर आउनुस् भनेका छौं।’

    सबै राजनीतिक दलले विद्युतीकरण र हुलाकी सडकलाई मुख्य नारा बनाएका छन्। अघिल्ला स्थानीय, संसदीय, र संविधान सभा निर्वाचनमा पनि राजनीतिक दलहरुले यस्तै आश्वासन बाँडेको उनले बताए।

    चुनावी अभियानका क्रममा राजनीतिक दलहरुले आश्वासन बाँडे पनि मतदाताले विश्वास गर्न सक्ने अवस्था नरहेको मटेहियाका गुरुमुरत यादवले बताए। उनले राजनीतक दलका नेताहरु निर्वाचनमा बाँडेका आश्वासन पूरा नगरेका कारण अहिले पनि विश्वास गरिहाल्ने अवस्था नरहेको बताए।

    ‘चुनावका बेला राजनीतिक दलहरुले आश्वासन बाँड्छन्, जितेर गएपछि फर्केर आउँदैनन्, अहिले आश्वासन बाँड्नेहरुको विश्वास पनि गरिहाल्ने अवस्था छैन,’ उनले गुनासो गरे।

    २२ वर्षदेखिको योजना पूरा गर्ने प्रतिबद्धता माग                                                                

    प्रेमबहादुर भण्डारी कृषि मन्त्री भएको बेला उनले २०५१ सालमा बघौडा र सुनारी क्षेत्रीमा विद्युत् पोल गाडे पनि विद्युत्का लागि कुनै राजनीतिक दल र नेताले अहिलेसम्म पहल नगरेको श्यामताप्रसाद यादवले बताए।

    विद्युतीकरणका लागि स्थानीय र गाविस कार्यालयले रकम प्रदान गरे पनि राजनीतिक दलको उदासीनताका कारण विद्युत् आउन सफल हुन नसकेको यादवले बताए। उनले राजनीतिक दलले चासो नदिएका कारण आफूहरुले २२ वर्षदेखि प्रतीक्षा गरेको बिजुली अहिलेसम्म उपभोग गर्न नपाएको बताए।

    ‘राजनीतिक दलले विद्युतिकरणलाई चुनावी मुद्धामात्र बनाए, चुनाव जितेपछि यतातिर ध्यानै दिँदैनन्, अब भने हामीलाई आश्वासन होइन काम गरेर देखाउने उम्मेदवार चाहिएको छ,’ यादवले भने, ‘वर्षौंदेखि उज्यालोको सहारामा बसेका हामीलाई अरुभन्दा बिजुली चाहिएको छ।’

    तपाईको प्रतिक्रिया दिनुहोस्

    तपाईंको ईमेल गोप्य राखिनेछ ।
    This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.