प्रधानमन्त्री परिवारले भरतपुरबाट मतदान गर्ने

|

काठमाडौँ: बैशाख ३१ गते हुन लागेको पहिलो चरणको स्थानीय तह निर्वाचन आउन अब दुई दिन मात्र बाँकी छ। बुधबार राती १२ बजेदेखि निर्वाचन आयोगले मौन अवधि लागू गरेको छ। यो अवधिमा उम्मेदवारहरूले चुनावी प्रचार-प्रसार बन्द गरेका छन्। दुई दशकपछि हुन लागेको स्थानीय तह निर्वाचन कस्तो होला र कसले बाजी मार्ला भन्ने कुरा जति चासोका साथ हेरिएको छ, उत्तिकै चासो पार्टीका प्रभावशाली नेताले कहाँबाट मतदान गर्दै छन् भन्ने कुरामा पनि छ। 

प्रधानमन्त्री प्रचण्डका परिवारको मतदान केन्द्र भरतपुरमा

प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनको भरतपुर महानगरपालिका- ४, लंकुमा रहेको लक्ष्मी मावि मतदान केन्द्रमा गएर भोट हाल्नेछन्। प्रधानमन्त्री प्रचण्ड पुत्री रेणु दाहालका पक्षमा मतदान गर्न चितवन जानेछन्। भरतपुर महानगरपालिकामा प्रमुख पदका लागि गोलाकारभित्रको हँसिया हथौडामा भोट हाल्ने प्रचण्डले उपप्रमुखमा भने रूख चिह्नमा मतदान गर्नेछन्। भरतपुरमा माओवादी केन्द्रले नेपाली कांग्रेससँगको समीकरणमा चुनाव लड्ने भएको छ।

प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव प्रकाश दाहाल र प्रशासनिक सल्लाहकार नारायण दाहालले पनि लंकुमा रहेको सोही मतदान केन्द्रबाट मतदान गर्नेछन्। प्रकाश प्रधानमन्त्रीका छोरा हुन् भने नारायण दाहाल भाइ हुन्। महानगर प्रमुखकी उम्मेदवार रेणु दाहाल र उनकी बहिनी गंगा दाहालले पनि सोही केन्द्रबाट मत खसाल्नेछन्। प्रधानमन्त्री पत्नी एवं माओवादी केन्द्रकी सल्लाहकार सीता दाहालले भने १४ नम्बर वडाको शिवनगरमा रहेको नारायणी विद्या माविबाट भोट खसाल्नेछिन्। 

नारायणकाजी गोरखाको जौवारीबाट, जर्नादन रुकुमको मुसिकोटबाट

माओवादी केन्द्रका प्रभावशाली नेता नारायणकाजी श्रेष्ठ भोट हाल्न गोरखाको सिरानचोक गाँउपालिका- ८ मा रहेको जौवारी मतदान केन्द्र पुग्नेछन्। 

माओवादी प्रवक्ता पम्फा भुसालले ललितपुर महानगरपालिका- २ कुपण्डोलको मतदान केन्द्रबाट भोट हाल्ने भएकी छन्। ललितपुर महानगरपालिका प्रमुखमा माओवादी केन्द्रका दिनेश महर्जनले उम्मेदवारी दिएका छन्। 

अर्का नेता देवप्रसाद गुरुङले मनाङको नासोङ गाँउपालिका- ४ मा रहेको सरस्वती प्रावि मतदान केन्द्रमा भोट खसाल्नेछन्। त्यसका लागि नेता गुरुङ केही दिन अगाडि नै मनाङ पुगेका छन्। नासोङ गाउँपालिकामा एमाले र माओवादी केन्द्रका बीच तालमेल हुन लागेको छ। अध्यक्ष पदमा माओवादी केन्द्रले उम्मेदवारी दिएको छैन भने उपाध्यक्षमा एमालेले उम्मेदवारी दिएको छैन।

ऊर्जामन्त्रीसमेत रहेका माओवादी केन्द्रका नेता जनार्दन शर्मा प्रभाकर रुकुममा छन्। उनी मुसिकोट नगरपालिका- २ सेरीगाउँ, यमुनानन्द नमुना मावि मतदान केन्द्रमा मतदानमा सहभागी हुनेछन्। मन्त्री शर्मा चुनावी प्रचार-प्रसारका लागि एक हप्ताअघि नै रुकुम पुगिसकेका छन्। माओवादी नेता हरिबोल गजुरेलले सिन्धुलीको कमलामाई नगरपालिका- ४ मा रहेको कमला उमावि मतदान केन्द्र ढुंग्रीबासबाट मतदान गर्दै छन्। कमलामाई नगरपालिकामा माओवादी नेतृ सावित्री पाण्डे गजुरेल प्रमुखको उम्मेदवार छन्। उनी गजुरेलकी पत्नी हुन्।

अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका- ४ मा रहेको सेतीदेवी मावि मतदान केन्द्रबाट मतदान गर्दै छन्। 

पूर्व गृहमन्त्री शक्ति बस्नेतले जाजरकोटको भेरी नगरपालिका- १ मा रहेको बागेश्वरी मावि मतदान केन्द्र पिपेबाट मतदान गर्ने भएका छन्। नेतृ सत्या पहाडीले पनि सोही स्थानबाट मतदान गर्ने छन्। दिनानाथ शर्माले बागलुङ नगरपालिका- १२ अमलाचौरमा रहेको अमलाचौर मतदान केन्द्रबाट मतदान गर्नेछन्। 

त्यस्तै अर्का नेता लीलामणि पोखरेलले काठमाडौँ महानगरपालिका- ३२ कोटेश्वरमा रहेको साविकको त्रिदेवी स्कुल (कश्मिक इन्टरनेश्नल मतदान केन्द्र) बाट भोट हाल्नेछन्। नेतृ शशि श्रेष्ठले पनि सोही स्थानबाट मतदान गर्नेछन्। साहित्यकार एवं माओवादी नेता विश्वभक्त दुलाल 'आहुति'ले चन्द्रागिरी नगरपालिका- १४, झोलेटोल मतदान केन्द्रबाट मत खसाल्नेछन्। नेता हितराज पाण्डेले गोरखा जिल्लाको पालुङटार नगरपालिका- ६ मा रहेको वीरभद्र प्रावि मतदान केन्द्रबाट मतदान गर्ने भएका छन्। मतदानमा सहभागी हुन नेता पाण्डे पालुङटार पुगिसकेका छन्। 

काठमाडौँ महानगरपालिका प्रमुखमा माओवादी केन्द्रका उम्मेदवार सर्वोत्तममान डंगोलले काठमाडौँ महानगरपालिका- १३, कालिमाटीमा रहेको जनप्रभात मावि मतदान केन्द्रमा मतदान गर्नेछन्। त्यसैगरी ललितपुर महानगर प्रमुखका माओवादी उम्मेदवार दिनेश महर्जनले सोही महानगर- २७, सुनाकोठीमा रहेको भृङ्गेश्वर महादेव माविबाट मतदान गर्ने भएका छन्। 

पहिलो चरणमा कसकसले भोट हाल्न पाएनन्?

केही नेताले भने चुनावमा भोट हाल्न नपाउने भएका छन्। स्थानीय तह निर्वाचन दुई चरणमा हुने भएपछि उनीहरूले स्थानीय तहको पहिलो चरणको निर्वाचनमा भोट हाल्न नपाउने भएका हुन्। उपप्रधानमन्त्री एवं अर्थमन्त्री कृष्णबहादुर महराको मतदान क्षेत्र प्रदेश नम्बर पाँचमा दोस्रो चरणमा चुनाव हुनेछ। त्यस कारण उनी पहिलो चरणको निर्वाचन भइरहेको समयमा मूलुकबाहिर हुनेछन्। शुक्रबार 'वान वेल्ट वान रोड' अवधारणापत्रमा दुई देशले हस्ताक्षर गरेपछि उनी शिखर सम्मेलनमा भाग लिन चीन प्रस्थान गर्दै छन्।

पाँच नम्बर प्रदेशका वर्षमान पुन अनन्त, सभामुख ओनसरी घर्तीमगर, नेता लोकेन्द्र बिष्ट मगर, जयपुरी घर्ती, कुलप्रसाद केसी सोनाम, मणि थापा, तिलक परियारलगायतले पहिलो चरणको निर्वाचनमा भोट हाल्न पाउनेछैनन्। सात नम्बर प्रदेशका नेता लेखराज भट्ट, दुई नम्बर प्रदेशका नेता मातृकाप्रसाद यादव, एक नम्बर प्रदेशका नेता गोपाल किरातीलगायतले पनि पहिलो चरणमा भोट खसाल्न पाउनेछैनन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.