|

दमक: युवापुस्ताका चर्चित कवि नवराज पराजुलीले आज झापाको दमकमा आफ्ना चर्चित चार कविता प्रस्तुत गरे। 

दमक बहुमुखी क्याम्पस नेपाली विभागको आयोजना तथा सिधा रचना बाचनको संयोजनमा भएको कार्यक्रममा पराजुलीले आफ्ना चर्चित चार कविता प्रस्तुत गर्दा कहिले दर्शक भावुक भए त कहिले गडगडाहट तालीले सम्मान गरे। 

पराजुलीले भर्खरै प्रकाशित कवितासंग्रह ‘सगरमाथाको गाहिराइ’बाट आफ्ना चार कविता प्रस्तुत गरेका हुन्। उनको कविता वाचन गर्ने शैलीबाटै श्रोताहरू आकर्षित भए। 

उनले ‘च्याउ’ शीर्षकको कविताबाट आफ्नो कविता बाचन आरम्भ गरे। त्यसपछि पछिल्लो समय वैदेशिक रोजगारका लागि युवाहरू विदेशिनुको पीडा, विदेशमा उनीहरूले भोगेको अवस्थालाई समावेश गरेको कविता ‘सगरमाथाको गहिराइ’ प्रस्तुत गरे। उक्त कविता प्रस्तुत गर्दा दमक बहुमुखी क्याम्पसको समीक्षालयमा खचाखच दर्शक सबै भावुक भएका थिए। 

रचना बाचन गर्ने क्रममा उनले यो कविता अंग्रेजीमा रूपान्तरण गरेर डेनमार्कको एक विश्व विद्यालयमा पढाइ भइरहेको सुनाए। त्यसपछि उनले ‘खोया’ शीर्षक कविता सुनाए। अत्यमा उनले आमाको मायालाई प्रस्तुत गरेको चर्चित कविता ‘हेब्वी बड्डे’ कविता प्रस्तुत गरेर आफ्नो कविता बाचन टुंग्याए।

रचना बाचन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. भीम खतिवडाले युवापुस्ताले नेपाली साहित्य क्षेत्रमा केही आशा जगाएको बताए। उनले भने, ‘झापाली कवि नवराज पराजुली जस्ता अन्य युवा साहित्यकारहरूले नेपाली साहित्यमा केही आशा जगाएका छन्, यो सकरात्मक पक्ष हो।’

कविता भन्नेवित्तिकै पुराना कविहरूलाई सम्झने गरेको भन्दै उनले नयाँ पनि क्षमतावान् छन् भन्ने प्रमाणित हुँदै गएको उनले बताए। कार्यक्रममा बोल्दै टिप्पणीकार सुमन पोखरेलले पराजुलीका कविता विश्व साहित्यस्तरका रहेको बताए। ‘साहित्यमा विश्व साहित्य भन्ने त हँुदैन, तर नेपालमा मात्र पढिएको साहित्य हो भने त्यो नेपालको हो, अन्य देशमा पढ्ने हो भने त्यो विश्व साहित्य हुन्छ’, उनले भने, ‘त्यसैले नवराजजीको कविता विश्व साहित्यस्तरमा छ।’

दमक बहुमुखी क्याम्पस नेपाली विभागका प्रमुख भूमिप्रसाद दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कवि पराजुलीको व्यक्तित्वको बारेमा साहित्यकार शिव रेग्मी प्रणतले बोलेका थिए भने कार्यक्रमको सञ्चालन साहित्यकार घनश्याम पथिकले गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.