|

प्युठान :  स्वर्गद्वारी नगरपालिका–५ सारी निवासी भुपेन्द्र गिरीको प्रहरी हिरासतमा रहस्यमय तरिकाले ज्यान गएको विषयलाई लिएर भिंगृमा स्थानीय बासिन्दा र प्रहरीबीच झडप भएको छ।

झडपमा ४ जना घाइते भएका छन्। घाइते हुनेहरु खबिराम गिरी, अमृत राउत, नारायण राउत र देवी राउत छन्। बिहीबार राति गिरी इलाका प्रहरी कार्यालय भिंगृको शौचालयमा मृत अवस्थामा फेला परेका थिए। उनी बिहीबार राति १ बजे शौचालयमा गएको प्रहरीले जनाएको छ। धेरैबेरसम्म शौचालयबाट बाहिर नआएपछि उनलाई खोज्न गएका बेला गिरी शौचालयमा मृत भेटिएको प्रहरीले जनाएको छ।

२९ वर्षका गिरीको प्रहरी चौकीमै झुण्डिएर ज्यान गएको विषय रहस्यमय भएको मृतकका आफन्तले बताएका छन्। घर झगडाको विषयमा अनुसन्धान गर्न भनी ल्याइएका गिरी शौचालयमा मृत भेटिनुले घटना रहस्यमय भएको स्थानीय बासिन्दाले बताएका छन्। प्रहरीले भने यो घटनालाई गिरी आफैंले आत्महत्या गरेको भने पनि आफन्तले स्विकारेका छैनन्।

उनीहरुले यो घटनालाई सुनियोजित रुपमा हत्या भएको जनाएका छन्। यही विषयलाई लिएर स्थानीय बासिन्दाले रोल्पा–प्युठान सडकखण्ड बिहानैदेखि बन्द गराएका छन्। स्थानीय बासिन्दाको ढुङ्गा प्रहारबाट चौकीको भवनको झ्याल ढोकाका सिसा फुटेका छन्। सोही विषयमा पीडितका आफन्तहरुसँग अहिले छलफल भइरहेको प्युठानका प्रहरी प्रमुख डिएसपी रजित सिंह राठौरले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.