|

नवलपरासी : कावासोती-२ स्थित शिवमावि मतदान स्थलमा सुरक्षाका लागि महिला सुरक्षाकर्मी मात्रै परिचालन गरिएका छन्। निर्वाचनको लागि आवश्यक पर्ने सम्पूर्ण तयारी गर्न महिलाहरु नै खटिएका छन्।  ३ वटा मतदान केन्द्र रहेको यहाँको मतदान केन्द्र महिलाहरुको नेतृत्वमा संचालित छ।

उर्वरा लुईटेल मतदान अधिकृत रहेको उक्त केन्द्र महिलाहरु मात्रै राखेर संचालन गर्ने योजना अनुसार कर्मचारी परिचालन गरिएको हो। लुईटेल महिला तथा बालबालिका कार्यालयको प्रमुख हुन्। उक्त बुथमा अप्सरा सुवेदी सहायक मतदान अधिकृतसहित उर्मिला शर्मा, राधिका अर्याल, लक्ष्मी सापकोटा र यमकुमारी थापा खटिएका छन्।

'यो मतदान केन्द्र पूर्ण रुपमा महिलाहरुको नेतृत्वमा संचालित छ। एउटा केन्द्र नमूनाको रुपमा राख्न अनुरोध गरे अनुसार मुख्य निर्वाचन कार्यालयले सोही अनुसार कर्मचारी खटाएको छ,' मतदान अधिकृत लुईटेलले भनिन्,'दलहरुका प्रतिनिधि समेत महिलाहरु खटाएको भए अझै उचित हुन्थ्यो। बिहीबार पुरुष प्रतिनिधिको रुपमा हुनुहुन्थ्यो। शुक्रबार त केही दलहरुले महिला प्रतिनिधिनै पठाउनु भएछ,' उनले थपिन्,'काम गर्न केही सहज भयो।'

२ हजार ८ सय ४७ मतदाता रहेको मतदान स्थल 'ग' केन्द्रमा ९ सय ४३ मतदाता छन् । 'महिलाहरु मात्र भएकाले हामी मतदान स्थलमै बासको प्रबन्ध मिलाएको छौं,' लुईटेलले भनिन्,'अब निर्वाचन सकेपछि मात्र हामी यहाँबाट बाहिर निस्किन्छौं।'

पहिलो घेराको सुरक्षामा पुरै महिला 

शिव माविको मतदान स्थलमा आवश्यक पर्ने पहिलो घेराको सुरक्षामा सम्पूर्ण महिला सुरक्षाकर्मीहरु परिचालन गरिएको छ। प्रहरी सहायक निरीक्षक दिल कुमारी काफ्लेको नेतृत्वमा ५ जना नेपाल प्रहरी, ११ जना म्यादी प्रहरी केन्द्रमा परिचालन गरिएको छ।

३ बटा बुथ रहेको यहाँको पहिलो घेरोको सुरक्षा व्यवस्था मिलाउने जिम्मा महिलाहरुलाई दिइएको छ। 'हामी सुरक्षा दिन तयार छौं शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गर्न मेरो नेतृत्वको टोली लागि परेको छ,' काफ्लले भनिन्,'पहिलो पटक यसरी नेतृत्व लिएर निर्वाचन स्थलको सुरक्षा दिदैं छु।'

भटनदेवी प्रहरी चौकीमा २ महिनासम्म नेतृत्व लिएकी उनले शान्ति सुरक्षामा कुनै कमी नहुने बताईन्। उनले भनिन्,'हामी पहिलो घेरामा हुन्छौं, दोस्रो घेरामा सशस्त्र र तेस्रो घेरामा नेपाली सेना रहन्छ।'

नवलपरासी जिल्लामा यो एकमात्रै मतदान स्थल हो, जहाँ सुरक्षाको सम्पूर्ण जिम्मा महिलालाई मात्रै दिइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.