|

रुपन्देही : बुटवल कालिकानगरकी अनु सारु सेक्युरिटी गार्ड थिइन्। प्रहरीमा भर्ती हुने सपना अधुरै रहेपछि उनी सेक्युरिटी गार्ड बनिन्। सेक्युरिटी गार्डको रुपमा बुटवल आसपासमा सुरक्षा दिएकी उनी अहिले भने गाढा निलो बर्दीमा लठ्ठी लिएर टोलटोलमा पुग्छिन्।

प्रहरी बन्ने सपना आधाआधीमा पुगेर टुंगिएको थियो। ‘वैकल्पिकमा नाम निस्कियो, त्यसपछि सेक्युरिटी गार्ड भएँ' म्यादी प्रहरीमा भर्ती भएपछि उनको साहस अरु बढेको छ, भन्छिन् 'अब त प्रहरीमा भर्ती भएरै छाड्छु।’

सारु इलाका प्रहरी कार्यालयले खटाउने एक समूहकी महिला कमाण्डर हुन्। ‘सेक्युरिटीमा काम गरेको अनुभव यता पनि काम लाग्यो, उनी भन्छिन् ‘यो अनुभव र यहाँ पाउने प्रमाणपत्रले प्रहरीमा भर्ती हुन सघाउँछ भन्ने लागेको छ।’

उनीसँगै म्यादीमा भर्ती भएकी अर्की सेक्युरिटी गार्ड विमला बिकको सपना भने अर्कै छ। ‘प्रहरीमा भर्ती हुने उमेर कटिसक्यो, अब यतातिर लागेर मेरो उमेरले भ्याउँदैन', उनी भन्छिन् ‘सेक्युरिटीमै विदेश जान सघाउँछ भन्ने थाहा पाएकी छु, मेरो सपना अब विदेशमा सेक्युरिटीमा भर्ती हुने हो।’

उनलाई चुनाव कसरी हुँदोरहेछ, कसरी सुरक्षा दिन्छ प्रहरीले भन्ने नजिकबाट हेर्ने मन पनि रहेछ, भन्छिन् 'देशमा पुरै चुनावी माहोल छ, सबैलाई चुनाव लागेको छ, म पनि म्यादीमा भर्ती भएर चुनावलाई नजिकबाट हेर्न चाहन्थें।’

म्यादी प्रहरीमा भर्ती भएका युवाहरुका चाहना अनेक छन्। उस्तै चाखलाग्दा र रोचक पनि छन्। केही म्यादीमा भर्ती भएर रमाइरहेका छन् भने केहीलाई दिक्क पनि लागेको छ। स्थानीय तहको निर्वाचनका लागि देशभर ७५ हजार म्यादी प्रहरी माग भएपछि बेरोजगार, विद्यार्थीलगायत भर्ती भएका छन्।

म्यादी प्रहरीमा भर्ती भएका उनीहरुका टु इन वान् सपना छन्। कसैलाई रमाइलो गर्नुछ, कसैलाई करिअरका लागि बाटो पहिल्याउनु छ। यस्तै सपना बोकेकामध्येका एक हुन् तिलोत्तमा नगरपालिकाकी अनुसा घिमिरे। म्यादी प्रहरीमा भर्ना हुन आउनुलाई उनी जिन्दगीको टर्निङ प्वाइन्टका रुपमा लिन्छिन्। एम्स कलेज बुटवलमा बीबीएस प्रथम वर्षमा अध्ययनरत उनी व्यवस्थापन क्षेत्रमा करिअर बनाउने सोंचमा छैनिन्, भन्छिन् ‘मेरो सानैदेखिको ठूलो इच्छा प्रहरी हुने थियो, सानोमा कसैले तिमी बन्ने भनेर सोध्दा म सलाम गरेर प्रहरी बन्छु भन्थेँ, त्यो इच्छा पूरा गर्ने अवसरको रुपमा म्यादी प्रहरीमा भर्ती भएकी हुँ।’

म्यादी प्रहरीमा भर्ती भएपछि प्रहरी सेवामा भर्ना खुलेपछि आवेदन दिन उनमा साहस थपिएको छ। ‘पढाईलाई सँगै अघि बढाउँछु, अब असईका लागि फाराम भर्ने सोंच बनाएकी छु, यदि असईमा भएन भने पनि जवानबाट अपग्रेड हुँदै माथिका पदसम्म पुग्ने मेरो लक्ष्य हो' उनी भन्छिन्।

अर्घाखाँची चिदिका घर भई बुटवल गोलपार्क बस्दै आएका लक्ष्मण बस्नेतलाई बुवाको सपना पूरा गर्नुछ। भन्छन् ‘छोराले सरकारी जागिर खाओस् भन्ने बुवाको ठूलो धोको छ, यसलाई म पूरा गर्न चाहन्छु।’ उनी म्यादी प्रहरीको रुपमा छोटो अनुभव संगालेर त्यसैको भर्‍याङबाट प्रहरी सेवामा प्रवेश गर्ने योजना बुनिरहेका छन्। ‘अब छिटै नै म प्रहरीमा भर्ती हुनेछु, त्यसका लागि म्यादी प्रहरीमा भर्ती भएर अनुभव बटुलेँ’ उनी भन्छन्।

बर्दघाट नवलपरासीका विष्णुलाल श्रेष्ठलाई चुनाब दुई चरणमा भएर म्यादी प्रहरीको समय थप गरेकोमा भने दिक्क लागेको छ। ‘म इलेक्ट्रिसियन हुँ, त्यतातिर अहिले केही फुर्सद थियो, फुर्सदमा समय बिताउन पनि हुन्छ, अलिअलि पैसा पनि आउँछ, अनुभव पनि हुन्छ भनेर यता आएँ', उनी भन्छन् 'शुरुमा त रमाइलै लागेको थियो, अहिले पनि नरमाइलो त छैन तर समय थप गरेपछि दिक्क लाग्न थालेको छ।’

घरबाटै आउजाउ गर्न सहज नभएपछि प्रहरी ब्यारेकमै बसेका उनी प्रहरी संगठनको अनुशासन देखेर चकित छन्, भन्छन् ‘बाहिरबाट हेर्दा त सामान्य लाग्थ्यो, यतिधेरै व्यवस्थित र अनुशासित हुन्छ होला जस्तो पनि लाग्दैनथ्यो, चुनावका कारण समय थप भएर दिक्क लागेपनि यहाँको सिस्टमप्रति भने प्रभावित भएको छु।’

वाग्लुङ बुर्तिवाङमा जन्मिएर बुटवल बस्दै आएकी वन्दना घर्ती आर्मीमा रहेका काकाको सुझावअनुसार म्यादी प्रहरीमा भर्ती भईन्। ‘काका आर्मीमा हुनुहुन्छ, पछि आर्मी/प्रहरीमा भर्ती हुन सजिलो हुन्छ भनेर आएकी हुँ, उनी भन्छिन्।

उनीहरुजस्तै म्यादी प्रहरीमा भर्ती भएकाहरुका सपना अनेक छन्। कलेजमा अध्ययनकै क्रममा म्यादीमा आकर्षित भएका, वैदेशिक रोजगारीका लागि सहज हुने भन्दै म्यादीमा पुगेका र अनुभव लिन पुगेका जस्ता अरु धेरै सपना बोकेका युवाहरु भर्ती भएर आएको इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी मुकुन्द मरासिनी बताउँछन्।

‘यहाँ आउनेहरु टु ईन वान् उद्देश्य बोकेर आउनेहरु धेरै छन्, उनी भन्छन्–अनेक सपना छन्, कसैको आर्थिक अवस्थाका कारण आएका छन्, कसैलाई भोलि प्रहरीमै आउने रहर पनि छ र केही वैदेशिक रोजगारीमा जान सजिलो हुन्छ भन्ने हिसाबले पनि आएका छन्।’

मरासिनीका अनुसार बुटवलमा ७ सय म्यादी प्रहरी परिचालित छन् । रुपन्देहीमा स्थानीय निर्वाचनका लागि २ हजार ७२ जना म्यादी प्रहरी भर्ना भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता बेल बहादुर पाण्डेले जानकारी दिए।

यसरी भर्ती भएका म्यादी प्रहरीले ५५ दिनको तलब वापत ५१ हजार रुपैयाँ पारिश्रमिक पाउनेछन् । उनीहरुले पोशाक भत्ताको रुपमा थप ७ हजार १ सय रुपैयाँ पाउँनेछन् । निर्वाचनमा खटिँदा सात दिन उनीहरुलाई थप विशेष भत्ता सरकारले उपलब्ध गराउनेछ । एक सातामा उनीहरुले प्रतिदिन २ सय ५० रुपैयाँका दरले ७ दिनको १७ सय ५० रुपैयाँ थप भत्ता पाउनेछन् । यस्तै निर्वाचन अवधिभर प्रतिदिन २ सय ५० रुपैयाँको दरले सरकारले खाजा खर्च पनि उपलब्ध गराउने छ ।

निर्वाचनका बेला कुनै घटना दुर्घटना भएमा सरकारले म्यादी प्रहरीका लागि बिशेष वीमाको व्यवस्था समेत गरेको छ । निर्वाचन अवधिभर ५५ दिनका लागि प्रतिम्यादी प्रहरी २ लाख बराबरको दुर्घटना वीमा गर्ने निर्णय गरेको हो । निर्वाचनमा खटिएका बेला म्यादी प्रहरी दुर्घटनामा परेमा २ लाख क्षतिपूर्ति पाउनेछन् ।

यस्तै उनीहरुका लागि १ लाख ५० हजार रुपैयाँसम्मको स्वास्थ्य वीमा गरिने भएको छ । निर्वाचन अवधि ५५ दिनभित्र कुनै म्यादी प्रहरी विरामी परेमा एक लाख ५० हजारसम्मको उपचार खर्च पनि सरकारले व्यहोर्ने छ । निर्वाचन दुई चरणमा हुने भएपछि दोश्रो चरणमा निर्वाचन हुने प्रदेशका म्यादी प्रहरीले थप पारिश्रमिक पाउनेछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.