शनिबारदेखि ४८ घण्टासम्मका लागि सीमा नाका बन्द हुँदै

|

  • भविश्वर पाण्डे-

कावासोती: नवलपरासीको महेशपुर र त्रिवेणी नाका शनिबारदेखि ४८ घण्टासम्मका लागि सिज (बन्द) हुँदै छन्। भारतमा रहेका नेपाली मतादाताहरूलाई जिल्ला प्रशासन कार्यालय नवलपरासीले शुक्रबार रातिसम्ममा नेपाल प्रवेश गरिसक्नुपर्ने छुट दिएको छ। 

भारतका विभिन्न ठाउँमा कामको सिलसिलामा अधिकांश नेपाली मतदाता छन्, जसलाई शुक्रबार राति १२ बजेसम्म नेपाल फर्कन स्थानीय प्रशासनले समय दिएको छ।

स्थानीय तहको निर्वाचनको सन्दर्भमा मतदानको दिनदेखि ७२ घण्टा अगावै बोर्डर सिज (बन्द) गर्नुपर्ने नियम रहेको हुँदा स्थानीय प्रशासनले शुक्रबारको दिन मतदातालाई नेपाल भित्रिन छुट दिँदै शनिबारदेखि ४८ घण्टासम्म बोर्डर सिज गर्ने जानकारी दिएको छ। 

नेपाल फर्कन ढिलो भएका मतदाताहरूलाई नेपाल भित्रिन समय दिएको अन्यथा भोलिदेखि भित्रिन नपाउने जिल्ला प्रशासन कार्यालय नवलपरासीले जनाएको छ।
यतिबेला प्रहरीले महेशपुर, भुजहवाँ, झुल्नीपुर र त्रिवेणी नाकामा कडा निगरानी गरिरहेको छ। स्थानीय चुनावलाई धाँधलीरहित र निष्पक्ष रूपमा सम्पन्न गर्न प्रशासनले शनिबार बिहानदेखि ४८ घण्टासम्मलाई बोर्डर सिज गर्ने बताएको छ। 

शनिबारदेखि बोर्डर सिज हुने खबरले भारतीय बजारमा किनमेल गर्न नेपाली उपभोक्ताहरूको चाप बढेको छ।

बोर्डर सिज गर्ने सन्दर्भमा बिहीबार प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका प्रमुखसहितको टोली भारतको विहारस्थित बेतियामा भारतीय उच्च अधिकारी, डिएम, एसपीहरूसँग बैठक बसेको थियो। बैठकमा सीमा सुरक्षाको व्यवस्था र बोर्डर सिज गर्ने विषयमा छलफल भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.