|

काठमाडौं: स्थानीय तह निर्वाचनको व्यग्र प्रतिक्षामा यतिबेला मतदाताहरु छन्। प्रमुख पार्टीका नेताहरुले कहाँबाट आफ्नो मत खसाल्नेछन्? यसो चासो पनि धेरैलाई छ।

चुनावी प्रचार समयावधि सकिएपछि अहिले नेता,कार्यकर्ता तथा सर्वसाधारण मत खसाल्नका लागि घर फर्कन थालेका छन्। प्रदेश नम्बर तीन, चार र सातका स्थायी बासिन्दाहरु आइतबार हुने निर्वाचनमा मतदान गर्न आ-आफ्नो जिल्लामा गएका छन्। यस निर्वाचनमा कांग्रेस केन्द्रीय समितिका थुप्रै नेताहरुले मत खसाल्दैछन्।

आइतबार हुने पहिलो चरणको निर्वाचनमा कांग्रे वरिष्ठ नेता रामचन्द्र पौडेलसहित  पूर्वउपसभापति गोपालमान श्रेष्ठ र प्रकाशमान सिंह, पूर्व सहमहामन्त्री पूर्णबहादुर खड्का लगायतका थुप्रै केन्द्रीय नेताहरुले मत खसाल्नेछन्।

कुन नेता कहाँबाट मत खसाल्दैछन्?

रामचन्द्र पौडेल: तनहुँ जिल्लाको व्यास नगरपालिका वडा नम्बर ८ स्थित रिस्ती बजारमा रहेको पुरानो गाविस भवन मतदान केन्द्रमा मतदान गर्न सपरिवार गृह नगर व्यास पुगिसकेका छन्।

डा. शशांक कोइराला: पार्टी महामन्त्री कोइरालाले काठमाडौंको टोखा नगरपालिकामा रहेको भ्याली स्कुल (मावि) मतदान केन्द्रमा मतदान गर्ने भएका छन्।

प्रकाशमान सिंह :कांग्रेसका पूर्वउपसभापति एवम् महामन्त्री सिंह काठमाडौं महानगरपालिका वडा नम्बर १६ च्याक्सीवारीका वासिन्दा हुन्। उनले युवक माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदान गर्नेछन्।

गोपालमान श्रेष्ठ: पार्टीका पूर्वउपसभापति एवंम् स्याङ्जाको पुतलीबजार नगरपालिका-१ का स्थायी वासिन्दा श्रेष्ठले पुतलीबजारमा रहेको त्रिभुवन आदर्श क्याम्पस मतदान केन्द्रमा मत हाल्नेछन्।

पूर्णबहादुर खड्का: पार्टीका पूर्व सहमहामन्त्री खड्काले सूर्खेत जिल्लाको गुर्भाकोट नगरपालिका वार्ड नम्बर ८ स्थित मेहलकुना बजारमा रहेको सूर्यज्योति उच्च मावि मतदान केन्द्रबाट मतदान गर्नेछन्।

अर्जुननरसिंह केसी: पार्टीका पूर्वसहमहामन्त्री एवम् शहरी विकास मन्त्री केसीले नुवाकोट जिल्लाको ककनी गाउँपालिका वडा नम्बर ४ स्थित ओखरपौवामा रहेको साबिकको ओखरपौवा गाविस भवन मतदान केन्द्रबाट मतदान गर्ने भएका छन्। विगतमा केसी बिदुर नगरपालिकाका मतदाता थिए।

डा. रामशरण महत: कांग्रेस पूर्वसहमहामन्त्री महतले नुवाकोटको पञ्चकन्या गाउँ पालिका वडा नम्बर २ स्थित कविलासको राष्ट्रिय माविबाट मतदान गर्नेछन्।

नरहरी आचार्य: कांग्रेस केन्द्रीय सदस्य तथा पार्टीका पूर्वप्रवक्ता आचार्यले काठमाडौं महानगरपालिकाको वडा नम्बर ४ स्थित पञ्चकन्या स्कुल मतदान केन्द्रबाट मतदान गर्ने बताए। यसअघि महानगरपालिकाको वडा नम्बर चारको बालुवाटारमा मात्र मतदान केन्द्र थियो।

डा. प्रकाशशरण महत: कांग्रेसका पूर्व प्रचार विभाग प्रमुख तथा परराष्ट्र मन्त्री महतले नुवाकोटको पञ्चकन्या गाउँ पालिका वडा नम्बर २ स्थित कविलासको राष्ट्रिय मावि मतदान केन्द्रबाट मतदान गर्नेछन्।

गगन थापा: कांग्रेसका यूवा नेता तथा स्वास्थ्य मन्त्री थापाले काठमाडौं महानगरपालिकाको वडा नम्बर ३० स्थित प्रसिद्ध मैतिदेवी मन्दिर मतदान केन्द्रबाट मतदान गर्नेछन्।

शंकर भण्डारी :कांग्रेस केन्द्रीय सदस्य तथा वनमन्त्री भण्डारीले भानु नगरपालिका वार्ड नम्बर ९ पुर्कोटमा रहेको कालिका क्याम्पस मतदान केन्द्रबाट मतदान गर्ने बताए।

हृदयराम थानी : कांग्रेस केन्द्रीय सदस्य तथा गरिबी निवारण मन्त्री थानीले सुर्खेतको वीरेन्द्रनगरपालिका वडा नम्बर १ स्थित सरस्वती प्रावि मतदान केन्द्रबाट मतदान गर्ने भएका छन्।

जीवन परियार: कांग्रेस नेता परियारले कास्की जिल्लाको रुपा गाउँपालिका १ स्थित थुलाङ्कोटमा रहेको जटेश्वर मावि मतदान केन्द्रमा मतदान गर्नेछन्।

कांग्रेस केन्द्रीय सदस्य तथा मन्त्रीहरु नविन्द्रराज जोशीले काठमाडौं महानगरपालिकामा, रोमी गौचन थकालीले मुस्ताङको थसाङ गाउँपालिकामा, अर्जुनप्रसाद जोशीले पर्वतमा, अम्बिका बस्नेतले काठमाडौंबाट, धनराज गुरुङले स्याङजामा, सुरेन्द्रराज पाण्डे र चीनकाजी श्रेष्ठले गोरखामा, रत्न शेरचनले बाग्लुङमा, गोविन्द भट्टराई र प्रदीप पौडेलले तनहुँमा, मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा र बहादुर सिंह लामाले नुवाकोटबाट मतदान गर्दैछन्। 

मतदान गर्न नपाउने यि मन्त्री

कांग्रेस केन्द्रीय सदस्य तथा खानेपानी तथा सरसफाई मन्त्री जीवन बहादुर शाही भने २० वर्षपछि हुने निर्वाचनमा समेत मतदान गर्न नपाउने भएका छन्। मतदान गर्न भनेर काठमाडौंबाट हुम्लाको सिमिकोट पुगेका मन्त्री शाहीले भारी बर्षाका कारण खार्पुनाथ गाउँपालिका वडा नम्बर ५ खार्पुनाथ जान नसकेको दुखेसो पोखे।
उनले भने ‘दुर्भाग्य मैले मतदान गर्न नपाउने भएँ, लगातारको वर्षाले मेरो घर जान समस्या छ। दूरी पनि टाढा छ। म भने सिमिकोटमै अड्किएँ।’

यी नेताले दोस्रो चरणमा मात्रै मत खसाल्नेछन्

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, कृष्णप्रसाद सिटौला, सीतादेवी यादव, विमलेन्द्र निधि, चित्रलेखा यादव, ज्ञानेन्द्रबहादुर कार्की, बालकृष्ण खाँड, सुजाता कोइराला, शेखर कोइराला, मीन विश्वकर्मा, एनपी साउद, रमेश लेखक, दिलेन्द्रप्रसाद बढु, वीरबहादुर बलायरको मतदाता नामावली भएको गृह जिल्लामा दोश्रो चरणमा मात्र निर्वाचन हुने भएकाले उनीहरुले आइतबार मतदान गर्ने छैनन्। उनीहरुले दोस्रो चरणमा मात्रै मत खसाल्नेछन्।

  अघिल्लो समाचार

पछिल्लो समाचार  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

कमेन्ट

  • matadan parichaya patra