|

काठमाडौं : सरकारले आचारसंहिताको ठाडो उल्लंघन गर्दै स्थानीय तह निर्वाचन सुरु हुन ३६ घण्टा बाँकी रहेका बेला राज्यको ढुकुटीबाट १५ करोड रुपैयाँ बाँड्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले निर्वाचनका लागि मौन अवधि सुरु भएपछि आचारसंहिता उल्लंघन गर्दै मतदाता प्रभावित पार्ने गरी कैलालीको टीकापुर घटनाका पीडितका नाममा १५ करोडभन्दा बढी रुपैयाँ बाँड्ने निर्णय गरेको हो।

२०७२ भदौ ७ गते कैलालीको टीकापुरमा हतियारधारी आन्दोलनकारीले एसपीसहित आठ प्रहरी र केही दिनपछि एक बालकलाई निर्मम तरिकाले मारेका थिए। घटनापछि फूलबारी रिसोर्ट, मीरा फर्निचर, फूलबारी एफएमलगायतमा क्षति पुगेको भन्दै सरकारले १५ करोड रुपैयाँ दिने निर्णय गरेको हो। फूलबारी रिसोर्ट र फूलबारी एफएम टीकापुर घटनापछि फरार रहेका रेशम चौधरीको हो। 

सरकारले शान्तिसुरक्षा कायम गर्न लागेका प्रहरीको ज्यानै लिने उक्त घटनाको दोषीलाई नै क्षतिपूर्तिस्वरूप निर्वाचनको मुखमा १५ करोड रुपैयाँ बाँड्ने निर्णय गरेको हो।

स्थानीय तहको निर्वाचनअन्तर्गत पहिलो चरणमा प्रदेश ३, ४ र ६ का ३४ जिल्लामा दुई सय ८३ स्थानीय तहमा आइतबार मतदान हुँदैछ। बाँकी १, २, ५ र ७ मा जेठ ३१ गते मतदान हुने कार्यक्रम छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.