|
तस्विर सौजन्य : 'शिरफूल' चलचित्र निर्माण पक्ष

काठमाडौं : आदिवासी जनजाति संस्कृतिका आधारित व्यवसायिक चलचित्र ‘शिरफूल’ को अहिले सम्पादन भइरहेको छ। पर्फमिङ आर्ट क्रियसन र मगर्स क्रियसन प्रालीको संयुक्त प्रस्तुतिमा निर्माण गरिएको व्यावसायिक चलचित्र ‘शिरफूल’ को सम्पादन कार्य अन्तिम चरणमा पुगेको निर्माण पक्षले बताएका छन्।

युवा निर्देशक कमल एक्चै मगरले निर्देशन गरेको पहिलो व्यावसायिक चलचित्रको सम्पादनसँगै डबिङको काम पनि लगभग पूरा भएको निर्देशक एक्चैले बताए। चलचित्रको केही कामबाहेक अधिकांश काम पूरा भएको निर्माण पक्षले बताएको छ।

म्युजिक भिडियो निर्देशनमा राम्रै सफलता हासिल गरेका कमलले चलचित्र निर्देशनमा भने ‘शिरफूल’ डेब्यु गरेका हुन्। उक्त चलचित्रमा गायक देव आले मगर र लोकगायिका नीता पुन मगरले अभिनय गरेका छन्। यो उनीहरुको डेब्यु चलचित्र हो।

चलचित्रका निर्माता आशीर्वाद पुन मगरले चलचित्र 'शिरफूल' आदिवासी जनजाति संस्कृतिमा आधारित व्यावसायिक चलचित्र भएको र उक्त चलचित्रबाट आफूले धेरै आशा गरेको बताए। उनले 'शिरफूल'मार्फत निर्देशसहित अधिकांश कलाकार चलचित्र क्षेत्रमा डेब्यु गरेको समेत बताए।

विशेष गरी मगर संस्कृतिमा आधारित यो चलचित्र आधुनिकताको बढ्दो प्रभावसँगै उत्पन्न भएका नयाँ विषयवस्तु तथा समस्यामा आधारित रहेर बनाइएको छ। नारीप्रधान चलचित्र भनिएको उक्त चलचित्रमा गाउँबाट सहर पसेका युवा पुस्तामा आधुनिक मनोवृत्ति देखाइएको निर्देशक कमलले बताए।

काठमाडौं, तनहुँ, पोखरा र सोलुखुम्बुको विभिन्न स्थानमा छायांकन गरिएको चलचित्र 'शिरफूल' मा अभिनेत्री रुपा रानालगायत अधिकांश थिएटर कलाकारहरुले अभिनय गरेका छन्।

निरोज श्रेष्ठले छायांकन गरेको चलचित्र ‘शिरफूल’ मा विनिता मगर, राज थापा, देव आले मगर, पूजा गदल, नीता पुन, नमिता तामाङ, विना थापा, लीला गुरुङ, राजु योगिन, सुनिल मगर लगायतको अभिनय रहेको छ।

चलचित्रको मिलन श्रेष्ठले सम्पादन गरिरहेका छन् भने चलचित्रमा श्री श्रेष्ठको द्वन्द्व निर्देशन रहेको छ। हरि लम्साल र देवराज आलेको संगीत रहेको चलचित्रमा डिपी खनाल, कृष्ण केसी र राजु थापाले गीत लेखेका छन्। चलचित्रको फिल्म मोशन नेपाल स्टुडियोमा डबिङ, एडिटिङ लगायतका काम भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.