|

रामेछाप : शुक्रबार राति रामेछाप जिल्लाको विभिन्न स्थानमा विभिन्न पार्टीका कार्यकर्ताकबीच भएको झडपमा ७ जना घाइते भएका छन्। घटनामा संलग्न ३७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। दोरम्बा गाउँपालिका वडा नं. ४ गौश्वाराको भञ्ज्याङ्ग भन्ने स्थानमा एमालेका कार्यकर्ताले माओवादी कार्यकर्तालाई सुतिरहेको अवस्थामा आक्रमण गर्दा ७ घाइते भएका छन्।

घाइतेमध्ये तुलबहादुर थापा, हिराबहादुर थापा र जितबहादुर थापामगर गम्भीर घाइते भएका छन्। उनीहरुलाई शनिबार बिहानै हेलिकप्टरमार्फत थप उपचारको लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।

उक्त घटनाका अन्य घाइतेहरुमा देविमाया थापामगर, हेमबहादु थापामगर, लोकबहादुर थापामगर र समित पुलामीमगर रहेका छन्। सामान्य घइते चारै जनाको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले बताएको छ। माओवादी कार्यकर्ता सुतिरहेको अवस्थामा एमाले कार्यकर्ताले खुकुरी र लाठी अन्धाधुन्द प्रहार गर्दा माओवादी कार्यकर्ता घाइते भएको रामेछापका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिए।

उनले भने, घटनामा संलग्न एमाले कार्यकर्ताहरु होमबहादुर थापामगर, दिपबहादुर थापामगर र बेयवबहादुर थापामगरलाई प्रहरी नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ। घटनापछि उक्त स्थानमा ठूलो परिणाममा सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको पनि प्रजिअ खत्रीले बताए।

 त्यसैगरी मन्थली नपा–११ गेलुमा गयराति एमाले र काँग्रेस कार्यकर्ताबीच झडप भएपछि प्रहरीले १७ जनालाई नियन्त्रणमा लिएको छ। चुनावको मुखमा गाउँ–गाउँमा विभिन्न दलका कार्यकर्ताबीच झडप बढ्दै गएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले घटनामा संलग्नलाई नियन्त्रणमा लिएको जनाएको छ।

त्यसैगरी मन्थली नगरपालिका–६ भलुवाजोरमा पनि गयराति नेपाली कांग्रेस र एमाले कार्यकर्ताबीच झडप भएको छ। झडपमा संलग्न १७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.