|

बाँके : त्रिभुवन मावि कोहलपुरले आधारभूत तहमा अङ्ग्रेजी माध्ययमबाट पठन-पाठन सुरु गरेपछि विद्यार्थीको घुइँचो लागेको छ। अभिभावक तथा विद्यार्थीहरुको चाहना अनुसार आधारभूत तहमा अङ्ग्रेजी माध्ययमबाट पढाई सुरु गरेपछि विद्यार्थीको  घुइँचो लागेको त्रिभुवन माविका निमित्त प्रधानाध्यापक कुशेश्वर चौधरीले बताए।

‘पछिल्लो समय अङ्ग्रेजी भाषाको ज्यादै माग छ, आधारभूत तह विद्यार्थीको जग भएकोले विद्यार्थीलाई प्रतिस्पर्धी बनाउन पनि विद्यालयमा अङ्ग्रेजीबाट पढाई सुरु गरिएको हो,’ उनले भने।  

उनले हाल कक्षा ६ सम्म पूर्णरुपले अङ्ग्रेजी माध्ययमबाट पढाई सुरु गरेको बताए। आगामी वर्ष क्रमशः कक्षा ८ सम्म अङ्ग्रेजी माध्यमबाट पढाउने योजना रहेको उनले बताए।

निजी तथा आवासिय विद्यालय सरह नै पढाई हुने गरेको जानकारी पाएपछि बोर्डिङ्ग स्कुल छुटाएर त्रिभुवन माविमा आफ्ना बच्चा भर्ना गरेको स्थानीय अभिभावक मोहनलाल थारुले बताए। निजी स्कुलमा पढ्न गएका मध्यम वर्गका बालबालिका अहिले सामुदायिक विद्यालयमा फर्केको उनले बताए।

त्रिभुवन मावि मात्रै नभएर जिल्लाका थुप्रै विद्यालयहरुले अंग्रेजी माध्यममा पठन-पाठन सुरु गरेका छन्। विद्यार्थीहरुलाई आकर्षित गर्न उनीहरुले अंग्रेजी माध्यमबाट कक्षा सञ्चालन गरेका हुन्।

अभिभावक र समयको माग अनुसार अङ्ग्रेजी माध्ययबाट पठन-पाठन सुरु गरेको बबई शिशु आधारभूत विद्यालयका प्रधानाध्यापक नारायण अधिकारीले बताए। उनले आफ्नो विद्यालयमा यसै शैक्षिक सत्रदेखि कक्षा २ सम्म अङ्ग्रेजी माध्ययमका साथै मल्टिमिडियाको प्रयोग गरेर पठनपाठन सुरु गरेको जानकारी दिए।

अङ्ग्रेजी माध्ययमवाट पढाई सुरु गरेका विद्यालयले जनक शिक्षा सामग्रीले अंग्रेजी भाषमा अनुवाद गरी प्रकाशन गरेको पाठ्यपुस्तक प्रयोग गर्दै आएका छन्। केही विद्यालयले एक–दुई विषयका लागि निजी प्रकाशनका पुस्तकहरु समेत प्रयोगमा ल्याएका छन्।

अङ्ग्रेजी विषयको माग अत्यधिक बढेपछि अङ्ग्रेजी माध्ययमवाट पढाई सुरु गर्न केही विद्यालयले छुट्टै शिक्षकको समेत व्यवस्था गरेका छन्। तर, केही विद्यालयले थप शिक्षकको व्यवस्था गर्न आन्तरिक स्रोत नभएको गुनासो गरेका छन्।

स्रोत र साधनले पुगेसम्म अधिकांश विद्यालयले आधारभूत तहसम्मै अङ्ग्रेजी माध्ययमबाटै पढाउने धरै विद्यालयले योजना बनाएका छन्। अङ्ग्रेजी माध्ययमवाट पढाई सुरु भएपछि सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या पनि बढ्दै छ। सामुदायिक विद्यालयको यस्तो कदमपछि निजी र सरकारी स्कुलबीचको दुरी घट्ने आशा गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.