|
Photo : File

काठमाडौं :  नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले भोलि हुने स्थानीय तहको मतदानलाई उल्लासमय पर्वका रुपमा शान्तिपूर्ण तरिकाले सफल बनाउन आह्वान गरेका छन्।

सभापति देउवाले आज एक विज्ञप्ति जारी गर्दै मुलुक संविधान कार्यान्वयनको ऐतिहासिक चरणमा प्रवेश गरेको अवस्थामा हुन गइरहेको निर्वाचनको नागरिकको अधिकार नागरिककै तहमा पुर्‍याउन ऐतिहासिक महत्व रहेको उल्लेख गरेका छन्।

स्थानीय तहको निर्वाचन संविधानले परिकल्पना गरेको स्थानीय तह, प्रदेश र केन्द्रीय तहलाई व्यवहारमा नागरिकले अनुभूत गर्न पाउने पहिलो खुड्किला भएको जनाउँदै उहाँले निर्भयका साथ मतदान गर्न पाउने नागरिक अधिकार सुनिश्चित गर्न सरकारसँग आग्रह गरेका छन्।

“लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र सङ्घीय राज्यको परिकल्पना पूरा गर्ने यो महत्वपूर्ण अवसर हो। सुशासन, पारदर्शिता, जवाफदेहिता र जनसहभागिताजस्ता लोकतन्त्रका आधारभूत मूल्य मान्यतालाई स्थापित गर्दै सुदृढ लोकतन्त्रका पक्षमा यो निर्वाचन कोसेढुङ्गा सावित हुने विश्वास मैले गरेको छु,” – विज्ञप्तिमा उल्लेख छ। 

आमनेपाली नागरिकको शान्तिपूर्ण जीवनयापन गर्ने र विकासलाई तीव्र गतिमा अघि बढाउने चाहना पूरा गर्न यो निर्वाचन सशक्त साधन रहेको उल्लेख गर्दै सभापति देउवाले निर्वाचनमा सहभागी हुन आममतदाताले देखाएको उत्साह र उमङ्गले लोकतन्त्रको भविष्यलाई थप सुदृढ बनाउन सघाएको विश्वास व्यक्त गरेका छन्।

स्थानीय तह विकासको आधारशीला भएको बताउँदै उनले यस निर्वाचनमा आफ्नो मताधिकारको सदुपयोग गर्न र लोकतन्त्रको सुदृढीकरण अभियानमा सहभागी हुन आमजनतालाई अपिल गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.