|

काठमाडौं: मुलुकमा स्थानीय निर्वाचन २० वर्षपछि आज हुँदैछ। पहिलो चरणमा हुने यो मतदानले ३४ जिल्लाका २ सय ८३ स्थानीय तहमा जनप्रतिनिधि चुन्नेछ। संविधानसभाबाट जारी भएको नेपालको संविधान कार्यान्वयनको एउटा महत्त्वपूर्ण खुडकिलोका रूपमा यो चुनावलाई लिइएको छ। निर्वाचन आयोगले आइतबार बिहान ७ देखि साँझ ५ बजेसम्मका लागि मतदानको समय निर्धारण गरेको छ। प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले स्थानीय सरकारको जनप्रतिनिधि छान्न मतदान प्रक्रियामा सहभागी हुन सबै मतदातालाई आग्रह गरेका छन्। उनले सुरक्षाको भरपर्दो व्यवस्थासमेत गरिएकाले ढुक्क भएर आफ्नो मताधिकार प्रयोग गर्न अपिल गरेका छन्।

पाँच वर्षको अन्तरालमा हुनुपर्ने स्थानीय निर्वाचन २०५४ सालको जेठयता भएको थिएन। मुलुकको राजनीतिक व्यवस्था सही ‘ट्रयाक’ मा भएको भए यस अवधिमा तीन पटक स्थानीय निर्वाचन भएर अहिले चौथो पटकका लागि तयारी भइरहेको हुन्थ्यो। तर माओवादीको सशस्त्र द्वन्द्व, राजाको प्रत्यक्ष शासन, जनआन्दोलन, संविधान निर्माण जस्ता पछिल्लो डेढ दशकका महत्त्वपूर्ण राजनीतिक घटनाक्रमले स्थानीय निर्वाचन हुन सकेन। सरकारपिच्छे स्थानीय निर्वाचन गराउने प्रतिबद्धता दोहोरिरहे पनि चुनाव भने भएन। डेढ दशकदेखि जनताको सबैभन्दा नजिकको निकाय जनप्रतिनिधिविहीन रह्यो। कर्मचारीबाट चल्यो। संविधानसभाबाट नयाँ संविधान जारी भएर नेपाल संघीय संरचनामा गएपछि हुन लागेको यो पहिलो निर्वाचन पनि हो ।

यतिबेला संविधानले अधिकारसम्पन्न बनाएको स्थानीय तहको निर्वाचन हुन लागेको छ । साविकका २ सय १७ नगरपालिका ९महानगररउपमहानगरसहित० र ३ हजार १ सय ५७ वटा गाविस संविधानअनुसार पुनस्संरचना गरिएपछि ७ सय ४४ वटा स्थानीय तहमा परिणत भएका हुन् । संविधानले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकासम्मको अधिकार स्थानीय सरकारलाई दिएको छ । ‘संघीय लोकतान्त्रिक गणतन्त्रलाई संविधानले संस्थागत गरेपछिको पहिलो निर्वाचनले स्थानीय तहको नेतृत्व गर्ने व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका सञ्चालन गर्ने जनप्रतिनिधि निर्वाचित गर्दैछ,’ प्रमुख आयुक्त यादवले भने, ‘यो ऐतिहासिक अवसर हो, निर्वाचित जनप्रतिनिधिले लेखेको संविधान कार्यान्वयनको क्रम पनि हो ।’ २०७२ असोज ३ मा जारी संविधान कार्यान्वयनका लागि २०७४ को माघ ७ भित्र स्थानीय, प्रादेशिक र व्यवस्थापिका संसदको निर्वाचन सम्पन्न गर्नुपर्ने छ।

माओवादी–कांग्रेस गठबन्धनको पुष्पकमल दाहाल नेतृत्वको सरकारले फागुन ९ गते वैशाख ३१ गते एकै दिन निर्वाचन गराउने घोषणा गरेको थियो । तर वैशाख १० गते निर्णय गरी वैशाख ३१ र जेठ ३१ गते दुई चरणमा गर्ने घोषणा गरियो। त्यसअनुसार पहिलो चरणमा प्रदेश नम्बर ३, ४ र ६ का ३४ जिल्लाको ४ महानगर, १ उपमहानगर, ९२ नगरपालिका र १ सय ८६ गाउँपालिकामा निर्वाचन हुँदैछ। काठमाडौं, ललितपुर, भरतपुर, पोखरा–लेखनाथ चारवटै महानगरपालिकाको निर्वाचन पहिलो चरणमै परेको छ । चितवनबाहेक तराईका सबै जिल्ला र अन्य पहाडी जिल्लासमेतको ४ सय ६१ गाउँपालिका र नगरपालिकाको निर्वाचन दोस्रो चरणमा हुनेछ ।

‘एक दिन दुस्ख सहेर भए पनि मतदान गरौं’पहिलो चरणको निर्वाचनको पूर्वसन्ध्यामा शनिबार आयोगले गरेको पत्रकार सम्मेलनमा प्रमुख आयुक्त यादवले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए। ‘६ हजार ६ सय ४२ मतदान केन्द्रमा मतदानका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको छ,’ उनले भने, ‘सबै मतदाताले राष्ट्रका लागि एक दिनको दुस्ख सहेर भए पनि सरिक भई आफूले रोजेको योग्य उम्मेदवारलाई निर्वाचित गराउन सबैलाई अनुरोध गर्छु।’ मतदानका लागि तोकिएको समयावधिभित्र मतदान केन्द्रमा प्रवेश गरेकालाई मात्र मतदानमा सरिक गराइने उनले स्पष्ट पारे।

एकजना मतदाताले गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष वा नगरपालिकाका प्रमुख, उपप्रमुख, वडाध्यक्ष, वडा सदस्य २ जना, महिला वडा सदस्य र दलित महिला वडा सदस्य गरी ७ पदमा मतदान गर्न पाउने छन्। मतदाताले आफ्नो मतदाता नामावली जुन मतदान केन्द्रमा छ, सोही मतदान केन्द्रबाट मात्रै मतदान गर्न पाउने छन् । प्रमुख आयुक्त यादवले मतदाताले मतदान केन्द्रमा गई गोप्य तबरले मतपत्रमा स्वस्तिक छाप लगाई मतदान गर्नुपर्ने बताए। मतदाताले मत हालेको मतपत्र सार्वजनिक गरे दण्डनीय मानिएको छ । त्यस्तै, नाम ढाँटेर अर्काको नाममा मतदान गरे पनि सजायको भागिदार हुनुपर्ने छ। ‘कुनै प्रकारको गैरकानुनी कार्य गर्नुभएमा कानुनबमोजिम सजायको भागी हुनुपर्ने छ,’ उनले भने। यादवले अपांगता भएका, गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, अशक्त वा बिरामी मतदातालाई मतदान कार्यमा प्राथमिकता दिई उचित एवं सहज व्यवस्थापन मिलाउन मतदान अधिकृतहरूलाई निर्देशन दिइएको बताए ।

पहिलो चरणको निर्वाचनबाट विभिन्न पदमा १३ हजार ५ सय ५६ जना जनप्रतिनिधि निर्वाचित हुनेछन् । उक्त पदका लागि ४९ हजार ३ सय ३७ जना उम्मेदवार प्रतिस्पर्धी छन् । कुल १ करोड ४० लाख ५४ हजार ४ सय ८२ मतदातामध्ये ४९ लाख ५६ हजार ९ सय २५ मतदाताले पहिलो चरणको मतदानमा भाग लिन पाउने छन् । डोल्पाको शे–फोक्सुन्डो र मनाङको नार्फु गाउँपालिकाका सबै पद निर्विरोध भइसकेका छन् । विभिन्न स्थानको वडा अध्यक्ष र वडा सदस्य पदहरू गरी कुल ३ सय २९ पद निर्विरोध भइसकेको आयोगले जनाएको छ।

प्रमुख आयुक्त यादवले निर्वाचनलाई स्वच्छ, निष्पक्ष, विश्वसनीय, स्वतन्त्र र भयरहित वातावरण बनाउन राजनीतिक दल, उम्मेदवार, मतदाता, नागरिक समाज सबैको भूमिका अपरिहार्य रहेको बताए। उनले विभिन्न ४९ वटा संस्थाका पर्यवेक्षकबाट र आयोगको केन्द्रदेखि जिल्ला तहको अनुगमनकर्ता र सूक्ष्म अनुगमनकर्ताबाट निर्वाचनको अनुगमन गरिने हुने जानकारी दिए ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.