|

चितवन : पहिलो पटक मतदानमा सहभागि भएका युवा पुस्तामा भने यसपालि छुट्टै अनुभव भयो। नयाँ मतदाताहरुमा कसरी भोट हाल्ने, स्वस्तिक छाप कसरी लगाउने भन्ने अनुभव पनि थिएन। एकातर्फ उमंग थियो भने अर्कातर्फ थोरै डर पनि थियो। कतै भोट बदर हुने त होइने भन्ने चिन्ता पनि रहेको पहिलो पटक मतदानमा सरिक भएका भरतपुरका १८ वर्षीय सन्दीप लम्साल बताउँछन्।

१७९८०६८४ मतदाता नम्बरका लम्सालले आइतबार बिहान पहिलो चरणमै भरतपुरका राष्ट्रिय मावि तोरिखेतको मतदान केन्द्रबाट भोट हाले। २०५४ सालमा स्थानीय निर्वाचन हुँदा उनी जन्मिएका थिएनन्। २०५५ सालमा जन्मिएका लम्साल यसैवर्ष १८ पुगेका हुन्। नङमा काला मसी देखाउँदै लम्सालले भने, ‘भित्र गएपछि सबै डर हरायो।’

उनको जीवनमै यो पहिलो मतदान हो। ‘डर थियो, उत्साह र उमंग पनि थियो। तर भित्र गएपछि सबै राम्रै भयो लम्सालले थपे।’ चुनिएको नेताले वडाको विकास गर्छन् भन्ने आशा छ उनलाई।

स्थानीय निकायका निर्वाचनमा पहिलो पटक मतदान गरेकी भरतपुर ५ कल्याणपुरकी मीरा सापकोटालाई पनि यो पटक फरक अनुभव भयो। ‘साह्रै रमाइलो महसुस भयो, मीराले भनिन्, स्थानीय निकायको निर्वाचनमा जितेकाहरुबाट लोकल लेबलमा डेभलभमेन्ट हुन्छ भन्ने विश्वास छ।  जितेर गएपछि त विकास त हुनैप¥यो भन्ने चाहना छ उनमा। आमा बुमा सापकोटाको साथमा मीरा मत हाल्न आएकी थिइन्।

जिल्लामा पहिलो पटक मतदानमा सहभागी हुनेमा धेरै युवा पुस्ता छन् २०५४, ५५ सालमा जन्मिएकाहरु अहिले योग्य मतदाता भएका छन्। कतिपयले पहिलोचोटि भोट हालेका छन् भने कतिपयले संविधानसभाको चुनावमा सहभागि भए पनि स्थानीय निकायमा उमेर नपुग्दा भोट हाल्न नपाएकाहरु छन्।

स्थानीय अर्का युवा खेमराज सुवेदी पनि स्थानीय निकायमा चुनावमा पहिलो पटक चुनावमा सहभागी भए। हाल तनि बर्षका उहाँ २०५४ सालमा भएको निर्वाचनमा उमेर नपुगेका कारण सहभागी हुन पाएनन्।

त्योबेला उमेर पुगेर अहिले फरक अवस्थामा पहिलो पटक भोट हाल्दा खुसी छु। सुवेदीले भने, अब विकासको लहर आउँछ होला। उनीसँगै अर्का सूर्य भक्त अधिकारी चुनावमा उत्साहका साथ  मतदान भइरहेको बताउँछन्।

४० प्रतिशतमाथि मतदान

चितवनको सात स्थानीय निकायमा ४० प्रतिशतभन्दा बढी मतदान भएको जिल्ला निर्वाचन अधिकारी हरि ढकालले जानकारी दिए।

उनले अहिलेसम्म कतिपय ठाउँमा ५० प्रतिशतसम्म मत खसिसकेको जानकारी उनले दिए। अझै लाइन बस्ने र आउने क्रम जारी रहेको अनुगमनमा पाइएको ढकाल बताउँछन्।

जिल्लामा सात स्थानीय निकायमा ३ लाख १३ हजार २ मतदाता छन्। कुल १ सय ६१ मतदान स्थलमा ३ सय ७६ मतदान केन्द्र छन्। निर्वाचनका लागि ३ हजार ३ सय ५० जना कर्मचारी र स्वयंसेवक खटिएका छन्। बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ पाँच बजेसम्म चल्न। चितवनको कालिका नगरपालिका ११ मा एकजना वडा सदस्यका उम्मेदवारको मृत्यु भएकाले सो वडामा मात्रै मतदान रोकिएको छ।

अपहरणमा परेको भनिएका उम्मेदवार अझै सम्पर्कविहिन,

 चितवका प्रहरी उपरीक्षक दीपक थापा सबै क्षेत्रमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको बताउँछन्। उनले जिल्लाको राप्ती नगरपालिका वडा नम्बर ९ का उम्मेदवार प्रेमबहादुर रिमाल सम्पर्कविहिन भए पनि सो मतदान केन्द्रमा मतदान भने शान्तिपूर्ण रुपमै भइरहेको बताउँछन्। रिमाल माओवादी केन्द्रको उक्त वडाका अध्यक्षका उम्मेदवार थिए।

अपहरणमा परेको भनिए पनि अहिलेसम्म यकिन नभएको र अनुसन्धान भइरहेको उनको भनाइ छ। उनले आफैं लुकेको पो हो कि भनेर त्यसतर्फ पनि अनुसन्धान अघि बढाइएको थापाले बताए।

विप्लव माओवादीले आफूले अपहरण नगरेको दाबी गरेको प्रहरी प्रमुख थापाको भनाइ छ। उनले निर्वाचनविरोधी गतिविधिमा संलग्न रहेका ३३ जनालाई नियन्त्रणमा लिएको समेत जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.