ललितपुरको एउटा वडाको मत गन्न १२ घन्टा

|

काठमाडौँ: एउटा वडाको मत गणना गर्न कति समय लाग्ला? स्वाभाविक जवाफ आउँछ- केही घन्टा। तर ललितपुर महानगरपालिकाको वडा नम्बर- १ को मतगणना गर्न १२ घन्टा बढी समय लागेको छ। आइतबार बेलुकी ११ बजेदेखि मतगणना सुरु गरिएको भए पनि मतगणनाको नतिजा निकाल्न १२ घन्टा बढी समय लागेको हो। 

ललितपुर महानगर वडा नम्बर- १ मा जम्मा दुई हजार ४६१ मतदातामध्ये एक हजार ७९० मत खसेको थियो। यसरी खसेको मत गणनाका लागि खटिएका थिए- निर्वाचन आयोग कार्यालय ललितपुरका अधिकृत बालमुकुन्द दवाडी। दवाडीको नेतृत्वमा खटिएका १५ जनाले रातभर मतगणना गरेर पनि ललितपुर महानगरपालिका- १ को नतिजा भने दिउँसो १२ बजे मात्र सार्वजनिक गरेका थिए।

भित्र मतगणनामा भएको ढिलासुस्तीले मतगणनाको नतिजा पर्खेर मत गणनास्थलबाहिर बसेका सञ्चारकर्मी, सर्वसाधारण र दलका कार्यकर्ता भने निराश र आक्रोशित बनेका थिए। 

बाहिर मत परिणाम कुरेर बसेका माओवादी केन्द्रबाट वडा नं. ६ बाट सदस्यका उम्मेदवार देवेन्द्र शाक्यले मतगणनामा ढिलासुस्ती भएको बताए। मतगणनामा भइरहेको ढिलासुस्तीप्रति व्यंग्य गर्दै माओवादी केन्द्रका प्रतिनिधि राजकाजी महर्जनले भने, 'यस्तै तरिकाले एउटा वडालाई दुई दिन लगाउने हो भने दोस्रो चरणको चुनाव आउँदासम्म पनि मत गनेर सकिन्नँ।'

नतिजा पर्खेर बाहिर बसेका सर्वसाधारण भने नतिजाको व्यग्र प्रतीक्षामा थिए। लामो प्रतीक्षापछि दिउँसो १२ बजेतिर बाहिर टाँसिएको सूचना हेर्न उनीहरू तँछाड मछाड गरिरहेका देखिन्थ्यो। ललितपुर बस्दै आएका रूपन्देहीका स्थायी बासिन्दा मुकुन्द भुसाल कुन पार्टीले जित्छ भनेर नतिजा हेर्ने उत्सुकताले मतगणनास्थलमा आएका थिए। उत्सुकतावस नतिजा पर्खिरहेको भए पनि धेरै समयसम्म कुनै 'अपडेट' नआउँदा आफूलाई दिक्क लागिसकेको उनले बताए। 
स्थानीयवासी हिम श्रेष्ठले मतगणना धेरै नै ढिलो भइरहेको बताए।

माओवादी प्रवक्ता पम्फा भुसालले मतगणना निकै ढिलो हुनुमा व्यवस्थापकीय कमजोरी रहेको बताइन्। उनले भनिन्, 'मतगणनामा बस्नेका लागि बत्तीको राम्रो व्यवस्था थिएन।' भित्र मतगणना गर्ने स्थानमा व्यवस्थापन पक्षले ध्यान नदिएको, मतपत्र निकै ठूलो भएको हुँदा त्यसलाई पट्याएर सोझो बनाउँदा समय लागेको कारण मतगणना ढिलो भएको एक प्रतिनिधिले बताए।


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.